मेलम्चीको पानी काठमाडौं लैजान नदिने बाढी पीडित र स्थानीय निर्माण व्यवसायीको चेतावनी

  वास खबर सम्वाददाता  274 पटक हेरिएको

काठमाडौ: मेलम्ची बाढी प्रभावितहरूले आफ्ना माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् । तीन वर्षअघि आएको बाढीबाट प्रभावितले मेलम्चीको मुहान सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तीन किमि क्षेत्रमा प्रदर्शन गर्दै पानी लैजान नदिने चेतावनी दिएका हुन् ।

मेलम्ची खानेपानी विकास समितिले पानी काठमाडौं ल्याउन मुहान क्षेत्रमा तयारी गरिरहेको जानकारी दिएका बेला स्थानीय बाढी प्रभावितले विभिन्न माग राखेर अवरोध गर्ने चेतावनी दिएका हुन् । २०७८ असारमा आएको बाढीले धनजनको ठूलो क्षति भए पनि सरकारले राहत र पुनर्स्थापनामा बेवास्ता गरेको भन्दै स्थानीय अहिले विरोधमा उत्रेका छन् । बाढीले क्षति गर्ने डरका कारण मेलम्चीको सुरुङ गत असार १० गतेदेखि बन्द रहेको छ ।

बाढी प्रभावितले यसअघि पनि माग पूरा गराउन पटक–पटक दबाब दिँदै आएका थिए । पछिल्लो पटक स्थानीय राजनीतिक दलहरूका पालिकास्तरीय प्रमुख तथा प्रतिनिधिहरू एवं स्थानीय संघर्ष समितिले गत भदौ ३० गते संयुक्त विज्ञप्ति प्रकाशन गरी माग पूरा नभए पानी सुरुङमा प्रवेश गराउन नदिने चेतावनी दिएका थिए ।

बुधबार स्थानीयले हेलम्बुको किउलदेखि स्थानीय चनौटे, शेरा, ग्याल्थुम हुँदै तालामाराङ बजारसम्म प्ले कार्डसहित जुलुस प्रदर्शन गरे । जुलसमा सहभागी स्थानीय अगुवा शिवप्रसाद लामिछानेले सरकारले बाढीपीडितलाई बेवास्ता गरेको भन्दै आक्रोश पोखे । ‘मेलम्ची मुहानको तटीय क्षेत्रका बासिन्दाको बिचल्ली भएको छ,’ उहाँले भन्नुभयो ‘जनसरोरकारका विषय सम्बोधन गरेर मात्र पानी लैजान अनुरोध गरेका छौं ।’

स्थानीयले बाढीमा बेपत्ता भएकाहरूलाई आर्थिक सहयोग, खेतीयोग्य जमिनको संरक्षण र सिंचाइ व्यवस्थापन, बैंकको ऋण मिनाहा, विस्थापितको पुनर्स्थापन, स्थानीय साना उद्योग सञ्चालन गर्न सहुलियत दरमा ऋण, पुल तथा सडकको निर्माण लगायतका १७ बुँदे माग अघि सारेका छन् । स्थानीय संघर्ष समितिका अध्यक्ष पासाङ लामा र सचिव छिरिङ ग्याल्मु लामा, कांग्रेस हेलम्बु पालिका अध्यक्ष राजकुमार भण्डारी, एमाले हेलम्बु गाउँपालिका प्रतिनिधि रवि भण्डारी, माओवादी केन्द्र गाउँपालिका अध्यक्ष मोदनाथ भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापति दिनेश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबाबु सापकोटाले संयुक्त विज्ञप्ति मार्फत उक्त माग गरेका छन् ।

यस्तै स्थानीय निर्माण व्यवसायीले पनि आफ्नो माग पूरा गर्ने ग्यारेन्टी नभई पानी ल्याउन खोजेमा मुहानमै अवरोध गर्ने चेतावनी दिएका छन् । निर्माण व्यवसायीले सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी किरण थापालाई भुक्तानी पाउनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाएको स्थानीय निर्माण व्यवसायी उत्तर श्रेष्ठले जानकारी दिनुभयो।

इटालियन ठेकेदारबाट स्थानीय निर्माण व्यवसायीले २७ करोड भन्दा बढी भुक्तानी लिनुपर्ने देखिएको छ । तर सुरुङको काम गरिरहेको उक्त कम्पनी २०१८ सालमा कामै नसकी एकतर्फी निर्णय गरेर फर्केपछि स्थानीय व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेको हो । सरकारले उनीहरूलाई तत्काल केही रकम दिने भने पनि कार्यान्वयन नहुँदा समस्या भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार