खानेपानी उपभोक्ता समितिले काट्यो मेयर र उपमेयरका घरको धाराको लाइन

  वास खबर सम्वाददाता  495 पटक हेरिएको

पाँचथर : पाँचथरको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपानेका घरमा जोडिएको खानेपानीको धाराको लाइन काटिएको छ । बजेट उपलव्ध नगराएको भन्दै फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिकाअध्यक्ष प्रकाश गुरुङ नेतृत्वको टोलीले मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपानेको घरको खानेपानीको धाराको लाइन काटिदिएको हो ।

नगरपालिकाले खानेपानी उपभोक्ता समितिलाई आवश्यक बजेट उपलब्ध नगरएको आरोप अध्यक्ष गुरुङको छ । ‘असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै आएको पहिरोले ठाउँ-ठाउँमा खानेपानीका पाइप लाइन बगाएर क्षति पुर्‍याएको र बैकल्पिक मुहानको खोजी गरेर सदरमुकाममा पानी ल्याउन नगरपालिकाबाट पर्याप्त सहयोग नपाएपछि मेयर उपमेयरका घरको धारा काटिदिएको अध्यक्ष गुरुङले बताउनुभयो।

गुरुङ नेतृत्वको समितिले केही दिन अघि फिदिम नगरपालिकामा जडान गरिएको खानेपानी पनि काटिदिएको थियो। कार्यालयमा भने सेवाग्राही प्रभावित हुने देखिएकाले धारा पुनः जोडिदिने गुरुङले बताउनुभयो। ‘खानेपानी मुहानदेखि मुल ट्याङ्कीसम्म ८ ठाउँमा पहिरो गएको छ, २२ सय मिटर भन्दा धेरै पाइप लाइन क्षति भएको छ, क्षति भएका स्थानमा पाइपलाइनको व्यवस्थापन नगरपालिकाले गरिदिनुपर्छ भन्ने हाम्रो माग हो’ गुरुङले भन्नुभयो।

फिदिम नगरपालिकाले भने फिदिम खानेपानीलाई सहयोग नगरेको भन्ने आरोप पुर्वाग्रही भएको जनाएको छ । खानेपानी मर्मत सम्भारका लागि बर्षेनी बजेट छुट्याउँदै आएको र यो वर्ष पनि ट्यांकी मर्मतका लागि ५ लाख रुपैयाँ बिनियोजन भएको उपमेयर राधाकृष्ण न्यौपानेले बताउनुभयो । नगरपालिकाले सहयोग गरेन भन्ने बहानामा मेयर र उपमेयरका घरका धारा काट्नु कहाँसम्म न्यायोचित हो  ?,’ उपमेयर राधाकृष्ण न्यौपानेको प्रश्न छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार