गत साउन ७ गते झाडापखाला लागेका २ जना युवा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा भर्ना भए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा एक जना युवामा हैजा भएको पुष्टि भयो ।
यस बर्ष हैजा देखिएको यो नै पहिलो केस थियो । ती युवा ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रबाट आएका थिए ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हैजा पुष्टि भएको ४५ दिनमा काठमाडौ, ललितपुर, धनगढी र प्युठान, मकवानपुर, सिन्धुपाल्चोक, रोल्पा र रुपन्देहीमा गरी ८० जना व्यक्तिमा हैजा भएको पुष्टि भैसकेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार हैजा भिब्रियो कोलेरी (Vibrio cholerae) प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखाला सम्बन्धी रोग हो ।
संक्रमित व्यक्तिको दिसा विभिन्न माध्यमबाट मानिसको आन्द्रामा पुगेपछि हैजा संक्रमण हुन्छ । संक्रमित व्यक्तिको दिसामा रहेको जीवाणु हाम्रा खानेकुरा, खानेपानी, तरकारी आदिको माध्यमबाट सजिलै मानिसको शरिरमा प्रवेश गर्छ ।
हैजा भएको व्यक्तिले तुरुन्त उपचार नपाए केही घण्टामै मृत्यु समेत हुन सक्छ । बिगतका वर्षहरूमा हैजा संक्रमणले ज्यान गएका धेरै केसहरू छन् । डाक्टर पुन भन्नुहुन्छ ‘हैजालाई हेल्चेक्र्याई नगरौं ।’
खुल्ला दिसा हैजाको प्रमुख कारक
स्वास्थ्यकर्मीहरु भन्छन् ‘मानिसको दिसा कुनै न कुनै माध्यमबाट मानिसको पेटमा नपुगेसम्म न झाडापखाला लाग्छ, न त हैजा नै ।’ यो भनाइले पनि पुष्टि गर्छ कि हैजा हुनुको प्रमुख कारण पानीमा दिसाजन्य प्रदुषण हुनु हो ।
जनगणना २०७८ को नतिजा अनुसार ४.५ प्रतिशत जनसंख्याले अझै खुला ठाउँमै दिसापिसाब गर्छन् । आफ्नै घरमा चर्पी भएका ९५ प्रतिशत जनसंख्याको दिसापिसाब पनि उपयुक्त तरिकाले व्यवस्थापन गरिएको छैन ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठका अनुसार नेपालको ११ प्रतिशत जनसंख्याको दिसापिसाब ढल प्रणालीमा जोडिएको छ । ती मध्ये २.६ प्रतिशत मानव मलमूत्र मात्र प्रशोधन हुने गरेको छ भने ८.४ प्रतिशत मानव मलमूत्र प्रशोधन बिनै खोलानालामा पठाउने गरिएको छ ।
खुला ठाउँमा गरिएको दिसापिसाब, प्रशोधन बिनै खोलानालामा विसर्जन गरिएको मलमूत्र र सेप्टिक ट्याङ्क भनिएको होल्डिङ ट्याङ्कमा जम्मा भएको दिसापिसाब बर्षाको समयमा भल बाढीको माध्यमबाट खानेपानीको स्रोतमा मिसिन पुग्छन् । जसले गर्दा मानिसलाई हैजा लाग्ने गरेको नेपाल इन्जिनियरिङ कलेजकी प्राध्यापक साबित्री त्रिपाठीले बताउनुभयो ।
सरकारले ६१ प्रतिशत जनसंख्यामा सुरक्षित सरसफाइ सेवाको पहुँच पुगेको तथ्याङ्क निकालेको छ । तर यो तथ्याङ्क कहिल्यै सेप्टिक ट्याङ्क खाली नगरेकाहरुको हो । सेप्टिक ट्याङ्क भनेर बनाईएका संरचनाले सेप्टिक ट्याङ्कीको काम नगर्दा भूमिगत पानी प्रदुषण गर्न सक्ने र त्यहाँबाट पनि हैजाको जीवाणु मानिसको पेटसम्म पुगेको हुनसक्ने उहाँको आँकलन छ ।
नेपालमा दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु पनि पर्याप्त छैनन् । भएका प्रशोधन केन्द्रहरु पनि नियमबद्ध तरिकाले चलेका छैनन् । सेप्टिक ट्याङ्क भरिएपछि दिसाजन्य लेदो कसरी झिक्ने र कसरी सुरक्षित तरिकाले ढुवानी गर्ने जस्ता विनियम बनेका छैनन् । सुरक्षात्मक उपाय अबलम्बन नगरी सेप्टिक ट्याङ्क खोल्ने, खाली गर्ने र ढुवानी गर्ने क्रममा पनि मानिसको पेटमा हैजाका जीवाणुहरु प्रवेश गरी संक्रमित बनाउन सक्ने उहाँको भनाइ छ ।
हैजाका लक्षण
हैजा अति संक्रामक र चाँडो फैलिने झाडापखाला हो । हैजाको संक्रमण भएको ५ दिन सम्ममा हैजाका लक्षणहरु देखा पर्न सक्दछ । सङ्क्रमित मध्ये करिब १ देखि २५ प्रतिशतमा मात्र लक्षण देखा पर्छ र ती मध्ये ८० प्रतिशतमा सामान्य खालका लक्षणहरु देखा पर्दछन् । करिब २० प्रतिशतमा भने कडा खालका लक्षणहरु देखा पर्दछन् । हैजा बालबालिका र वयस्क सबैलाई हुन सक्दछ । हैजाका मुख्य लक्षणहरु :
√ पातलो, चौलानी पानी जस्तो दिसा हुनु ।
√ वाकवाकी लाग्ने र बान्ता हुने
√ कडा जलवियोजन हुने
कडा जलवियोजन भएको कसरी पहिचान गर्ने ?
हैजाका बिरामीलाई कडा खालको जलवियोजन भए नभएको लक्षणबाटै पहिचान गर्न सकिन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार बिरामीमा निम्न लक्षणहरु देखिए कडा जलवियोजन भएको मान्नुपर्छ ।
√ आँखा गडिनु
√ मुख, जिब्रो र घाँटी सुख्खा हुनु
√ तिर्खा लाग्नु, थकाई लाग्नु
√ छाला सुख्खा हुनु
√ पिसाबको रंग पहेँलो हुनु र पिसाबको मात्रा कम हुनु
√ चिडचिडापन हुनु
√ रक्तचाप कम हुनु
√ मुटुको धडकन अनियन्त्रित हुनु
नेपालमा हैजाको श्रृंखला
नेपालमा सबैभन्दा ठूलो हैजाको प्रकोप सन् २००९ मा तत्कालीन मध्य पश्चिमाञ्चल विकास क्षेत्रको जाजरकोट जिल्लामा देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागद्वारा प्रकाशित ‘हैजा महामारी नियन्त्रण तथा रोकथामको लागि खोप कार्यक्रम सञ्चालन निर्देशिका २०७८/०७९’ (api.fwd.gov.np) मा उल्लेख गरे अनुसार उक्त हैजाको प्रकोपबाट करिब ३० हजार मानिस प्रभावित भएका थिए भने १ सय जना भन्दा बढी मानिसले ज्यान गुमाएका थिए । त्यस अघि नेपालमा हैजा सम्बन्धी पहिलो वैज्ञानिक रिपोर्ट सन् १८८६ मे महिनामा प्रकाशित भएको थियो ।
जाजरकोटमा हैजाको प्रकोप फैलिएको ३ बर्ष पछि सन् २०१२ मा डोटी र दैलेखमा हैजाको प्रकोप फैलिएको थियो भने सन् २०१३ मा काठमाडौं उपत्यकामा हैजा देखिएको थियो । सन् २०१४ मा रौतहटमा हैजाको प्रकोप देखिएको थियो । सोही निर्देशिकामा भनिएको छ ‘सन् २०१६/१७ मा काठमाडौं उपत्यका भित्रमा हैजाको १६९ संक्रमित केसहरु पुष्टि भएको थियो । त्यस यता काठमाडौ उपत्यकामा बर्षेनी हैजाका केसहरु देखा परेका छन् ।’
सन् २०२१ मा लुम्बिनी प्रदेशको कपिलवस्तुमा फैलिएको हैजाका कारण ६ जनाको ज्यान गएको थियो । त्यस बर्ष लुम्बिनीमा १ हजार ३५० भन्दा बढी व्यक्तिहरु हैजा संक्रमित भएका थिए । (api.fwd.gov.np)
हैजाबाट कसरी जोगिने ?
दुषित पानी र खानाको माध्यमबाट हैजा संक्रमण हुने भएकाले सुरक्षित खानेपानीको सेवन र सरसफाइ र स्वच्छतापूर्ण व्यवहार नै यसबाट जोगिने मुख्य उपाय हो ।
व्यक्तिगत सरसफाइ, सफा चर्पीको प्रयोग, नियमित हात धुने बानी, स्वच्छ खानेकुरा र सफा तथा स्वच्छ पिउने पानी हैजा रोकथाम तथा नियन्त्रणका प्रमुख आधारहरु हुन् । इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. मुकेश पौडेलका अनुसार इनार, धाराबाट आउने पानी दूषित भएका कारण शुद्धीकरण गरेर मात्र पानी पिउनुपर्छ ।
डा. पौडेल भन्नुहुन्छ ‘फलफूल वा सागसब्जी, तरकारी धुँदा पनि सफा पानीको प्रयोग गर्नुपर्छ । पानी उमालेर मात्र पिउनुपर्छ । खानेपानी सेवा प्रदायकहरुले पनि क्लोरिनेसन गरेर मात्र पानी वितरण गर्नुपर्छ ।’
क्लोरिनेसन गर्दा पानीमा भएको सुक्ष्म जीवाणु नष्ट भई पानीलाई सुरक्षित बनाउँछ ।
यसका साथै प्रभावकारी निगरानी प्रणालीको विकास र प्रयोग, स्वास्थ्य शिक्षा, सरसफाइका व्यवहारिक ज्ञान र बानीमा परिवर्तन, स्वच्छ र सफा पानीको व्यवस्थापन, आदि जस्ता बहु आयामिक माध्यमबाट हैजाको प्रकोप एवं यसबाट हुने मृत्युलाई घटाउन सकिने विज्ञहरु बताउँछन् ।
हैजा पछिको प्रतिकार्य
काठमाडौ उपत्यका लगायत देशका अन्य भागमा समेत हैजा संक्रमण पुष्टि भएपछि खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी गुणस्तर तथा सेवा नियमन शाखा र स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र गैरसरकारी संस्थाहरुले समेत प्रतिकार्यको काम गरिरहेको छ ।
खानेपानी गुणस्तर तथा सेवा नियमन शाखाका प्रमुख ई. पूर्ण प्रसाद उपाध्यायका अनुसार हैजा पुष्टि भएको क्षेत्रमा मोबाइल भ्यान परिचालन गरी पानीको परिक्षण गरिएको छ । प्रभावित क्षेत्रमा पुगेर शाखाले खानेपानी शुद्धिकरणका लागि क्लोरिन वितरण गरी यसको प्रयोगका बिषयमा टोल टोलमा सचेतनामूलक कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
हैजा प्रभावित क्षेत्रमा विभिन्न खानेपानी सेवा प्रदायक संस्थाबाट वितरण गरिएको पानी परिक्षण गरी त्यसको नतिजा समेत सम्बन्धित व्यक्ति तथा समुदायसम्म पुर्याई पानी शुद्धिकरण गरेर मात्र पिउन सल्लाह दिईएको उहाँले बताउनुभयो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सर्भिलेन्स तथा अनुसन्धान शाखाले पनि हैजा प्रभावित क्षेत्रमा पुगेर हैजा लाग्नुका कारणसँग सम्बन्धित सूचना, शिक्षा र सञ्चार सामग्रीहरुको माध्यमबाट सचेतनामूलक कार्यक्रमहरु गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.सागर दाहालले बताउनुभयो ।
उहाँले खानेपानी सेवा प्रदायकहरुले वितरण गरिरहेको पानीको गुणस्तरको समेत निगरानी गरिएको र खानेपानी प्रदुषण हुनसक्ने सम्भावित जोखिमको पहिचान गरी व्यवस्थापन पक्षलाई जानकारी गराएको बताउनुभयो ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले भने ललितपुर महानगरपालिकाको जनस्वास्थ्य शाखाको समन्वयमा स्वयंसेविकाहरूलाई हैजाको रोकथाम, सरसफाइको महत्व र समुदायमा स्वच्छता कायम राख्नका लागि आवश्यक उपायहरूबारे अभिमुखीकरण गरिएको एन्फोका प्रोग्राम डाइरेक्टर राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले महानगरपालिका भित्र हैजा देखिएका विभिन्न वडाहरूका स्वास्थ्य स्वयंसेविकाहरूलाई २ चरणमा अभिमुखीकरण गरिएको बताउनुभयो।
उहाँका अनुसार काठमाडौं महानगरपालिका र गोकर्णेश्वर नगरपालिका वडा सदस्यहरू, समुदायका नेतृत्वकर्ताहरू र स्वास्थ्य प्रबर्द्वन केन्द्रका प्रतिनिधिहरूलाई खानेपानी, सरसफाइ तथा स्वच्छता र हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण दिईएको छ ।
‘स्वास्थ्य स्वयं सेविका, वडा सदस्य र स्वास्थ्य प्रबर्द्वन केन्द्रका प्रतिनिधीहरुलाई हैजा रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण गराउँदा उहाँहरु मार्फत समुदायसम्म प्रभावकारी तरिकाले प्रवाह हुने भएकाले उहाँहरुलाई अभिमुखीकरण गराईएको हो’ प्रोग्राम डाइरेक्टर श्रेष्ठले भन्नुभयो ।
हैजा रोकथामको आगामी योजना
दिसा मिसिएको पानी र फोहोरी आनीबानीका कारण हैजाको संक्रमण हुन्छ भने यसको सुधार पनि त्यहीबाट थालनी हुनुपर्छ । यसका लागि खानेपानी र सरसफाइको अख्तियार प्राप्त निकायबाट योजनाबद्ध ढंगले कार्यक्रमहरु सञ्चालन गर्दै जान आवश्यक छ ।
हैजाको न्यूनीकरण गर्न के छ आगामी योजना ? खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ भन्नुहुन्छ ‘ढल प्रणालीमा जोडिएका शौचालयको फोहोरपानीलाई सीधै नदिमा खसाउने परिपाटीको अन्त्यका लागि काठमाडौ उपत्यका र देशका अन्य शहरी इलाकामा पनि ढल प्रशोधन केन्द्रहरु निर्माण भैरहेका छन् ।
काठमाडौ उपत्यकाका विभिन्न स्थानमा ठूलो क्षमताका ढल प्रशोधन केन्द्रहरु निर्माण भैरहेको र ती केही बर्षभित्रै सम्पन्न हुने उहाँले बताउनुभयो । ‘ती ढल प्रशोधन केन्द्रहरु निर्माण सम्पन्न भएपछि ढलको फोहोरपानी प्रशोधन गरेर मात्र बिसर्जन हुनेछन्’ उहाँले भन्नुभयो ।
यस्तै ढल प्रणाली नजोडिएका सेप्टिक टयाङ्कको दिसाजन्य लेदो प्रशोधन गर्न ‘एक पालिका, एक दिसाजन्य लेदो प्रशोधन केन्द्र’ को अवधारणा पनि अगाडि बढाईएको उहाँले बताउनुभयो । ‘यसरी ढल प्रणालीको फोहोरपानी र दिसाजन्य लेदो दुवै प्रशोधन गरेर मात्र विसर्जन हुने भएपछि भावी दिनमा कोही पनि हैजाको संक्रमण हुनु पर्दैन कि ?’ उहाँले भन्नुभयो ।
विभागले खानेपानीको हकमा पनि सुरक्षित खानेपानी मात्र उपलब्ध गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको खानेपानी गुणस्तर तथा सेवा नियमन शाखाका प्रमुख ई.पूर्ण प्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार खानेपानीको गुणस्तर सुधारका लागि पुराना आयोजनाहरुमा खानेपानी प्रशोधन प्रणाली निर्माण गर्ने, नयाँ बन्ने खानेपानी आयोजनाहरुमा प्रशोधनशाला अनिवार्य गरिएको उहाँले बताउनुभयो ।
यस्तै खानेपानी आयोजनाहरुमा खानेपानी सुरक्षा योजना लागु गर्न खानेपानी उपभोक्ता समितिहरुलाई क्षमतावान बनाउने, खानेपानी शुद्धिकरणका लागि खानेपानी उपभोक्ता समितिहरुको सशक्तिकरण गर्ने र खानेपानी परिक्षणका लागि ल्याबहरु स्थापना गर्न सहयोग पुर्याउँदै आएको उहाँले बताउनुभयो ।
खानेपानीको गुणस्तरसँग सम्बन्धित यी सम्पूर्ण क्रियाकलापहरु तेस्रो पक्षले निगरानी गरिरहेको हुन्छ । खानेपानीको गुणस्तर निगरानी गर्न केन्द्रीय स्तरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकको संयोजकत्वमा ‘खानेपानी गुणस्तर निगरानी (सर्भिलेन्स) समिति रहेको प्रमुख उपाध्यायले बताउनुभयो ।
यस्तै प्रदेश स्तरमा स्वास्थ्य निर्देशनालयका निर्देशकको संयोजकत्वमा प्रदेश स्तरिय खानेपानी तथा गुणस्तर सर्भिलेन्स समितिको गठन गरिएको छ भने स्थानीय तहमा स्थानीय अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख वा स्वास्थ्य संयोजकको संयोजकत्वमा समिति गठन गरिएको हुन्छ ।
‘खानेपानी गुणस्तर निगरानी गर्ने कार्यले प्रदुषणको पहिचान गरी स्वास्थ्यलाई हुनसक्ने खतरालाई रोकथाम र नियन्त्रण गर्दछ । निगरानी (सर्भिलेन्स) कार्यले पानी आपूर्ति प्रणालीमा रहेका कमीकमजोरी र जोखिम पत्ता लगाई त्यसलाई सच्याउने उपायहरु निर्देशित गर्छ’ उहाँले भन्नुभयो ।
खानेपानी सेवा प्रदायकले पनि खानेपानीको गुणस्तर परिक्षण गरी तोकिएका मापदण्डहरु पूरा गरेर मात्र खानेपानी वितरण गर्नुपर्ने उहाँले बताउनुभयो ।