सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरका केही व्यापारीले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको पाइएको छ। नगरमा रहेका अधिकांश पानी आपूर्ति गर्ने व्यवसायीले जनस्वास्थ्यको ख्याल नै नगरी पानी बिक्री वितरण गर्ने गरेको अनुगमनका क्रममा भेटिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गर्ने नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वीरेन्द्रनगरका पानी उद्योगले दूषित पानी बिक्री वितरण गर्ने गरेको पाइएको हो । वीरेन्द्रनगर–२ मा रहेको तिला कर्णाली पानी प्रशोधन उद्योगले पानीका बोतल तथा जारमा प्याकिङ गर्नुअघि युभी -अल्ट्रा भ्वाइलेट लाइट (जसले पानीमा रहेका हानिकारक जीवाणु मार्दछ)) बिनै प्रशोधन गर्ने गरेको पाइएकोछ ।
वीरेन्द्रनगरमा सञ्चालित एकाध बाहेक अधिकांशले बोतल र जार भर्ने/प्याकेजिङ स्थानभन्दा अघि युभी मेसिन जडान नगरेको, बोतल भर्ने मेसिन मर्मत नगर्ने गरेको अनुगमनबाट भेटिएको छ । त्यसै गरी प्रशोधित पिउने पानी उत्पादन निर्देशिकामा तोकिए बमोजिम अभिलेख व्यवस्थापन, निर्देशिकाको चेकलिस्ट भर्ने तथा अन्य अभिलेख सहित उद्योगको अनुज्ञापत्र नवीकरण लगायतका काम पनि नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख क्षितिज श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसै गरी वीरेन्द्रनगर–३ मा रहेको जयश्री प्रशोधित पिउने पानी उद्योगले पनि युभी मेसिन बिनै पानी बेच्ने गरेको छ । यस उद्योगले पानी परीक्षण प्रयोगशालाका उपकरण मर्मत तथा व्यवस्थित गर्नेतर्फ ध्यान नदिएको नियमित अनुगमनका क्रममा पाइएको छ । वीरेन्द्रनगर– १२ को मध्यपश्चिम वाटर एन्ड वेभरेज प्रालिमा पनि फिलिङ मेसिन अगाडिको युभी मेसिनले काम नगरेको, प्रयोगशाला परीक्षण, उपकरण मर्मत सर्भिसको व्यवस्थित रेकर्ड भेटिएको छैन ।
वीरेन्द्रनगर– १ मा रहेको कर्णाली प्रदेश वाटर एन्ड वेभरेज इन्डस्ट्रिजले अन्य उद्योगका जार प्रयोग गर्ने गरेको छ । आफ्नो उद्योगको सफा र पारदर्शी जारको प्रयोग गर्नुको साटो यो उद्योगले लेबल अद्यावधिक समेत गरेको छैन । कार्यालयले भदौ महिनाभरि नियमित बजार अनुगमन गरेको थियो । सोही क्रममा वर्षाको समयमा पिउने पानीको माध्यमबाट सङ्क्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै कार्यालयले वीरेन्द्रनगरका सात वटा प्रशोधित पिउने पानी उद्योगको अनुगमन गरेको खबर गोरखापत्र दैनिकमा छ। अनुगमनका क्रममा देखिएका त्रुटि तत्काल सुधार गर्न निर्देशन दिइएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो।