एडिबीको सहयोगमा केराबारी सहरी खानेपानी आयोजना सञ्चालन हुँदै

  वास खबर सम्वाददाता  149 पटक हेरिएको

उर्लाबारी : वर्षायाममा धमिलो र हिउँदमा डोकोमा गाग्री बोकेर जरुवा कुवा खोज्दै हिँड्नुपर्ने बाध्यता खेपिरहेका केराबारीवासीले शुद्ध पिउने पानी पिउन पाउने भएका छन् ।

एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारले केराबारी सहरी खानेपानी आयोजना सञ्चालन गर्ने भएपछि वर्षौंदेखि पिउने पानीको समस्या झेल्दै आएका केराबारीवासीको समस्या समाधान हुने भएको हो । एक वर्षअघि सुरु भएको सम्भाव्यता अध्ययन सम्पन्न भएपछि आयोजना सञ्चालन गर्ने सरकारी निकाय सहरी खानेपानी आयोजनाको क्षेत्रीय कार्यालय इटहरीले केराबारी गाउँपालिकामा  केराबारी सहरी खानेपानीको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन प्रस्तुत गरेको छ ।

केराबारी सहरी खानेपानी आयोजन सञ्चालन गर्न एक अर्ब ५३ करोड तीन लाख ६२ हजार ९६८ रुपियाँको अनुमानित बजेट तय भएको छ । जसमध्ये नेपाल सरकारका तर्फबाट ७० प्रतिशत अर्थात् (एक अर्ब सात करोड १२ लाख ५४ हजार ७८ रुपियाँ), सङ्घीय सरकारबाट ऋण अनुदान २५ प्रतिशत अर्थात् ( ३८ करोड २५ लाख नौ हजार ७४२ रुपियाँ ) र स्थानीय सरकारका तर्फबाट उपभोक्ताको लागत सहभागिता मार्फत पाँच प्रतिशत अर्थात् (सात करोड ६५ लाख १८ हजार १४८ रुपियाँ ) खर्च व्यवस्थापन गरिने छ ।

खानेपानी आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न हुने छ । योजना सम्पन्न भएपछि प्रतिदिन प्रतिव्यक्ति एक सय लिटर पानी प्रयोग गर्न सक्ने गरी अगामी २० वर्षसम्म झन्डै ५६ हजार जनसङ्ख्यालाई धान्न सक्ने गरी आयोजना सञ्चालन गर्न लागिएको हो । आयोजना केराबारी गाउँपालिकाको वडा नं. ५ को न्युरे, सतिसाले, वडा नं. ६ को कालापानी, ७ को ओखलढुङ्गे, भालुकुँडे, सिंहदेवी, वडा नं. ८ को आमजुङ्गी, वडा नं. ३ को देउराली, फूलबारी टोल, वडा नं. १० को थापाटार बाँकेटार हुँदै वडा नं. ९ को भलुवा, घङ्घरु, देवीझोडासम्मका झन्डै छ हजार ६४५ घरधुरीका ३१ हजार ३१५ जनसङ्ख्यालाई पुग्ने गरी सञ्चालन गर्ने महìवकाङ्क्षी लक्ष्य लिइएको छ ।

पिउने पानीको स्रोत खदम खोला र भूमिगत स्रोतबाट व्यवस्थापन गरिने छ । खोलाको पानी थिग्य्राइ शुद्ध र गुणस्तरीय पिउने पानी वितरण गर्न मुहानदेखि रिजर्भ ट्याङ्कीसम्म विभिन्न साइजका २३ किलोमिटर र ट्याङ्कीदेखि घरसम्म झन्डै ४५२ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने सहरी खानेपानी डिभिजन कार्यालय इटहरीका परामर्शदाता शिशिर गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार आयोजना सुरु भएपछि २२ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

केराबारी सहरी खानेपानी आयोजना सञ्चालन गर्न विभिन्न ठाउँमा स्थानीयले निजी जग्गा र सार्वजनिक जग्गासमेत उपलब्ध गराइसकेकाले काम सुरु भएपछि निर्धारित समयमा सम्पन्न हुने परामर्शदाता गौतमले बताउनुभयो ।

केराबारी सहरी खानेपानी समितिको उपाध्यक्ष एवं वडा नं. १० का वडाध्यक्ष पूर्णबहादुर मगरले भन्नुभयो, १, २, ४ नम्बर वडा पूरै र ३ नम्बर वडाको आधा जनसङ्ख्या यो आयोजनाबाट लाभान्वित हुने छन् । हालसम्म खदम खोलाको पानी खाइरहेका केराबारीवासीको चार दशक पुरानो सपना हो यो योजना । केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किसन शाहीले स्रोतको सुनिश्चित भएकाले समयमा नै योजना सम्पन्न हुनेमा आशावादी रहेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार