आज विश्व शौचालय दिवस, “Toilets – A Place for Peace” भन्ने नाराका साथ मनाईदै

  वास खबर सम्बाददाता  322 पटक हेरिएको


काठमाडौ : आज विश्व शौचालय दिवस,  “Toilets – A Place for Peace” भन्ने नाराका साथ संसारभर मनाईदैछ। नेपालमा भने ‘सुरक्षित सरसफाइ व्यवस्थापनको लागि समन्वय र साझेदारी’ (Coordination and Partnership for Safely Managed Sanitation) भन्ने नारा दिईएको छ।

सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि हरेक वर्ष नोभेम्बर १९ तारिखलाई विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो ।

शौचालय र यसको महत्व सबै सामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ । नेपाललाई १३ असोज २०७६ मा खुला दिसामुक्त देश घोषणा गरिए पनि अझै ४.५ प्रतिशत जनसंख्यासँग शौचालयको अभाव छ । सबै जनसंख्यामा शौचालयको पहुँच पुर्‍याई फोहोरपानी र दिसाजन्य लेदो प्रशोधन गरी व्यवस्थापन गर्न सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरु बताउँछन् ।

संयुक्त राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिसहरु अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस अझै पनि खुलास्थानमा दिसा।पिसाब गर्दछन् । खुला दिसा र पिसाबका कारण फैलने रोगले विश्वमा दैनिक १ हजार बालबालिकाको ज्यान जाने गरेको छ । यसले प्रकृति, महिला, केटी र अन्य संकटापन्न समूहको स्वास्थ्यमा जोखिम बढाएको छ ।

सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ६ बर्षमात्र बाँकी छ । यो लक्ष्य हासिल गर्न अहिले गरिरहेको कामको गति बढाउनुपर्ने र सरसफाइ क्षेत्रमा लगानी बढाउनुपर्ने अभियन्ताहरु बताउँछन् ।

डब्लु.एच.ओ. र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (JMP) को प्रतिवेदन अनुसार सन् २०१५ देखि २०२२ को बीचमा आधारभूत सरसफाइमा उल्लेख्य प्रगति हासिल गर्ने विश्वका देशहरुमा नेपाल दोस्रो र दक्षिण एसियामा पहिलो राष्ट्र बनेको छ । विश्वका २५ वटा देशहरुमा सरसफाइको प्रगति बढ्नुको साटो घटिरहेका बेला नेपालले भने ७ बर्षको अवधिमा २२ प्रतिशत बढाएर विश्वको दोस्रो देश बन्न सफल भएको हो । नेपाल भन्दा अगाडि अर्थात पहिलो स्थानमा कम्बोडिया रहेको छ ।

प्रतिवेदन अनुसार भारत नेपाल भन्दा एक अंक तल छ । भारतले यो अवधिमा सरसफाइ तर्फ २१ प्रतिशत कभरेज बढाएको छ । सन् २०१५ देखि २०२२ को बीचमा ४९ देशहरूले कम्तीमा ५ प्रतिशतले आधारभूत सरसफाइको प्रगति बढाएको जेएमपी रिपोर्टमा उल्लेख छ ।

यत्ति हुँदाहुँदै नेपालले सरसफाइको क्षेत्रमा अझ धेरै कार्य गर्न बाँकी रहेको सरसफाइ विज्ञहरु बताउँछन् । नेपालले आधारभूत सरसफाइमा तीब्र गतिमा प्रगति हासिल गरेपनि सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइमा भने नेपालको प्रगति एकदम कमजोर रहेको विज्ञहरु बताउँछन् । आगामी दिनमा विभिन्न कारणले शौचालयको सुविधा नपुगेको जनसंख्यामा शौचालय निर्माण गर्ने र शौचालयको सेप्टिक ट्याङ्की भरिएपछि सुरक्षित तरिकाले खाली गरी ढुवानी एवं प्रशोधन गरी पुनः प्रयोग वा सुरक्षित व्यवस्थापन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

नेपालमा करिब ११ प्रतिशत जनसंख्याको शौचालय ढल प्रणालीमा जडान गरिएको सरकारी तथ्याङ्क छ । ती मध्ये करिब ३ प्रतिशत जनसंख्यामा मात्र प्रशोधन सहितको ढल प्रणालीमा समेटिएको छ । बाँकी ८९ प्रतिशत जनसंख्याको शौचालय स्थलगत रुपमा व्यवस्थापन गरिदै आएको छ । यस बर्षको नाराले समेत यस कुरालाई जोड दिएको र नेपालको सरसफाईको गन्तव्य त्यतैतर्फ उन्मुख रहेको विज्ञहरु बताउँछन् ।

विश्व शौचालय दिवसको अवसरमा सोसाईटी फर पब्लिक हेल्थ अर्गानाईजेसन (सोफेन), वाटर एड नेपाल, खानेपानी मन्त्रालय, खानेपानी मन्त्रालय र WHH लगायत संघसंस्थाले विविध कार्यक्रमको आयोजना गरी विश्व शौचालय दिवस मनाउने भएका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार