तीन महिनापछि विदुरमा खानेपानी

  वास खबर सम्वाददाता  253 पटक हेरिएको

नुवाकोट : बाढीपहिरोका कारण अवरुद्ध भएको नुवाकोटस्थित विदुरको खानेपानी योजना तीन महिना पछि सञ्चालनमा आएको छ। यसबाट ४५ सयभन्दा बढी ग्राहक लाभान्वित भएका छन्।

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले वितरण गर्दै आइरहेको खानेपानी आवश्यक मर्मत पछि अस्थायी रूपमा एक महिनापछि सदरमुकाम विदुरमा वितरण गरिएको हो। स्थायी निर्माणका लागि योजना भइरहेको संस्थाले जनाएको छ।

असार अन्तिम साताको बाढीपहिरोका कारण पानीको संरचना बगाएर अनिश्चित समयको लागि अवरुद्व भएको फलाखु खोला मुहानको खानेपानी वितरण सेवा सुरु भएको संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठको भनाइ छ। उहाँका अनुसार अस्थायी रूपमा सञ्चालन गरिएको र स्थायी रूपमा पुनर्निर्माण गर्न छुट्टै र विशेष योजना वनाउने कार्य भइरहेको छ।

खानेपानी अस्थायी रूपमा सञ्चालन गर्न सरोकारवाला निकाय, संस्थाका पदाधिकारी, प्राविधिक कर्मचारी तथा सहयोगीको अनवरत प्रयासको फलस्वरूप विदुर र बट्टारको ट्यांकीमा खानेपानी ल्याएर वितरण गरिएको उपाध्यक्ष नवराज न्यौपानेको भनाइ छ। खानेपानी आयोजनामा खानेपानीको आपूर्ति बन्द हुँदा विदुर नगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ८ र ९ का उपभोक्ता ४५ सयभन्दा बढी घरधुरी प्रभावित भएका थिए।

नियमित रूपमा खानेपानी अवरुद्ध हुँदा संस्थाले वैकल्पिक रूपमा डिप बोरिङमार्फत उपभोक्तालाई तालिकाअनुसार खानेपानी वितरण गरेको थियो। बाढीपहिरोका कारण अनिश्चित समयको लागि अवरुद्व भएको फलाखु खोला मुहानको खानेपानी सञ्चालन गर्न थ्री फेज विद्युत् लाइन उपलब्ध गराइएको संस्थाका सचिव राजेन्द्र पाण्डेको भनाइ छ।

खानेपानी धारामै आएपछि हजारौं उपभोक्ताहरू निकै खुसी भएका छन्। यो खबर अन्नपूर्ण पोष्टले प्रकाशन गरेको छ। बाढी र पहिरोले क्षतिग्रस्त फलाखु खोलाको पाइपलाइन अनवरत मर्मत पछि पोलिथिन पाइप लाइन जडान गरी मुहानबाट पहिले जस्तै ग्र्याभिटी फ्लोबाट खानेपानी सञ्चालन गर्न सफल भएको कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार