फोहोरबाट बनाएको मलले मौलाएको सयपत्री फूल

  वास खबर सम्बाददाता  112 पटक हेरिएको

चितवन : तिहारमा भाइटीकापछि माला बनाएर लगाइने सयपत्री फूल टिप्न मिल्ने भएका छन् । फूल फक्रनलाई थोरै धेरै मिहिनेत गर्नै पर्दछ । मल, सिँचाई र गोडमेल गर्नु पर्दछ । अनि मगमगाउँदो सयपत्री मालामा उन्नका लागि टिप्न पाइन्छ ।

चितवन खैरहनी नगरपालिका–४ चैनपुर भुवनेश्वर टोलको एक बिघामा ढकमक्क फूलेको सयपत्रीले राम्रो स्याहारसँगै मल पनि अलि विशेष खालको पायो ।

त्यहाँ प्रयोग भएको मल घर घरबाट खेर जाने कुहिने फोहरबाट तयार भएको प्रांगरिक मल हो । खैरहनीमा सफा उर्जा नामक कम्पनीले यस्तो कुहिने फोहरबाट मल बनाउँदै आएको छ । सोही मल पाएको सयपत्री राम्रोसँग फूलेर टिप्न तयार भएको छ । फोहरमैला व्यवस्थापन स्थानीय तहका लागि निकै टाउको दुखाइ हुने गरेको छ । तर बजारबाट उठाएको फोहरलाई सफा उर्जाले ‘सफा मल’ बनाएर उब्जनीमा लगाएको छ ।

भुवनेश्वर टोलको सयपत्री खेती पनि सफा उर्जाले नै गरेको हो । ‘सहर बजार, गाउँटोलबाट उठाएर ल्याएको कुहिने फोहरबाट बनेको प्रांगरिक मल कृषिका लागि राम्रो छ भन्ने देखाउनुछ । खाद्यबालीका साथै तरकारी र फूल खेतीलाई पनि यो मलले राम्रो गर्दछ भन्ने कुरा हामी प्रयोग गरेरै देखाउन चाहन्छौं,’ फूल खेती हेर्ने सफा उर्जाका वसन्त रानाले भन्नुभयो। मेवा खेती र केरा खेतीमा उपयोग भएको जमिन कम्पनीले भाडामा लिएको हो ।

साढे दुई बिघा जमिन १० वर्षका लागि भाडामा लिएको कम्पनीका जितेन्द्र बस्नेतले बताउनुभयो । सिजनमा सयपत्री फूल लगाएसँगै प्याज र सूर्यमुखीको खेती गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो। कम्पनीले रत्ननगर र खैरहनी नगरपालिकाको फोहर व्यवस्थापन गर्दै आएको छ । त्यसगरी भरतपुर महानगरपालिकाको तरकारी बजारबाट पनि कुहिने फोहर उठाउने गरेको कम्प्नीका सेफ्टी म्यानेजर रहेका वसन्त रानाले जानकारी दिनुभयो।

कम्पनीले कुहिने र नकुहिने फोहर छुट्याएर कुहिने फोहरबाट मल बनाउने र नकुहिने फोहर रि–साइकल या रि–युजका लागि उपयोग गर्दछ । कम्पनीसँग कुहिने फोहरबाट दिनमा २० टन प्रांगारिक मल उत्पादन गर्ने क्षमता छ । ‘तर बजारमा त्यो अनुसारको माग नभएका कारण हामी दिनमा सरदर पाँच सात टन मल उत्पादन गरिरहेका छौं,’ सफा उर्जाका प्रोडक्सन म्यानेजर रोशन केसीले भन्नुभयो । मल बनाउने फोहर प्रशस्तै छ ।

‘तर यसरी बनेको मलको माग नबढेकाले क्षमताअनुसार उत्पादन गर्न नसकेको हो । माग बढाउन सरकारी नीतिले पनि सहयोग गर्नु पर्दछ । रासायनिक मलमा अनुदान दिएर आयात गरिरहेको छ । तर यहाँ फोहर मैला व्यवस्थापनसँगै मल उत्पादन गर्न सकिन्छ । यसलाई त्यही अनुरुपको प्रोत्साहन भएन,’ केसीले भन्नुभयो। फोहरबाट बनेको मलबाट पनि उत्पादन राम्रो हुन्छ भन्ने देखाउन फूल खेती र अन्य खेती सुरु गरेको उहाँले बताउनुभयो।

चितवनमा तिहारमा खपत हुने सयपत्री फूलको खेती विस्तारै बढ्दै गएको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ । तिहारका बेला प्लास्टिकका माला प्रयोग रोक्ने र भारतीय सयपत्रीको आयातमा कडाइ गर्दै नेपाली किसानलाई प्रोत्साहित गर्ने नीति सरकारले लिनु पर्ने बसन्त रानाले बताउनुभयो। किसानले लाभ लिन सक्ने यस्ता खेतीमा स्वदेशमै उत्पादन हुने प्रांगारिक मल प्रयोग गर्ने परिपाटी बस्दै गए फोहर व्यवस्थापन पनि धेरै सहज हुने उहाँको भनाइ छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार