नेपालमा ‘आधारभूत खानेपानी’को उपलब्धता ९५ प्रतिशत जनसङ्ख्यालाई पुगेको सरकारी तथ्याङ्क छ। युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त अनुगमन कार्यक्रम (Joint Monitoring Program, JMP) का अनुसार ‘सुरक्षित खानेपानी’को पहुँच १६ प्रतिशत नेपालीहरूलाई मात्र पुगेको देखिन्छ। नेपालका कतिपय स्थानमा खानेपानी आयोजनाहरू सम्पन्न भएको केही समयपछि नै रुग्ण हुँदै जाने प्रवृत्ति छ, जसले गर्दा नेपालमा हालसम्म निर्माण भएका खानेपानी आयोजनाहरू मध्ये २८ प्रतिशत मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ। यसबाहेक, नेपालको ८५ प्रतिशत घरायसी खानेपानीमा रोग निम्त्याउने जीवाणु ‘इकोली’ पाइएका छ। यस्तो अवस्थामा नेपालीहरूको पानी असुरक्षा अनुभूति के कस्तो रहेको छ भन्ने बारे केलाउनु सन्दर्भिक हुने देखिन्छ।
पानी बिना जीवजन्तुको कल्पनासम्म गर्न सकिँदैन। पानीको उपलब्धताले जीवनयापन संभव भएको हो । पानीको उपलब्धता नहुँदा वा नहुने सम्भावना वा आंकलन हुँदा पानीको असुरक्षा अनुभव हुन्छ। पानीको असुरक्षा अनुभव मापन गर्न ‘घरायसी पानी असुरक्षा अनुभव (Household Water Insecurity Experiences, HWISE) स्केल’ प्रतिपादन गरिएको छ। नर्थवेस्टर्न विश्वविद्यालय, अमेरिकाको एक अनुसन्धान समूहले यो स्केल प्रतिपादन गरेको हो। सार्वजनिक रूपमा उपलब्ध यो स्केल अनुदान सहयोगबाट विकास गरिएकोले यसलाई निःशुल्क प्रयोग गर्न पाइन्छ।
एचवाइज् स्केलको स्कोर शून्य देखि ३६ सम्म हुन्छ। घरपरिवारले दिएको जानकारी अनुसार उच्च अंक आएमा पानी असुरक्षा धेरै भएको संकेत गर्दछ। पानी असुरक्षा थाहा पाउन एउटा निश्चित विन्दु तय गरिएको छ। जस अनुसार १२ वा सो भन्दा माथि एचवाइज् स्केलको स्कोर भएकाहरूलाई पानीका सन्दर्भमा असुरक्षित घरपरिवार मानिन्छ। त्यसैगरी, १२ भन्दा कम स्कोर हुनेहरूलाई पानीका हिसाबले सुरक्षित घरपरिवारको रुपमा लिइने गरिन्छ।
एचवाइज् स्केलमा १२ वटा विधा अन्तर्गत पानी असुरक्षा अनुभवलाई मापन गर्ने गरिन्छ। मानिसको दैनिक जनजीविकासँग सम्बन्धित ती विधाहरूमा चिन्ता, अवरोध, लत्ता कपडा, योजना, खाना, हात, शरीर, पिउनु, रिस, निद्रा, अपर्याप्तता र लाजसँग सम्बन्धित असुरक्षा अनुभवहरू रहेका छन्। प्रत्येक विधा अन्तर्गत पछिल्लो चार हप्तामा घरपरिवारका जो कोहीले भोगेका अनुभवलाई समेट्ने गरिन्छ। घरपरिवारको असुरक्षा अनुभवको मापन पाँच तहमा गरिन्छ। ती तहहरूमा कहिल्यै छैन (० पटक), बिरलै (१-२ पटक), कहिलेकाहीँ (३-१० पटक), प्रायः (११-२० पटक) र सधैं (२० पटक भन्दा बढी) पर्दछन्।
यसै क्रममा, घरायसी पानी असुरक्षा अनुभव सम्बन्धी गरिएको एक सर्वेक्षणबाट पाप्त तथ्यांकलाई केलाउँदा केही रोचक निष्कर्षहरु प्राप्त भएका छन्। यो सर्वेक्षण सिन्धुली, काभ्रे, चितवन, बागलुङ र म्याग्दी जिल्लाहरुको ग्रामीण क्षेत्रका पाँच सय आठ घरपरिवारहरुलाई समेटेर गरिएको हो।
चिन्ता (Worry): पछिल्ला चार हप्तामा, पाँच सय आठ घरपरिवारहरु मध्ये ८३ प्रतिशत घरपरिवारका उत्तरदाताहरुले घरायसी आवश्यकताहरूका लागि पर्याप्त पानी नहोला भनेर ‘कहिल्यै चिन्ता नगरेको’ वा ‘बिरलै’ चिन्ता गरेको देखिन्छ। त्यसैगरी घरायसी आवश्यकताहरूमा लत्ता कपडा धुने, आफैं वा बालबच्चाहरूलाई नुहाउने, जनावरहरूलाई पानी खुवाउने लगायतका लागि १० प्रतिशत घरपरिवारले ‘कहिलेकाहीँ’ चिन्ता गर्ने गरेको देखिन्छ। जबकी सात प्रतिशत घरपरिवारले ‘प्रायः वा सधैं’ चिन्ता गर्ने गरेको पाइएको छ।
अवरोध (Interrupt): पछिल्ला चार हप्तामा, पानीको मुख्य स्रोत अवरूद्ध भएको वा कम पानी आएको अनुभव ८४ प्रतिशत घरपरिवारलाई ‘कहिल्यै नरहेको’ वा ‘बिरलै’ रहेको छ। पानीको स्रोत अवरूद्ध हुनु भनेको पानीको चाप कम हुनु, सोचेभन्दा कम पानी आउनु, मुहान वा खोला सुक्खा हुनु आदि हो । यसमा नौ प्रतिशत घरपरिवारले ‘कहिलेकाहीँ’ अनुभव गरेका छन्। यसैगरी, सात प्रतिशत घरपरिवारले ‘प्रायः वा सधैं’जसो यस्तो अवरोध अनुभव गरेको देखिन्छ। यस्तो अवरोध प्राविधिक वा व्यवास्थापकीय कारणले हुन सक्छ। पानी आपूर्तिकर्ताले नै पनि कुनै कारणले खानेपानी आपूर्ति बन्द गरेको हुनसक्छ। खडेरी वा सुख्खाले गर्दा भण्डारण ट्याङ्कीमा पानी उपलब्ध नभएर अवरूद्ध हुन सक्छ।
लत्ता कपडा (Clothes): पछिल्ला चार हप्तामा लत्ता कपडा धुन पानी उपलब्ध रहेको ९० प्रतिशत घरपरिवारको भोगाइ रहेकोछ अर्थात् ‘कहिल्यै नगरेको’ वा ‘बिरलै’ अभाव अनुभव गरेका छन् । लुगा धुने पानी घर भित्र वा बाहिर उपलब्ध नभएको अवस्था पाँच प्रतिशत घरपरिवारले ‘कहिलेकाहीँ’ अनुभव गरेका छन्। जबकी बाँकी पाँच प्रतिशत घरपरिवारले ‘प्रायः वा सधैं’ जसो लुगा धुने पानीको अभाव भोगेको जानकारी दिएका छन्।
योजना (Plans): पछिल्ला चार हप्तामा, सर्वेक्षणमा समेटिएका घरपरिवारहरु मध्ये ९० प्रतिशतले पानीको समस्याको कारणले समयतालिका वा योजनाहरू परिवर्तन गर्नु ‘कहिल्यै नपरेको’ वा ‘बिरलै’ गर्नु परेको थियो। यस अन्तर्गत अवरोध हुन सक्ने गतिविधिहरूमा अरूको हेरचाह, घरायसी कामहरू, कृषि कार्य, आय-आर्जन गर्ने गतिविधिहरू, सुत्ने आदि छ प्रतिशत घरपरिवारले ‘कहिलेकाहीँ’ परिवर्तन गर्नु परेको देखिन्छ। त्यसैगरी, चार प्रतिशत घरपरिवारले ‘प्रायः वा सधैं’ आफ्नो योजनाहरु परिवर्तन गर्ने परेको देखिन्छ। यस अन्तर्गत भेटघाटको योजना परिवर्तन गर्नु परेको हुन सक्छ। पानी संकलन गर्न राती राती पानीको मुहानसम्म धाउनु पर्ने पनि हुन सक्छ।
खाना (Food): पछिल्ला चार हप्तामा, पानीको समस्याले खानेकुरा धोईपखाली गर्न तथा पकाउने आदिको कारणले गर्दा ९२ प्रतिशत घरपरिवारहरुले खानेकुरा परिवर्तन ‘कहिल्यै गर्नु नपरेको’ वा ‘बिरलै’ गर्नु परेको देखिन्छ। जस्तो कि, सागपात उपलब्ध भए पनि त्यसलाई राम्ररी धोईपखाली गर्ने पानी नहुँदा त्यसको साटो आलुको तरकारीले काम चलाउनु पर्यो। यसमा खाना पकाउन वा खाना बनाउन प्रयोग हुने पानीलाई मात्र बुझाउँछ। यस अन्तर्गत घरपरिवारले खानेकुरा नै परिवर्तन गरेको हुन सक्छ किनभने त्यहाँ मनपर्ने खानेकुरा, सागसब्जी आदि धोईपखाली गर्न, तयार पार्न वा पकाउन पर्याप्त पानी नभएको अवस्था हुनसक्छ। त्यसैगरी चार प्रतिशतले ‘कहिलेकाहीँ’ पानीको समस्याले खानेकुरा परिवर्तन गर्नु परेको देखिन्छ। जबकी बाँकी करीब चार प्रतिशतले ‘प्रायः वा सधैं’ पानीको समस्याले गर्दा खानेकुरा परिवर्तन गर्नु परेको अवस्था रहेको छ।
हात (Hands): पछिल्ला चार हप्तामा, पानीको समस्याका कारण ९२ घरपरिवारहरुले फोहोर गतिविधिहरू (जस्तै, शौच गर्ने (दिसा पिसाब) वा डायपर फेर्न, वस्तुभाउको गोबर सफा गर्ने) पछि हात नधोइकन ‘कहिल्यै जानु नपरेको’ वा ‘बिरलै’ जानु परेको देखिन्छ। कहिलेकाहीँ फोहोर/अस्वच्छ गतिविधिहरू जस्तै डायपर बदल्नु, शौचालय प्रयोग गर्नु, भित्ता वा भुइँमा माटो पोत्नु वा गोबर धुनु पर्ने हुन सक्छ। जनावरहरूको हेरचाह गरेपछि आफ्नो हात धुन पर्याप्त पानी नहुन सक्छ। त्यसैगरी चार प्रतिशतले ‘कहिलेकाहीँ’ हात धुन पर्याप्त पानी नभएको अवस्था रहेको देखिन्छ। जबकी बाँकी चार प्रतिशतले ‘प्रायः वा सधैं’ हात धुन पर्याप्त पानी उपलब्ध नरहेको देखिन्छ।
शरीर (Body): पछिल्ला चार हप्तामा, पानीको समस्या (जस्तै, पर्याप्त पानी नभएको, फोहोर, असुरक्षित) को कारणले गर्दा ९३ प्रतिशत घरपरिवारले नुहाईधुवाई नगरी काममा ‘कहिल्यै जानु नपरेको’ वा ‘बिरलै’ जानु परेको देखिन्छ। त्यसैगरी चार प्रतिशत घरपरिवारले ‘कहिलेकाहीँ’ नुहाईधुवाई नगरी काममा जानुपरेको अवस्था रहेको छ। यस अन्तर्गत नुहाउनका लागि पर्याप्त पानी नभएको कारण घरमा जो कोहीले नुहाउन नसक्नेलाई जनाउँछ। कहिलेकाहीँ घरका सदस्यहरूलाई नुहाउन आवश्यक छ, तर त्यसो गर्न पर्याप्त सफा पानी छैन वा परिवारका केही सदस्यहरूलाई नुहाउन पर्याप्त पानी हुन सक्छ, तर अरूलाई छैन। यसको अतिरिक्त तीन प्रतिशत घरपरिवारले ‘प्रायः वा सधैं’ पानीको अभावले नुहाईधुवाई नगरी काममा जानुपरेको अवस्था रहेको देखिन्छ।
पिउनु (Drink): पछिल्ला चार हप्तामा ९२ प्रतिशत परिवारका सदस्यहरुले पर्याप्त पिउने पानीको अभाव ‘कहिल्यै नपरेको’ वा ‘बिरलै’ झेल्नु परेको देखिन्छ। त्यसैगरी, चार प्रतिशत परिवारहरुले ‘कहिलेकाहीँ’ पर्याप्त पिउने पानीको अभाव व्यहोर्नु परेको देखिन्छ। जबकी बाँकी चार प्रतिशत घरपरिवारले ‘प्रायः वा सधैं’ पर्याप्त पिउने पानीको अभाव झेल्नु परेको देखिन्छ। कतिपय ठाउँहरूमा सबैले आफूले चाहे जति पिउने पानी सधैं उपलब्ध हुँदैन वा त्यहाँ केही मानिसहरूका लागि पिउने पानी हुन सक्छ तर अरूलाई उपलब्ध हुँदैन।
रिस (Angry): पछिल्ला चार हप्तामा, ८२ प्रतिशत घरपरिवारको सदस्यहरुलाई पानीको पर्याप्त उपलब्धता नभएको कारणले रिस ‘कहिल्यै नउठेको’ वा ‘बिरलै’ उठेको देखिन्छ। यस अन्तर्गत पानीको कारणले महसुस गरेको रिस, झर्कोपन वा अन्य नकारात्मक भावनाहरूलाई जनाउँछ। पर्याप्त पानी नहुनु, आफूलाई चाहिए जस्तो पानी पर्याप्त नहुनु, पानीको गुणस्तरको बारेमा चिन्तित हुनु, जीवन र तालिकालाई असर गर्ने पानीको समस्या र यससँग सम्बन्धित अन्य समस्याहरूले तपाईंलाई रिस उठाउन सक्छ। त्यसैगरी नौ प्रतिशतले ‘कहिलेकाहीँ’ पर्याप्त पानीको अभावले रिस उठ्ने अवस्था रहेको देखिन्छ। जबकी बाँकी नौ प्रतिशतले ‘प्रायः वा सधैं’ पर्याप्त पानी उपलब्ध नरहेकोले रिस उठ्ने गरेको देखिन्छ।
निद्रा (Sleep): पछिल्ला चार हप्तामा, पिउनको लागि पानी नभएको कारण ९५ प्रतिशत घरपरिवारका कोही पनि तिर्खाएरै सुत्नु ‘कहिल्यै नपरेको’ वा ‘बिरलै’ परेको देखिन्छ। घरका अन्य सदस्यहरूका लागि बचत गरिरहेकोले पानी नपिईकन सुत्ने गरेका छन् वा उपलब्ध पानी पिउनका लागि उपयुक्त छैन। त्यसैगरी दुइ प्रतिशतले ‘कहिलेकाहीँ’ पर्याप्त पानीको अभावले तिर्खाएरै सुत्नु परेको अवस्था रहेको देखिन्छ। जबकी बाँकी तीन प्रतिशतले ‘प्रायः वा सधैं’ पर्याप्त पानी उपलब्ध नरहेकोले तिर्खाएरै सुत्नु परेको देखिन्छ।
अपर्याप्तता (None): पछिल्ला चार हप्तामा, ८८ प्रतिशत घरपरिवारलाई प्रयोगयोग्य वा पिउन योग्य पानी नआएको/नभएको अवस्था ‘कहिल्यै नरहेको’ वा ‘बिरलै’ रहेको देखिन्छ। त्यसैगरी छ प्रतिशत घरपरिवारले ‘कहिलेकाहीँ’ पर्याप्त पानीको अभाव रहेको बताउने गरेका छन्। जबकी बाँकी छ प्रतिशत घरपरिवारले ‘प्रायः वा सधैं’ पर्याप्त पानी उपलब्ध नरहेको उल्लेख गर्ने गरेको देखिन्छ। घरमा पानी उपलब्ध नरहेको भन्नाले घरायसी काम वा पिउनका लागि प्रयोग गर्न पर्याप्त पानी नहुनु हो। उदाहरणका लागि, केही स्थानहरूमा मानिसहरूसँग पर्याप्त पानी भण्डार गर्ने भाँडाकुँडा वा ठाउँ उपलब्ध छैन वा तत्काल र पछिका आवश्यकताहरूका लागि भण्डारण गर्न पर्याप्त पानी प्राप्त गर्न असमर्थ छन्। अन्य ठाउँहरूमा, पानी घरमा बढी हुन सक्छ तर घरमा उपलब्ध कुनै पनि पानी पिउन, लत्ता कपडा धुन, खाना पकाउन वा अन्य गतिविधिहरूमा उपयोग गर्न लायक नहुन सक्छ।
लाज (Shame): पछिल्ला चार हप्तामा, ८६ प्रतिशत घरपरिवारले पानीको समस्याले घरपरिवारका कसैलाई लज्जित/अफ्ट्यारो महसुस ‘कहिल्यै नगरेको’ वा ‘बिरलै’ गर्नुपरेको छ। घरमा आएका पाहुनाहरूलाई पर्याप्त पानी उपलब्ध गराउन नसक्दा वा कसैले पानी माग्दा दिन नसक्दा लज्जित महसुस गर्नु पर्ने हुन्छ। त्यसैगरी सात प्रतिशतले ‘कहिलेकाहीँ’ पर्याप्त पानीको अभावले लज्जित हुनु परेको अवस्था रहेको देखिन्छ। जबकी बाँकी सात प्रतिशतले ‘प्रायः वा सधैं’ पर्याप्त पानी उपलब्ध नरहेकोले लज्जित/अफ्ट्यारो महसुस गर्नु परेको देखिन्छ।
समग्रमा सर्वेक्षणमा समेटिएका घरपरिवारहरु मध्ये ८९ प्रतिशतले पानी असुरक्षा अनुभूति ‘कहिल्यै नगरेको’ वा ‘बिरलै’ गर्ने गरेको सर्वेक्षणको नतिजाले देखाउँछ। त्यसैगरी, ६ प्रतिशत घरपरिवारले ‘कहिलेकाहीँ’ मात्र पानी असुरक्षा अनुभूति गर्ने गरेको देखिन्छ। जबकी ५ प्रतिशत घरपरिवारले ‘प्रायः वा सधैं’ पानी असुरक्षा अनुभूति गर्ने गरेको देखिन्छ।
सर्वेक्षणको नतिजा अनुसार अधिकांश नेपालीले पानी असुरक्षा अनुभव नगरेको देखिन्छ। अधिकांश नेपालीलाई ‘आधारभूत खानेपानी’को उपलब्धता भएको जस्तै ‘अधिकांश नेपालीले पानी असुरक्षा अनुभव नगरेको’ देखिन्छ। पानी सुरक्षा अनुभव ‘आधारभूत खानेपानी’को उपलब्धता रहेको जनसङ्ख्याकै हाराहारी हुनुले ग्रामीण नेपालीहरुको लागि पानीको उपलब्धता हुनुलाई नै पानीको सुरक्षित अनुभवको रुपमा लिएको अनुमान गर्न सकिन्छ। घण्टौं लगाएर पानी बोक्नु पर्ने दैनिकीबाट मुक्ति पाएर घरआँगन नजिक पानी उपलब्ध हुँदा जीवनयापन सहज भएकोले त्यस्तो अनुभव गरेको हुनुपर्छ।
‘सुरक्षित खानेपानी’को पहुँच १६ प्रतिशतलाई मात्र हुनु, २८ प्रतिशत खानेपानी आयोजनाहरू मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको र ८५ प्रतिशत घरायसी खानेपानीमा ‘इकोली’ रहेको अवस्था हुँदा समेत अधिकांश नेपालीहरूले पानी असुरक्षा अनुभूति नगरेको सन्दर्भले केही गम्भीर प्रश्नहरु उब्जिएका छन्। के ग्रामीण भेगमा बसोबास गर्ने नेपालीहरुको लागि ‘आधारभूत खानेपानी’को उपलब्धता हुनु मात्र पर्याप्त हो? के ‘इकोली’ रहित ‘सुरक्षित खानेपानी’ ग्रामीण नेपालीहरुको लागि छलफल र सपनाको विषय मात्र हो? सचेतनाको अभावले गर्दा थोरै प्राप्तिमा पनि खुशी भइरहन सक्ने आम जनसमुदायको बानी हामीलाई क्षणिक रुपमा त सामान्य, अझ सकारात्मक लाग्न सक्ला, तर दीर्घकालीन रुपमा हेर्दा यो प्रवृत्ति मानिसलाई अग्रगामी र प्रगतिशील बन्ने मार्गको बाधक हो भन्ने कुरा पनि त्यत्तिकै विचारणीय छ। यी र यस्ता यक्ष प्रश्नहरुको उत्तर खोज्नु पर्ने देखिन्छ।