बुटवल : धेरैले प्रश्न गर्छन् ‘ढल प्रणाली भएको ठाउँमा किन सेप्टिक ट्याङ्की बनाउने ?’ कुरा ठिकै जस्तो पनि लाग्छ । यदि शौचालयको आउट लेट अर्थात फ्लस गरेकै विन्दुबाट पाइप जोडेर ढल सम्म पुर्याउने हो भने सेप्टिक ट्याङ्कीको जरुरी पर्दैन पनि ।
तर शौचालयको दिसापिसाबलाई सीधै ढल प्रणालीमा जडान गर्दा फोहोरपानी प्रशोधन केन्द्रलाई अत्यधिक भार पर्छ । फलस्वरुप प्रशोधन केन्द्रले धान्न नसकेर उपयुक्त तरिकाले प्रशोधन नहुन पनि सक्छ । प्रशोधन केन्द्रले सही तरिकाले काम गर्न नसके प्रशोधन केन्द्र हुनु र नहुनुमा खासै भिन्नता हुँदैन ।
हरेक घरमा नचुहिने/नरसाउने खालको सेप्टिक ट्याङ्क बनाउने र शोकपिट भरिएर ओभरफ्लो भएको फोहोरपानीलाई मात्र ढल प्रणालीको माध्यमबाट प्रशोधन केन्द्रमा पठाउने हो भने यसले कैयौं गुणा राम्रो प्रतिफल दिनसक्छ ।
यसको सफल उदाहरण बनेको छ, बुटवलको सैनामैना नगरपालिका ४ मा बनेको मुर्गिया ढल प्रशोधन आयोजना । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवल र मुर्गिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साझेदारीमा निर्माण गरिएको यो ढल प्रशोधन केन्द्रले करिब १५ सय घरको शौचालय, बाथरुम र किचनबाट उत्पादित फोहोरपानीलाई प्रशोधन गरिरहेको छ।
मुर्गिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको यो ढल प्रशोधन केन्द्रमा शौचालयको ढल सीधै जोड्ने गरिएको छैन । संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाका अनुसार प्रारम्भिक चरणको प्रशोधनको काम सेप्टिक ट्याङ्कीमै हुन्छ । त्यसपछि सेप्टिक ट्याङ्क भरिदै आएपछि सेप्टिक ट्याङ्कको माथिल्लो सतहको पानी शोकपिटमा जम्मा हुन्छ र शोकपिट भरिएर बाहिर निस्किन थालेको पानी मात्र पाइप मार्फत ढल प्रणाली हुँदै प्रशोधन केन्द्रमा पुग्छ ।
उहाँका अनुसार यही माध्यम हुँदै बाथ रुम र किचनबाट निस्किने फोहोरपानी पनि प्रशोधन केन्द्रमै पुग्छ । विभिन्न घरको फोहोरपानीमा मिश्रण भएर आउने प्लाष्टिकका टुक्रा, गुट्खा, खैनी लगायत ठोस पदार्थहरु छान्नका लागि स्क्रिनिङ गर्ने ठाउँ छ । त्यहाँ ती ठोस पदार्थहरु छानिएर बग्ने पदार्थहरु अघिल्लो ट्याङ्कीमा गएर थुप्रिन्छ ।
त्यसपछि अघिल्ला संरचनाहरुमा क्रमशः प्रशोधन हुँदै जान्छ । प्रशोधन गरेर वातावरणमा कुनै हानी नगर्ने खालको भएपछि उक्त पानीलाई नजिकैको खोलामा विसर्जन गरिन्छ ।
फोहोरपानीलाई कसरी प्रशोधन गरिन्छ ? विस्तृतमा हेर्नुहोस् यो भिडियो :
शौचालयलाई सीधै ढल प्रणालीमा जडान गर्नु भन्दा अनिवार्य सेप्टिक ट्याङ्की निर्माण गर्न लगाई शोकपिट भरिएपछि निस्किने फोहोरपानीलाई मात्र प्रशोधन गर्ने हो भने फोहोरपानी प्रशोधनको क्षेत्रमा धेरै ठूला पूर्वाधार निर्माण गरिरहनु पर्दैन । ठूला पूर्वाधार निर्माणमा लाग्ने ठूलो लगानी र आवश्यक पर्ने उपकरणहरु सञ्चालन गर्न आवश्यक पर्ने विद्युतीय खर्च पनि जोगिन्छ ।
सैनामैना नगरपालिकाको वडा नं. ४ मुर्गिया बजारमा सञ्चालित ढल प्रशोधन केन्द्रले यही कुराको पुष्टि गरेको छ । किनकि मुर्गिया ढल प्रशोधन केन्द्र सञ्चालनका लागि कुनै विद्युतीय उर्जा आवश्यक पर्दैन । यो पूर्णतयः प्राकृतिक विधिमा आधारित छ ।
थप फोटाहरु :