प्रदूषित पानीले जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्नसक्ने

  वास खबर सम्वाददाता  102 पटक हेरिएको

काठमाडौ : जनस्वास्थ्यविद् डा. समीर अधिकारीले विपदको बेलामा स्वच्छ खानेपानी र सरसफाइको अभावका कारण सर्वसाधारणमा झाडापखालाजस्ता रोग लाग्नसक्ने बताउनुभएको छ । “बाढी, पहिरो, ढुबानपछि जनस्वस्थाका ठूला समस्या आउन सक्छ, फोहोर पानी पिउँदा पखला, टाइफाइड, छालारोग तथा अन्य दीर्घकालीन रोगसमेत लाग्न सक्छ,” उहाँले भन्नुभयो, “विपद्पछि पानीको स्रोत सफा गर्नुपर्छ, पानी उमालेर मात्रै प्रयोग गर्नुपर्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनहितका लागि जारी गरेको सूचनामा विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने र यस्तो समयमा विभिन्न किसिमका रोगहरूको सङ्क्रमण हुने सम्भावना अधिक रहने उल्लेख छ । “दूषित पानीबाट सर्ने रोग, लामखुट्टेको टोकाइबाट सर्ने रोगलगायत रोगहरूको सङ्क्रमण हुनेगर्छ ।

मन्त्रालयका अनुसार सडेगलेका, बासी र झिँगा भन्केका खानेकुराहरू नखाने, काँक्रो, गाजर, फलफूलजस्ता काँचै खान मिल्ने खानेकुरा सधैँ सफा पानीले धोएर खाने, खाना पकाउनुअघि, खाना खानुअघि, बालबालिकालाई खाना खुवाउनुअघि, फोहोर छोएपछि, दिसापिसाब गरेपछि, चर्पीको प्रयोग गरेपछि र बालबालिकाको दिसा धोएपछि साबुनपानीले मिचीमिची हात धुन लगाउनुपर्छ ।

चर्पीमा मात्र दिसापिसाब गर्ने गरौँ र बालबालिकाको दिसालाई पनि चर्पीमा नै विसर्जन गर्ने, फोहरलाई सधैँ निश्चित ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने, खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले नाकमुख छोप्ने गर्ने, झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघाखोकी तथा टाइफाइडका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने मन्त्रालयका भनाइ छ ।

लामखुट्टेबाट रोग सर्ने सम्भावना अधिक हुने भएकाले वर्षाका कारण आसपासमा भरिएका पानीलाई हटाउने वा बगाइदिने, वर्षाका कारण भाडाहरुमा पानी भरिएका छन् भने त्यसलाई बगाइदिनुपर्ने मन्त्रालयले जानकारी गराएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार