पाल्पा : पाल्पाको रामपुर नगरपालिकाले प्लास्टिकबाट बनेका फूलमाला बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्लास्टिकबाट बनेका फूलमालाले वातावरणीय प्रदूषण बढाउनुका साथै स्थानीय कृषकबाट उत्पादित फूलले बजार नपाउने समस्या देखिएको भन्दै कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै स्थानीय कृषकले उत्पादन गरेका प्राकृतिक फूलमाला मात्र प्रयोग गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रवक्ता कपिलबहादुर खाँणले दसैँलगत्तै व्यवसायीले तिहार लक्षित प्लस्टिकका फूलमाला आयात गर्दा व्यवसायी समस्यामा पर्न सक्ने भएकाले चाँडै निर्णय गरिएको जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले कार्यपालिकाको निर्णयलाई कार्यान्वयन गरिने बताउनुभयो । स्थानीय उत्पादनको प्रवर्धन र स्वास्थ्यलाई ध्यानमा राख्दै प्लास्टिकजन्य फूलमाला उत्पादन, भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको रामपुर नगर पालिकाका उपप्रमुख बालकुमारी थापाले बताउनुभयो ।
नगरप्रमुख रमण बहादुर थापाले स्थानीयस्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न प्लास्टिकका माला प्रयोग नगर्न आग्रह गरिएको बताउनुभयो ।
वातावरणीय रूपमा प्लास्टिकका मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिकका मालालाई प्रतिबन्ध गरेको बताउनुभयो।