सुनकोसी-मरिन डाइभर्सनले मधेसको खानेपानीको समस्या समाधान गर्छ : मन्त्री यादव

  वास खबर सम्वाददाता  258 पटक हेरिएको

सिमरा : खानेपानीमन्त्री प्रदीप यादवले सुनकोसी-मरिन डाइभर्सन परियोजनाले मधेसको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने बताउनु भएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २२औँ वार्षिक साधारण सभामा मन्त्री यादवले भूमिगत पानी मात्र पिउँदै आएका तराई मधेसका बासिन्दाले सुनकोसी-मरिन डाइभर्सन परियोजना  मार्फत हिमालको पानी पिउन पाईने बताउनुभयो । ‘यसले सिँचाइ मात्र होइन, खानेपानी आपूर्तिमा पनि योगदान पुर्‍याउनेछ’ उहाँले भन्नुभयो।

मन्त्री यादवले सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको भूमिका र योगदानको प्रशंसा गर्दै मन्त्रालयले मधेस प्रदेशका विभिन्न क्षेत्रमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको बताउनुभयो। उहाँले गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले नियमित अनुगमन, मर्मत सम्भार र सुधारका कार्यहरूलाई तीव्रता दिएको बताउनुभयो।

‘सफा, सुरक्षित र गुणस्तरीय पानीको पहुँच प्रत्येक नागरिकको मौलिक अधिकार हो। मधेसमा पानीको अभावले ठूलो चुनौती खडा गरेको छ। हामीले दीर्घकालीन समाधानका लागि ठोस योजना बनाउनुपर्छ र सामुदायिक सहभागिता अपरिहार्य छ’ उहाँले भन्नुभयो।

मन्त्री यादवले मधेसमा झन्डै ८० प्रतिशत घरधुरीमा चापाकलहरू सुकेका कारण पानीको गम्भीर अभाव भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयले यस समस्याको समाधानका लागि समुदायसँग सहकार्य गर्दै सेवा विस्तार र मर्मत सम्भारलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार