बाढी र पहिरोका कारण फिदिम बजारमा खानेपानी सेवा ठप्प

  वास खबर सम्वाददाता  178 पटक हेरिएको

पाँचथर : पाँचथरमा बाढी पहिरोपछि विद्युत् र खानेपानी आपूर्ति ठप्प भएको छ । असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षासँंगै आएको बाढी, पहिरोले क्षति पुर्‍याएसँंगै फिदिम बजारमा खानेपानी आपूर्ति ठप्प भएको हो ।

अहिले बजारवासी जरुवा पानीको भरमा छन् भने ती जरुवामा पनि थेगिनसक्नु भिड लाग्न थालेको छ । घन्टौँ लाइनमा बस्ता पनि पालो नआएपछि दैनिक कामकाजमा समस्या भएको फिदिम–४ की सुषमा राइले बताउनुभयो । यसै गरी बाढीपहिरोका कारण पाँचथरमा साना ठुला गरी सात वटा जलविद्युत्मा क्षति पुगेको छ । जलविद्युत्मा क्षति पुगेसँगै सिङ्गो जिल्ला अन्धकारमा बस्नुका साथै सञ्चार सेवा पनिअवरुद्ध भएको  छ ।

क्षति भएका जलविद्युत् खोरुङ्गा खोला, विके पावर कम्पनी, पाँचथर पावर कम्पनी, माउन्टेन र मुवा खोलामा क्षति पुगेको खोरुङ्गा खोलाका साइट इन्चार्ज हरि पौडेलले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरणका अनुसार पाडाजुङ्गी गोदक इलाम हुँदै पाँचथर अमरपुरसम्म जोड्ने १३२ केभी प्रसारण लाइनको इलाम जिल्ला महमाईस्थित रहेको ५१ नम्बरको टावरमा क्षति पुगेकाले सिङ्गो पाँचथरमा विद्युत् ठप्प छ ।

जलविद्युत्मा क्षति पुगेसंँगै दैनिक जनजीवन प्रभावित भएको छ । फिदिम र फाल्गुनन्द गाउँपालिका केन्द्रसहित अधिकांस स्थानमा लगिएको खानेपानी मुहान बगेका कारण पानीको हाहाकार भएको खबर गोरखापत्र दैनिकले प्रकाशन गरेको छ। फिदिममा वितरित खानेपानी दर्जनभन्दा धेरै ठाउँमा भत्किएकाले निर्माण कार्य थालिएको उपभोक्ता समिति अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार