नेपालगन्जमा फोहोरबाट मोहर कमाउने योजना असफल

जोखिममा एडीबी र नगरविकास कोषको ऋण

  वास खबर सम्बाददाता  214 पटक हेरिएको

नेपालगन्ज : नेपालगन्जमा ‘फोहोरबाट मोहर आर्जन गर्ने’ लक्ष्यका साथ सञ्चालनमा आएको ल्याण्डफिल साइट अव्यवस्थित हुँदा फोहोरमैला व्यवस्थापन कार्य चुनौतीपूर्ण बनेको छ । फोहोर व्यवस्थापनको वैज्ञानिक विधि नअपनाउँदा फोहोरबाट मोहर आर्जन गर्नु त परको कुरा एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र लथालिंग हुने सम्भावना बढेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाले २०७६ सालमा नगरको फोहोर व्यवस्थापन गरी फोहोरबाट मोहर आर्जन गर्ने महत्त्वाकांक्षी योजनाका साथ नेपालगन्ज–२३ मा एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र ल्याण्डफिल साइट सञ्चालन गरेको थियो । उद्देश्य अनुसार सड्ने फोहोरबाट प्रांगारिक मल उत्पादन गरेर बिक्री गर्ने र नसड्ने प्लास्टिक, फलामलगायत सामान बेच्ने भनिए पनि फोहोरको प्रशोधन नहुँदा यो योजना सफल हुन सकेको छैन ।

ल्याण्डफिल्ड साइटमा फोहोर थुपार्न ४ वटा ठूला खाडल बनाइएका छन् । ३२ वर्षको योजना अनुसार एउटा खाल्डोले ८ वर्षसम्म सहरको फोहोर धान्न सक्ने अनुमान गरिएकोमा सबै खाले फोहोर एकै ठाउँमा फाल्दा ५ वर्षमा भरिएको छ । कुहिने र नकुहिने फोहोर नछुट्टयाएर यसरी एउटैमा फालिए डम्पिङ साइटका बाँकी तीन खाल्डा पनि समय अगावै भरिनेछन् ।

एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र ल्याण्डफिल साइटका साइट इन्चार्ज शिव लम्सालले छुट्टा–छुट्टै रुपमा फोहोरमैला व्यवस्थापन गर्न समस्या भएको बताउनुभयो। सुरुमा राम्रैसँग सञ्चालन भएपनि पछि समस्या भएको भन्दै कर्मचारी पनि कटौती भएपछि सबै फोहोर एकै ठाउँमा फाल्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । ‘यसले फोहोर व्यवस्थापन कार्यमा सोचेअनुसार काम गर्न सकिएको छैन’ उहाँले भन्नुभयो।

सुरुको एक वर्षसम्म कुहिने र नकुहिने फोहोर छुट्टयाउने कार्य गरिएपनि त्यसपछि उपमहानगरलाई आर्थिक भार पर्ने भन्दै कर्मचारी कटौती गरिएपछि सबैखाले फोहोर एकै ठाउँमा फाल्ने गरिएको छ । जसका कारण सञचालन नहुँदा हाल प्रशोधन केन्द्रका मेसिनसमेत बिग्रिएको नेपालगन्ज उपमहानगरपालिका वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो। ल्याण्डफिल साइटलाई पूर्णरुपमा सञ्चालन गर्नका लागि आवश्यक जनशक्ति थप गरी प्रशोधन कार्य प्रभावकारी हुनुपर्ने उहाँको भनाइ छ ।

यता नगरको फोहोर व्यवस्थापनका लागि नागरिकस्तरबाटै अभियान चलाउँदासमेत उपमहानगरपालिका गैरजिम्मेवार भएर पन्छिएको भन्दै त्यसको आलोचना हुने गरेको छ । सरसफाई अभियन्ता गोपाल गिरीले उपमहामनगरका प्रमुख जिम्मेवारीमा रहेका व्यक्तिले नै फोहोर व्यवस्थापनमा चासो नदिँदा शहर दुर्गन्धित हुँदै गएको बताउनुभयो। ‘नगरमा जताततै फोहोर छ, यसको व्यवस्थापनमा सघाउन नागरिकस्तरबाटै अभियान चलाएका थियौं’ उहाँले भन्नुभयो। ‘तर मेयर, उपमेयर र वातावरण इन्जिनियरले चासो नदिँदा उक्त कार्यसमेत लथालिंग भएको छ ।’

हाल ल्याण्डफिल साइटमा दैनिक २४ देखि ३० टन फोहोर संकलन हुँदै आएको छ । जसमध्ये मेसिन सञ्चालन नहुँदा मासिक ४० टनसम्म मात्रै फोहोर प्रशोधन हुने गरेको बताइएको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ। यसले फोहोरबाट मोहर कमाउने योजना असफल बनेको छ । सहरी विकास मन्त्रालयको १५ प्रतिशत, एसियाली विकास बैंकको ५५ प्रतिशत, नगर विकास कोषको १५ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकाको ५ प्रतिशत गरी ३८ करोड ९३ लाख ४२ हजार रुपैयाँको लागतमा ल्याण्डफिल साइट निर्माण भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार