दोब्बर मूल्यमा ‘मिनिरल वाटर’ बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना

  वास खबर सम्वाददाता  219 पटक हेरिएको

काठमाडौ : वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौं स्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। अंकित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो।

जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले रेष्टुरेण्टमा छड्के अनुगमन गरेको हो।

महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताउनुभयो। उहाँले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मुल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको जानकारी दिनुभयो।

उहाँले रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनैपनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने बताउनुभयो। उहाँले भन्नुभयो ‘जिम्बु थकाली रेष्टुरेण्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो। के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौं। हामी रेष्टुरेण्टमा आयौं। पानी मागिएको थिएन। पानी ल्याएर दिनुभयो। पानी र खाजा मःमः खाऔं। एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ। त्यसमा तोकेको भन्दा बढी मूल्य लिन पाइँदैन। खुद्रा मूल्य भन्दा दोब्बर शुल्क लिएको पाइयो।’

उहाँले चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताउनुभयो। यो खबर नागरिक दैनिकले प्रकाशन गरेको छ। आवश्यकताका आधारमा उपभोक्ताहरु ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तिब्रता दिएको उहाँले सुनाउनुभयो। काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि उहाँले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार