बाढी पछि काठमाडौ उपत्यकाको खानेपानी वितरण प्रणाली प्रभावित

  वास खबर सम्वाददाता  245 पटक हेरिएको

काठमाडौ: मेलम्चीको खानेपानी आपूर्ति नभइरहेका बेला बाढीपहिरोले उपत्यकामा खानेपानीको समस्या झन् चर्को बनाइदिएको छ । गएको शुक्रबारदेखि आइतबार सम्मको झरीले निम्त्याएको बाढीपहिरोका कारण मुहान र पाइपलाइनमा क्षति पुग्दा काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिमा असर परेको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार उपत्यकामा खानेपानीको माग दैनिक ४७ करोड लिटर छ । १७ करोड लिटर आपूर्ति गर्ने मेलम्ची असार दोस्रो सातादेखि बन्द गरिएपछि केयूकेएलले सुन्दरीजल र अन्य स्रोतबाट जुटाएर १९ करोड लिटर पानी वितरण गर्दै आएको थियो । बाढीपछि दैनिक ६ देखि ८ करोड लिटरसम्म मात्र पानी वितरण गर्न सकिएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए । ‘पानीको स्रोत नै घटेका बेला बाढीपहिरोले भौतिक संरचना र विभिन्न उपकरणमा क्षति पुगेपछि वितरण प्रणाली बिग्रिएको छ,’ उनले भने ।

धारामा पानी झर्न छाडेपछि उपभोक्ताहरू ट्यांकरको पानी किन्न बाध्य भएका छन् । कीर्तिपुर, ट्याङ्लाफाँटकी चन्द्रकुमारी गुरुङले पाँच दिनदेखि धारामा पानी नआएको बताइन् । ‘भान्सामा जारको पानी प्रयोग गरिरहेकी छु,’ उनले भनिन्, ‘अन्य काममा ट्यांकर र इनारको पानीले काम चलाइरहेकी छु ।’ बानेश्वरकी सजनी भुसालले पनि ट्यांकरबाटै पानी किनेर प्रयोग गरिरहेको सुनाइन् । ‘मेलम्ची बन्द गरिएपछि नै समस्या थियो, अस्ति बाढी आएदेखि त धारामा खानेपानी आएको छैन,’ उनले भनिन्, ‘कहिलेसम्म यसरी धरधन्दामा महँगो पानी प्रयोग गर्नुपर्ने हो !’

अनामनगरकी माया श्रेष्ठले खानेपानी आउन छाडेपछि आपत् परेको सुनाइन् । ‘खानलाई त किनेर काम चलाइरहेका छौं,’ उनले भनिन्, ‘धाराबाट धमिलो पानी आए नि कम्तीमा शौचालय जानलाई त हुन्थ्यो । अब कहिलेसम्म किनेर काम चलाउने ?’ उनको घरमा तीन परिवार भाडामा बसेका छन् । त्यसैले चार परिवारका लागि खानेपानी किन्नुपर्छ । ‘पानीको यस्तो संकट त पहिले कहिल्यै थाहा थिएन,’ उनले भनिन् । अनामनगरमै राजन ‘मिट सप’ सञ्चालन गरिरहेका राजन खड्गीले ट्यांकरको पानी किनेर प्रयोग गरिरहनुपरेको सुनाए । ‘घरमा पनि खानेपानी आएको छैन । यता पसलमा पनि छैन,’ उनले भने, ‘घर र पसल दुवैतिर पानी किन्दै चलाइरहेको छु ।’

थापाथलीकी लक्ष्मी तण्डुकारको घरको धारामा भने ६ दिनपछि बुधबार पानी आयो । घरमा इनार खनेकी उनले भनिन्, ‘साताको एक दिन मात्र पुग्ने गरी पानी आइदिए खासै समस्या हुँदैनथ्यो ।’ बाढीपहिरोले क्षतिग्रस्त संरचना मर्मतलाई प्राथमिकता दिएर जतिसक्दो छिटो खानेपानी आपूर्ति नियमित गर्नुपर्ने तण्डुकारले बताइन् ।

शुक्रबार र शनिबार रातिको बाढीपहिरोले खानेपानीको संरचनामा कम्तीमा ३० करोड रुपैयाँ बराबरको क्षति भएको केयूकेएलको प्रारम्भिक अध्ययन छ । कहाँ कति क्षति भयो भन्ने यकिन विवरण तयार हुन भने समय लाग्ने केयूकेएलले जनाएको छ । बाढीले उत्पादन केन्द्र, प्रशोधन केन्द्र, पम्प हाउस, वितरण सञ्जाल लगायतमा क्षति गरेको छ । केयूकेएलका प्रवक्ता राईले बाढीपहिरोपछि उपत्यकाभरका उपभोक्ताले खानेपानीको समस्या भोगिरहेको बताए । ‘उपकरणमा पुगेको क्षतिको यकिन विवरण आउन समय लाग्छ,’ राईले भने, ‘खानेपानीका संरचना र पाइपमा भएको हिलो हटाउने काम भइरहेको छ । टुटेफुटेका संरचनाको मर्मत पनि अघि बढेको छ ।’

केयूकेएलको सेवा क्षेत्रभित्र करिब २ लाख ५६ हजार धारा छन् । काठमाडौंमा एक लाख ८० हजार, ललितपुरमा ५६ हजार र भक्तपुरमा २० हजार धारा रहेको केयूकेएलले जनाएको छ । क्षेत्रपाटी, महाकाल चौर, भक्तपुर, मध्यपुर ठिमी, त्रिपुरेश्वर, बानेश्वर, कीर्तिपुर, महाराजगन्ज र ललितपुर गरी नौवटा शाखामार्फत ती धारामा केयूकेएलले पानी वितरण गर्छ । बाढीपछि यी सबै शाखा प्रभावित भएका छन् । बाढीपछि सोमबारबाट पालो मिलाएर शाखामार्फत पानी वितरण गरिरहेको केयूकेएलका प्रवक्ता राईले जानकारी दिए । केयूकेएलले मंगलबार महाकाल र ललितपुरमा पानी वितरण गरेको थियो भने बुधबार त्रिपुरेश्वर र बानेश्वर क्षेत्रमा पानी पठाएको खबर कान्तिपुर दैनिकले छापेको छ।

मनसुन अन्त्य भएर मेलम्ची आयोजनाबाट आपूर्ति हुन थालेपछि मात्र उपत्यकाका उपभोक्ताले पर्याप्त खानेपानी पाउन सक्ने केयूकेएलले जनाएको छ । वर्षाले मेलम्ची नदीमा बहाव बढ्नुका साथै पानी धमिलिन थालेपछि असार दोस्रो साताबाट आपूर्ति बन्द गरिएको छ । मनसुन अन्त्य नभई मेलम्चीबाट खानेपानी आपूर्ति हुने अवस्था छैन ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार