सुर्खेत : सुर्खेत चौकुने गाउँपालिका –९ बसन्ती र कोकलेबस्तीका बासिन्दाले घर आँगनमा पिउने पानी पाउँदा खुशी छन् । सधै खोला र खोल्साको धमिलो पानी पिउदै आएका त्यहाँका बासिन्दाले घर आँगनमै शुद्ध पिउने पानी पाउँदा औधी रमाएका हुन् ।
घरआँगनमा शुद्ध पिउने पानी पाउँदा सरुवा रोग लाग्ने चिन्ता समेत हटेको भविसरा सिजापतिले बताउनुभयो । पहिला खोला र खोल्सा पानी पिउँदा सरुवा रोग झाडापखाला लागेर हैरान हुन्थे, खानेपानी बनेपछि एकातिर रोग लागेको छैन । समयको बचत भएको छ । खोलाबाट पानी ल्याउने समयले घरआँगमा तरकारी खेती लगाउने योजनाका बुनेको उनको भनाई छ ।
भविसरा मात्र होइन सोही गाउँका ९८ बर्षिया टेकबहादुर शाही औधी रमाएका छन् । २०२८ सालदेखी हाट (हटारु) आउँदा हामी यही बाटो आउँथ्यो, खोलाखोल्साकै पानी पिउने खाना पकाउने गर्थ्यो । म दैलेखको तिलेपाटा बसाईसरेर यहाँ आएको हुँ । यति बर्षसम्म यहाँ कसैले पनि पानी ल्याएका थिएनन् । अहिले क्या संस्थाले पानी ल्याईदिएको छ भन्छन् मलाई नाम भन्न आउदैन । अगाडी निर्माण गरिएको धारा देखाउँदै शाहीले भन्नुभयो ।
हाम्रा दुःखका कुरा गर्या त एकरात एकदिन जान्छ । अब अहिले घर घर धारा वने हामीले पाएका दुःख नाती नातिनी हुदैन शाहीले थप्नुभयो । विगतका दिनमा पानी नहुँदा डेढघण्टा टाढाबाट पानी ल्याउनु पर्थ्यो । त्यो पालो अनुसार भर्नु पर्यो ।
धमिलो पानी थिग्रिएपछि मात्र पानी पिउनु पर्थ्यो। आज भोलि जतिवेला जसरी पानी पिए पनि भयो, पानीबाट हामीकन रोग नलागोस भनेर क्या मेशिन जोडेका छन भन्छन, मलाई भन्न आउदैनन्, फुलेको कपाल सुम्सुम्याउदै शाहीले विगतलाई सम्झिनुभयो । यति भनिरहँदा एकातिर टेबहादुर खुशी जस्ता देखिनुहुन्थ्यो भने विगत सम्झिँदा अनुहार मलिन हुन्थ्यो ।
कोकली बसन्तीकुन्टाका घरघरमा धारा निर्माण बनेपछि स्थानीयबासीको दैनिकी समेत फेरिएको छ पानी ल्याउनुपर्ने समय बचाएर बसन्तीबासीले खेतवारी वा तरकारीबारीमा काम गर्न थालेका छन् ।
व्यवसायीक खेती नगरेपनि जहानपरिवार खानको लागि भएपनि बारीमा तरकारी लगाएको भविसरा सिजापतिले भन्नुभयो । सिजापति जस्तै खगिसराको दैनिकी समेत फेरिएको छ । विहान र बेलुका पानी ल्याउन जाँदा पढाईको खाँचो हुन्थ्यो । तर अब घर अगाडि नै धारा बनेपछि पानी पनि पाईयो पढाई पनि हुने भो ।
विहान बेलुका खोलाबाट पानी ल्याउनुपर्ने बाध्यताले विद्यार्थीको पढाई समेत छुट्ने गर्थ्यो नरबहादुर शाहीले भन्नुभयो । उहाँले भन्नुभयो ‘धारा निर्माण सँगै यहाँको जीवनशैली र दिनचर्या समेत फेरिएको छ । पानी अभावले फाहोरमैला हुन्थ्यो। शौचालय मानिस जंगल धाउँथे । घर घरमा धारा बनेपछि सबै कुरा बदलिएको छ ।
युनिसेफ नेपालको १० लाख, चौकुने गाउँपालिकाको ६ लाख ७२ हजार ४७६ रुपैया, गल्र्स म्याटर फरफेक्ट र सोसेक नेपालको ८ लाख ७७ हजार गरि ३३ लाख ९६२ लगानीमा खानेपानी योजना निर्माण गरिएको हो ।
बस्तीमा ५७ र विद्यालयमा १ वटा गरी ५८ धारा निर्माण गरिएको वडाअध्यक्ष कविराम खनालले जानकारी दिनुभयो। पानी नहुँदा विद्यार्थी समेत शौच गर्न जंगल धाउँथे अब विद्यालयमै धारा निर्माण भएपछि विद्यालयको शौचालय समेत प्रयोगमा आएको उहाँले बताउनुभयो।