काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले सबै ठाउँमा खानेपानी गुणस्तर मापदण्डको अनिवार्य रूपमा पालना गर्न निर्देशन दिनु भएको छ। गोदावरी नगरपालिका-१४ स्थित ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निरीक्षण गर्दै मन्त्री यादवले पानीको नियमित परीक्षण गरी खानेपानी गुणस्तर मापदण्ड पुरा भएको सुनिश्चित गरेर मात्र खानेपानी वितरण गर्नुपर्नेमा जोड दिनुभयो।
बर्षातको समयमा इनार र ट्युबवेल जस्ता खुला मुहानहरूमा ढल मिसिएर पानीमा दिसाजन्य किटाणुको जोखिम बढ्ने भएकाले पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्न र नियमित क्लोरिनेसन गरेर मात्र वितरण गर्न निर्देशन दिनुभयो। ‘असुरक्षित पानीको सेवनले हैजा र झाडापखाला फैलिन सक्छ, त्यसो भएकाले उपभोक्ताहरूलाई सुरक्षित पानी मात्र वितरण गर्नुपर्छ’ उहाँले भन्नुभयो।
मन्त्री यादवले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी समुदायस्तरमा पनि उमालेर वा क्लोरिनेसन गरिएको पानी मात्र पिउनुपर्ने सन्देश फैलाउनुपर्ने बताउनुभयो।