मनसुनी बर्षा र स्थानीयको अवरोधले रोकियो मेलम्चीको पानी

  वास खबर सम्वाददाता  233 पटक हेरिएको

काठमाडौ : मनसुनी बर्षा सक्रिय र स्थानीयको अवरोध पछि मेलम्ची पानी तत्काललाई काठमाडौं आउन रोकिएको छ । मेलम्ची खानेपानी विकास समितिले बिहीबार काठमाडौं पथान्तरण गर्ने भनिए पनि उक्त कार्य रोकिएको छ। आफ्ना माग पूरा नगरे मुहानमा कामै गर्न नदिने अडानमा स्थानीय बाढी प्रभावित छन् ।

आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले स्थानीय बाढी प्रभावितले बुधबार मुहान क्षेत्रमा प्रदर्शन समेत गरे । बाढी प्रभावितले राहत र पुनःस्थापना एवं स्थानीय सप्लायर्सले सुरुङ निर्माण गर्दागर्दै ठेक्का तोडेर फर्केको इटालियन कम्पनीले बाँकी भुक्तानी दिनुपर्ने माग गरिरहेका छन् ।

समयमै मुहानमा पुगेर काम सुरु गर्न नसकेको, स्थानीयले अवरोध गरिरहेको र मनसुन नरोकिएकाले पानी काठमाडौं ल्याउने कार्य फेरि पनि अनिश्चित बनेको हो । पानी सुरुङमा प्रवेश गराएपछि पनि २६ किमि पार गरेर सुन्दरीजल आइपुग्न समय लाग्छ । यस पटक सुरुङको पानी सबै खाली नगरिएकाले उताबाट पठाउने बित्तिकै काठमाडौं पानी आउने व्यवस्था गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेको दाबी छ ।

प्रभावितहरूका केही माग खानेपानी मन्त्रालय र केही माग अन्य मन्त्रालयसँग सम्बद्ध रहेकाले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएपछि छलफल गरेर निर्णय गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो। ‘प्राविधिक रूपमा पानी ल्याएर वितरण गर्न समस्या छैन, कुनै समस्या आइनपरे असोज १० मै पानी ल्याउने तयारी गर्दै थियौं,’ उहाँले भन्नुभयो ‘तर मनसुन अझै लम्बिने देखियो, त्यसमाथि यही बेला मेलम्चीका बाढीपीडितले विभिन्न माग अघि सार्दै काठमाडौं पानी पठाउन नदिने गरी आन्दोलन सुरु गरे ।’ एसियाली विकास बैंक (एडीबी) ले पनि जोखिम मोलेर पानी नपठाउन भनेको लामिछानेले सुनाउनुभयो।

तर बाढीका कारण सुरुङको मुखमा भरिएको गेग्य्रान र आसपासमा थुप्रिएको ढुंगामाटो हटाइएको छैन । ०७८ असारमा हेलम्बुको हिमाली क्षेत्र भिमाथाङबाट आएको बाढीले मुहानलाई ठूलो क्षति गरेपछि मेलम्चीको पानी नियमित हुन सकेको छैन । ०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी काठमाडौं खसालिएको थियो । ०७८ असारदेखि हालसम्म बर्खामा बर्सेनि पानी बन्द गर्ने गरिएको छ । तीन वर्षअघि आएको बाढीबाट प्रभावितहरू आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लैजान नदिने चेतावनी दिएका छन् । हेलम्बु गाउँपालिकाको ३ किलोमिटर क्षेत्रमा उनीहरूले प्रदर्शन समेत गरे ।

प्रभावितले यसअघि पनि माग पूरा गराउन पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । तर कतैबाट पनि सुनुवाइ नभएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । स्थानीय राजनीतिक दलका पालिका प्रमुख तथा प्रतिनिधि एवं स्थानीय संघर्ष समितिले गत भदौ ३० मा संयुक्त विज्ञप्ति प्रकाशन गरेर माग पूरा नभए सुरुङमा पानी प्रवेश गराउन नदिने चेतावनी दिएका थिए । सोहीअनुसार उनीहरूले हेलम्बुको किउलदेखि स्थानीय चनौटे, शेरा, ग्याल्थुम हुँदै तालामाराङ बजारसम्म प्ले कार्डसहितको जुलुस प्रदर्शन गरे ।

मेलम्ची मुहानको तटीय क्षेत्रका बासिन्दाको बिचल्ली हुँदा पनि सरकारी निकायले बेवास्ता गरेको जुलुसका सहभागी स्थानीय संघर्ष समितिका अगुवा शिवप्रसाद लामिछानेले बताउनुभयो । आफूहरूका माग पूरा नभएसम्म मुहानमा काम गर्न नदिने स्थानीय संघर्ष समितिका अध्यक्ष पासाङ लामाले बताउनुभयो।

सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी (सीएमसी) ले खानेपानी आयोजनासँगको सम्झौता तोडेको ७ वर्षसम्म पनि स्थानीय सप्लायर्स र कामदारले २७ करोडभन्दा बढी रकम भुक्तानी पाएका छैनन् । सप्लायर्सहरूले उक्त रकम नपाउँदा बैंकले आफूहरूको सम्पत्ति लिलाम हुने अवस्थामा पुगेको भन्दै सरकारसँग हारगुहार गर्दै आएका छन् ।

स्थानीयको आन्दोलनले गर्दा मेलम्ची खानेपानी विकास समितिका कर्मचारी फिल्डमा जान सकेका छैनन् । बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गत असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउने योजना समितिको थियो । असार १० अघिसम्म मेलम्चीबाट १७ करोड ल्याइएको थियो र अन्य स्रोतबाट समेत गरी करिब २३ करोड लिटर पानी वितरण हुँदै आएको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।

मेलम्चीको पानी बन्द भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार