खानेपानी समितिमा बागी उठेको भन्दै एमाले पार्टीबाट निस्कासित

  वास खबर सम्वाददाता  236 पटक हेरिएको

झापा : झापाको कमल गाउँपालिकाको लखनपुर सामुदायिक खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बागी उम्मेदवारी दिएको भन्दै नेकपा एमालेले उषा भण्डारीलाई कारबाही गरेको छ । एमालेले उषा भण्डारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

भण्डारीले यसअघि खानेपानी समितिकी निर्वाचित अध्यक्षका रुपमा दुई कार्यकाल चलाइसकेकी थिइन् । ‘पार्टीको निर्णय बर्खिलाप हुने गरी पार्टी सदस्य कमरेड उषा भण्डारीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको र सो उम्मेदवारी फिर्ता लिन कमिटीले गरेको निर्देशनलाई अवज्ञा गरेको हुँदा पार्टी विधानबमोजिम आजैका मितिदेखि लागू हुने गरी निज उषा भण्डारीलाई पार्टी सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरिएको व्यहोरा सम्पूर्णमा अवगत गराउँदछौं’, नेपाल एमाले कमल गाउँपालिका कमिटीले भदौ २३ मा निकालेको विज्ञप्तिमा भनिएको छ ।

चुनावचाहिँ एमालेका आधिकारिक उम्मेदवार डम्बर निरौलाले जिते । बागी उठेकी भण्डारीले नै एमालेका आधिकारिक उम्मेदवारलाई टक्कर दिन पुगिन् । उपभोक्ता समिति अध्यक्षमा विजयी भएका निरौलाले ९ सय १७ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी बनेकी भण्डारीले ७ सय ४१ मत पाएकी थिइन् ।

निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण भने असोज ६ गते आइतबार आयोजना गरिएको थियो । नेकपा एमाले कमल गाउँपालिका गाउँ कमिटी अध्यक्ष हरिप्रसाद ढकाल भने उषा पार्टीको निर्णयविपरीत गएकाले बाध्यताले कारबाही गरेको दाबी गर्छन् । उनले पार्टीको बैठकमा साझा गठबन्धनबाट उम्मेदवार बनेका निरौलालाई नै समर्थन गर्ने सहमति गरेर पछि बागी उम्मेदवारी दिएको जिकिर गरे ।

‘उहाँले पार्टी बैठकमा हुन्छ भन्नुभएको हो । तर, पछि के भयो कुन्नि स्वतन्त्र उम्मेदवार बन्नुभयो । पार्टीले आधिकारिक उम्मेदवार घोषणा गरेर अगाडि बढिसकेको थियो, पछाडि फर्किन मिल्ने अवस्था थिएन’, ढकालले अनलाइनखबरसँग भने, ‘बाध्यताले गर्दा उहाँलाई कारबाही गरेका हौं ।’

ढकालले बाहिर प्रचार भएजस्तो अतिराजनीतिकरण नभएको समेत दाबी गरे । उनले भने, ‘माथि केके हुन्छ सबै तल्लो तहले मात्रै धानेरमात्रै पनि नहुँदो रहेछ । कसैको केही न केहीमा आस्था भइहाल्छ, स्वतन्त्र भनेर को स्वतन्त्र हुन्छ र रु’ उनले भने, ‘जसरी भए पनि हामीले गर्ने सामाजिक सेवा नै हो । राजनीति गर्न खोजिएको हैन ।’यो खबर अनलाइन खबरबाट साभार गरिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार