गोर्खा वेल्फेयरको पोल्टामा सधैं ‘ए प्लस’, अन्तर्राष्ट्रिय स्तरमा समेत नम्बर वान

  वास खबर सम्बाददाता  362 पटक हेरिएको


काठमाडौ : गोर्खा वेल्फेयर ट्रष्ट नेपालले सन् २०२१ बाट उत्थानशील खानेपानी, सरसफाइ तथा विपद पूर्व तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । ट्रष्टले त्यस अघि सन् २०१२ देखि सन् २०२१ सम्म ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो । बेलायती दुतावासले आफ्ना साझेदार संस्थाहरुको मूल्याङ्कन गर्दा ट्रष्टले बर्षेनी ‘ए प्लस’ अर्थात सर्वोत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

गोर्खा वेल्फेयर ट्रष्टका कार्यक्रम निर्देशक दिपक कुमार श्रेष्ठका अनुसार ९ बर्ष सञ्चालन भएको ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम सात वटा ‘ए प्लस’ र दुई वटा ‘ए’ ग्रेड गरी समग्रमा ‘ए प्लस‘ ग्रेडमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेको थियो।

अघिल्लो कार्यक्रममा मात्र होइन, हाल सञ्चालित उत्थानशील खानेपानी, सरसफाइ तथा विपद पूर्व तयारी कार्यक्रमको नतिजा पनि उस्तै छ । यो कार्यक्रम सञ्चालन भए पछि दुई आर्थिक बर्षको समीक्षा भैसकेको छ । ती दुवै आर्थिक बर्षमा पनि गोर्खा वेल्फेयर ट्रष्टले ‘ए प्लस’ नै नतिजा निकाल्न सफल भएको छ ।

‘ए प्लस’ ग्रेडिङको अर्थ के हो ?

बेलायती दुतावासले आफ्ना हरेक कार्यक्रमहरुको समय- समयमा अनुगमन गरिरहन्छ । दुताबासको मुख्य अनुगमन भनेको बार्षिक समीक्षा हो । बार्षिक मूल्याङ्कन गर्न बेलायती दुतावास काठमाडौका विज्ञहरु र भारत तथा मलेसियाबाट समेत विज्ञ परामर्शदाताहरु सम्मिलित टोली हुन्छ । टोलीले अनुमगन गर्ने क्रममा ट्रष्टका कर्मचारीहरुसँग सोधपुछ गर्ने त छँदैछ, सम्बन्धित स्थलमै पुगेर योजनाको अनुगमन गरी खानेपानी उपभोक्ता समिति र ग्रामीण समुदाय सँग पनि अन्तरक्रिया गर्छ ।

यस्तै स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग पनि कार्यक्रमको प्रभावकारिता बारे छलफल गरिन्छ । यसरी विभिन्न विधिहरुको प्रयोग गरी सबै सरोकारवालासम्म पुगेर कार्यक्रमको समीक्षा गरिन्छ ।


यसरी स्वतन्त्र अनुगमन टोलीले समीक्षा गरेपछि मात्र स्कोर निर्धारण गरिन्छ । जसबाट गोेर्खा वेल्फेयर ट्रष्टले हरेक बर्ष ‘ए प्लस’ नतिजा प्राप्त गर्दै आएको छ। ‘ए प्लस’ नतिजाले के देखाउँछ त ? ट्रष्टका कार्यक्रम निर्देशक श्रेष्ठ भन्नुहुन्छ ‘ गोर्खा वेल्फेयर ट्रष्टले बनाएका खानेपानी योजनाहरु एकदम दिगोपनछ, यसमा पारदर्शिता छ र चौबीसै घण्टा आउँछ भन्ने प्रमाणित गर्छ ।’

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

अन्तर्राष्ट्रिय स्तरमा पनि नम्बर वान

ट्रष्टले बनाएका खानेपानी तथा सरसफाइ संरचनाहरु अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट ठहर भएको छ। कार्यक्रम निर्देशक श्रेष्ठका अनुसार सन् २०२२ को अक्टोबरमा युके एडले खानेपानी र सरसफाइको प्रभाव सम्बन्धी मूल्याङ्कनमा दुईवटा महादेश (एसिया र अफ्रिका) का सात वटा देश र १० वटा प्रोग्रामलाई छनौट गरिएको थियो । नेपालमा भने गोर्खा वेल्फेयर ट्रष्ट (GWTN) ले निर्माण गरेको खानेपानी आयोजना छनौट गरेको थियो ।


विश्वव्यापी मूल्याङकन्मा समेत खानेपानीको दिगोपना र सरसफाइको प्रभावको हिसाबले जिडब्लुटी नेपालको कार्यक्रम उत्कृष्ट र प्रथम भएको थियो । जिडब्लुटीले नेपालको तर्फबाट ९२ प्रतिशत अंक प्राप्त गरेको थियो भने दोस्रोमा अफ्रिकाबाट मलाभी भन्ने देशले ५६ प्रतिशत अंक ल्याएको थियो ।

कार्यक्रम निर्देशक श्रेष्ठ भन्नुहुन्छ ‘प्रथम र दोस्रो हुने देशको अंकको फरक जुन छ, त्यो एकदमै फराकिलो अन्तर छ । यसले गर्दा जिडब्लुटीले बनाएका प्रोजेक्टहरु नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय फोरममा बहुक्षेत्रीय विकास साझेदारहरु बीच तुलना गर्दा पनि ठूलो अंकभार प्राप्त गरेर सफल भएको प्रमाणित भएको छ।’

भूकम्प प्रतिरोधी संरचना

सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि बेलायती दुतावास काठमाडौले खानेपानीको संरचनामा पारेको असरबारे एक अध्ययन गरेको थियो। दुतावासले ग्रामीण भेगसम्म पुगेर गरेको उक्त अध्ययनले गोर्खा वेल्फेयर ट्रष्ट नेपालले निर्माण गरेका खानेपानी योजनाहरु अन्यको तुलनामा बढी भूकम्प प्रतिरोधी र जलवायु उत्थानशील रहेको निष्कर्ष निकालेको थियो।


उक्त अध्ययन प्रतिवेदनमा अन्य एनजिओ र आईएनजिओहरुले बनाएको खानेपानीका ५० प्रतिशत संरचनाहरुमा ठूलो क्षति पुगे पनि गोर्खा वेल्फेयर ट्रष्ट नेपालले बनाएको पाँच प्रतिशत खानेपानी योजनाहरुमा मात्र क्षति भएको र त्यो पनि एकदम सामान्य क्षति भएको औल्याएको थियो ।

गोर्खा वेल्फेयर ट्रष्टद्वारा निर्मित खानेपानी तथा सरसफाइ योजनाले ग्रामीण समुदायको जीवनस्तरमा ठूलो परिवर्तन ल्याएको अध्ययनहरुले देखाएको छ ।

गोर्खा वेल्फेयर ट्रष्ट वेलायतमा स्थापना भएको कल्याणकारी संस्था हो । ट्रष्टले नेपालमा खानेपानी योजना निर्माण गर्न थालेको झण्डै ५० बर्ष पुग्नै लागेको छ । यस अवधिमा ट्रष्टले देशका ५१ जिल्लामा २ हजार ४ सय भन्दा बढी खानेपानी योजनाहरु निर्माण गरिसकेको छ । हालसम्म निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये कुनै पनि आयोजना कामै नलाग्ने गरी बन्द भएको अवस्था नरहेको तेस्रो पक्षको अध्ययनबाट समेत देखिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार