काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका निवर्तमान महानिर्देशक कमलराज श्रेष्ठलाई सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । सरकारले एकै पटक ४० जना सहसचिवको सरुवा गर्दा उहाँलाई सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाइएको हो। मन्त्री स्तरीय निर्णयबाट गत साउन ७ गते विभागको महानिर्देशक हेरफेर गरेपछि तत्कालीन महानिर्देशक श्रेष्ठलाई जिम्मेवारी तोकेको थिएन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रि परिषद्को बिहीबारको निर्णय अनुसार आइतबार सरुवाको सूची सार्वजनिक गरेको हो । मन्त्रालयका प्रशासन सेवाका २२ र इन्जिनियरिङ समूहका १० जना सहसचिवको सरुवा गरिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सरुवा गरिएको छ । महानगरमा सरोज प्रसाद गुरागाईलाई पठाइएको छ । उहाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुनुहुन्थ्यो ।
यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उहाँले गत साउनको अन्तिम साता इमरजेन्सी बाहेक स्मार्ट लाइसेन्स छाप्न नसक्ने घोषणा गर्नु भएको थियो । उहाँले प्रदेशको एकल अधिकार उतै पठाउनुपर्ने बताउँदै आउनु भएको छ।
सहसचिवहरु उमेश कुमार ढकाल, गोविन्द प्रसाद रिजाल, प्रकाश पौडेल, सुमन घिमिरे र श्यामकृष्ण थापालाई गृह मन्त्रालय सरुवा गरिएको छ । ढकाललाई संघीय मामिला र रिजाललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गृह लगिएको हो । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सचिव प्रकाश पौडेललाई गृह मन्त्रालय लगिएको छ ।
त्यस्तै, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापालाई गृह मन्त्रालय सरुवा गरिएको छ । सहसचिव पौडेल राजस्व अनुसन्धान विभागको महानिर्देशक, रक्षा मन्त्रालय हुँदै गण्डकी प्रदेशमा कार्यरत हुनुहुन्थ्यो। पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय दलित आयोगबाट शिवराज चौलागाईलाई पठाइएको छ ।
घिमिरेलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट गृह लगिएको हो । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई शिक्षा मन्त्रालय सरुवा गरिएको छ । मधेश प्रदेशको उद्योग वाणिज्य मन्त्रालयमा कार्यरत राजीव पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।