व्यवस्थित र समावेशी चर्पी : मानव स्वास्थ्य र वातावरणको समृद्धि

  आनन्द गौतम  263 पटक हेरिएको

आनन्द गौतम

एक जना आफन्त दिदी लामो दुरीको यात्रा गर्नु भन्दा एक दिन अगाडि देखि पानी र खाना खान छोड्नु हुन्थ्यो । मैले धेरै पटक यो किन गरेको भन्दा उहाँले मुन्टो मात्र हल्लाउनुहुन्थ्यो । सानोमा मरो जिज्ञासाको उत्तर पाउन सकिन । पछि खानेपानी तथा सरसफाइ सम्वन्धी काम गर्ने शिलशिलामा महिलाहरुसँग कुरा गर्ने मौका मिल्यो उहाँहरुको समस्या पनि मेरो आफन्त दीदिको जस्तो नै थियो ।

उहाँहरुले लामो दुरीको यात्रामा दिशा र पिसाव आयो भने चर्पी नपाईने डर र पुरुष जस्तो खुला रुपमा शौच गर्न लाज लाग्ने कारण अघिल्लो दिन देखि पानी र खाना नखाएको भन्नुुहुन्थ्यो । सामान्य चर्पीको अभावमा यात्रा गर्न वन्द गर्नुपर्ने, यात्रा अगाडि गर्ने दिन भन्दा अघिल्लो दिनदेखि पानी र खाना खान छोड्नुपर्ने अवस्था आउनुले चर्पीको अभावले गर्दा कति धेरै महिला दिदी वहिनीहरुले चाहादा चाहादै पनि यात्रा वन्द गर्नुभयो होला भने यात्रा गरिहाल्नु परे कति वढि मानसिक तनाव भएहोला ।

मानव, घरपरिवार, समुदाय, र राष्ट्रको पहिचाननै त्यहाँ हुने सरसफाइको अवस्थाले मापन गर्न थालिएको छ । जसको कारण सरसफाइलाइ समाजको ऐना पनि भन्ने चलन छ । यही सरसफाइको पहिलो कडिको रुपमा चर्पीको उपलब्धता र यसको अवस्थाले जनाउने गरेको छ । नेपालमा सन् १९८० सम्म चर्पीको वारेमा त्यती वढि चर्चा हुदैन थियो । सन् १९८० देखि १९९० को दशकलाई अन्तराष्ट्रिय खानेपानी तथा सरसफाइको शताब्दीको रुपमा मनाईयो जसबाट नेपालमा घर घरमा चर्पी निर्माणको अभियान संचालन भयो ।

यो अभियान अन्तर्गत सन् १९९० आउदा छ प्रतिशत जनसंख्यालाई शौचालयको पहुँच थियो भने सन् २००९ सम्म आईपुग्दा ४३ प्रतिशत जनसंख्यालाई मात्र चर्पीको पहुँच थियो । सन् २००६ सम्म पनि नेपालमा ५ वर्ष भन्दा मूनिका वर्षमा १२ हजार ७ सय वालवालिकाको खानेपानी र सरसफाइ जन्य रोगको कारण मृत्यु हुन्थ्यो भने व्यवस्थीत खानेपानी र सरसफाइको अभावको कारणप्रतिवर्ष नेपाल सरकारले १० अरव क्षति भोग्नु परेको अनुमान गरिन्थ्यो । सन् २०१० मा नेपाल सरकारको अगुवाईमा सरसफाइ गुरुयोजना निर्माण भयो । जसको फलस्वरुप नेपालमा चर्पी निर्माणको क्रममलाई तिव्रता सगै सन् २०१९ मा नेपालले खुला दिसा मुक्त राष्ट्रनै घोषणा गर्न सफल भयो ।

सरकारलाई मात्र मुख ताक्नुभन्दा पनि सरकारको नेतृत्वमा गैह्र सरकारी संस्था, निजी, आम जनताको सहभागितामा चर्पी निर्माणको अभियानलाई अगाडि वढाउनुपर्ने देखिन्छ ।

जनगणना २०७८ अनुसार नेपालमा ९५.५ प्रतिशत घरधुरीमा चर्पी भएको र ४.५ प्रतिशत भनौ ३ लाख भन्दा वढि घरपरिवारहरु अलिहेपनि खुला रुपमा शौच गर्ने देखिन्छन् । खुला दिसा मुक्त क्षेत्र घोषणा सम्म जस्तो भएपनि जसरी भएपनि एक घर एक चर्पी भन्ने अभियान चलाईयो । तर त्यो अवधिमा आम सर्वसाधरणलाई चर्पीको अवस्था, यसको मर्मत सम्भार, स्वीकार्यता र यसको मानव र वातावरण स्वास्थ्यसँगको अन्तरसम्वन्धको वारेमा जुन तहमा पैरवी र जनचेतना जगाउनुपर्ने थियो त्यो नभएको देखियो । जसको पुष्टि अलिहे पनि नेपालमा करिवन १४ लाख नेपालीहरुले खुला रुपमा शौच गर्ने र दिशाजन्य लेदो सिधै खोला, खोल्सा र नदीमा विर्सजन गर्नुले पुष्टि गर्दछ ।

यद्यपी सन् २०१० देखि २०१९ को अवधिमा खुला रुपमा शौच गर्ने अधिकाँश नेपालीहरुलाई घर घरमा चर्पी निर्माण किन गर्नुपर्दछ भन्ने विषयमा सरसफाइमा लाग्ने अभियान्ता र राजनैतिक दलले ठुलै कसर गर्नुभयो । एक घर एक चर्पीमा ध्यान केन्द्रित हुदा सार्वजनिक स्थलमा, संस्थागत, निजी सेवा प्रदायकहरुले शौचालय कस्तो वनाउने भन्ने वहस हुन सकेन । खुला दिसा मुक्त चरण पश्चात पूर्ण सरसफाइका गतिविधिहरु तत्काल शुरु गर्ने भनिए पनि पूर्ण सरसफाइका गविविधिहरु राम्रोसँग सञ्चालन हुन सकेनन् ।

विदेशमा यात्रा गर्दा र नेपालमा ठूला ठूला होटेलमा भ्रमण गर्दा चर्पीको वनोवटले मन आर्कषित गर्दछ । शौच गर्ने स्थानलाई रेष्ट रुम भनिएको छ । एक स्वस्थ मानिस पनि दिनमा पटक पटक शौच गर्न जानु पर्ने हुन्छ । अझ दिशा गर्न समय लगाउनेहरुले शौचको वेलामा पुस्तक, पत्रपत्रिका पढ्ने, शौच कक्षमा रहेको ऐना हेरेर वोल्ने कलाको विकास गर्ने जस्ता गतिविधिहरु गरेको पनि पाईयो । भारतको प्रसिद्ध नायक शारुख खानले एक कार्यक्रमा उनको पनि विहान शौच गर्ने वेलामा पुस्तक पढ्ने वानी भएको वताएका थिए ।

नेपालमा सार्वजनिक र निजी चर्पीका कस्तो कहाँ हुने भनेर वहसहरु सृजना गर्न थालेको पनि दशकौ भईसकेको छ । घरयासी रुपमा वनाउने चर्पीहरु दिशाजन्य लेदोले अरुलाई असर नगर्ने गरेर जसरी वनाउदा पनि छुट होला । तर संस्थागत, सरकारी वा निजी सेवा प्रदायकहरु, र व्यवसायीक स्थानहरु जहाँ सर्वसाधारणहरुको उपस्थिति हुन्छ ती स्थानमा वन्ने शौचालयहरु कस्तो हुने भनेर मापदण्ड हुनु जरुरी छ । हाल नेपालमा उपलब्ध अधिकाँश शौचालयहरुमा धेरै प्रश्न गर्ने आधाराहरु छन् । नेपालको संविधानलाई आधारमान्ने हो भने सरसफाइ मानव अधिकार हो । जस अनुसार निर्माण हुने घरायसी वा सार्वजनिक चर्पीहरुमा प्रर्याप्तता, पहुँचयोग्यता, गुणस्तरीय, आर्थिक रुपले किन्न सक्ने, स्विर्कायता, अभेद र सुचना जस्ता कुराहरु सुनिश्चित भएको हुनुपर्दछ ।

नेपालमा मात्र होईन विश्व भरिनै सरसफाइ क्षेत्रमा गर्ने लगानि खानेपानीको तुलनामा न्यून छ । जसको कारण हाल संसारभर ३.५ अरव मानिसहरु सुरक्षित सरसफाइको पहुँच छैन भने ४१९ मिलियन मानिसहरुले अझै पनि खुला रुपमा दिसा वाध्य छन् । खानेपानी तथा सरफाइलाइ मानव अधिकारको रुपमा संयुक्त राष्ट्रसंघले घोषणा गरे पश्चात संसारभरका प्रत्येक नागरिकले सुरक्षित सरसफाइ पाउनुु अधिकार हो । यसको शुरुवात विन्दुभनेको चर्पी निर्माणबाट शुरु हुने गर्दछ । नेपालमा मात्र होईन अधिकाँश देशमा सरसफाइमा लगानि गर्नु भनेको चर्पी वनाएर दिसा लुकाउनुलाई मात्र वुझियो ।

सवै प्रकारका क्षमता भएका मानिसहरुलाई चर्पी प्रयोग गर्न पाउने की नपाउने भन्ने मानसिक तनावको अनुभूति नहुने गरेर चर्पी निर्माण गर्नुपर्ने देखिन्छ ।

व्यवस्थित चर्पी निर्माण गर्दा यसले दिने मानसिक शान्ति, स्वास्थ र वातावरणमा पार्ने सकारात्म प्रभावको वारेमा वहस हुन पर्ने हो त्यो हुन सकेको छैन । चर्पीमा लगानि गर्दा यसका वहुआयामिक फाईदाहरु हुन्छन् भनेर विशेष गरेर नीति निर्माण गर्ने स्थान, नेतृत्व र आम सर्वसाधरणहरुलाई वुझाउन सकिएन । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघको पानीसम्बन्धी निकायको प्रतिवेदन अनुसार खानेपानी तथा सरसफाइको क्षेत्रमा १ अमेरिकी डलर लगानी गर्दा ४.३ अमेरिकी डलरको प्रतिफल प्राप्त हुन्छ । यसको अलवा मानसिक शान्ति, स्वास्थ्यमा फाइदा र वातावरणी स्वास्थयको पक्षमा वहसहरु भएका छन् । अझ अहिले आएर जलवायु परिवर्तन असर कम गराउन पनि सुरक्षित सरसफाइको चर्चा शुरु भएको छ ।

सुरक्षित सरसफाइको सुनिश्चित गर्ने हेतुले सन् २००१ विश्व शौचालय संगठन गठन भयो । सन् २०१३ मा आएर प्रत्येक वर्षको नोभेम्वर १५ तारिकलाई संयुक्त राष्ट्रसंघले विश्व शौचालय दिवसको रुपमा मनाउन शुरु गरेको छ । हेरक वर्ष विभिन्न नारा यो दिवस संसारभर मनाउने गरिएको छ । यो वर्षको नारा टोईलेट अ पेलेस् फर पिस (चर्पी ( शान्तिको स्थान) भनेर विश्वभर मनाईदै छ । यो दिवसको सपनालाई साकार वनाउने हो भने सवै भन्दा पहिला नेपालमा सार्वजनिक शौचालयको मापदण्ड निर्माण गर्नु पर्ने देखिन्छ । मापदण्ड अनुसारको लगानि सुनिश्चित पनि गर्नु पर्ने देखिन्छ ।

खानेपानी मन्त्रालय एनवास तथ्याङ अनुसार ५७० वटा स्थानीय निकायहरुमा १८४३ वटा सार्वजनिक शौचालय भएको र ती स्थानीय निकायहरुले थप २५१७ वटा माग गरेको देखिन्छ । जससंख्याको आधारमा कति सार्वजनिक शौचालय चाहिने भन्नेमा फरक फरक अध्ययनहरु भएका छन् । विश्व स्वास्थय संगठनले प्रत्येक ४० जनाका लागि वृताकाररुपा ५०० मिटरको दुरीभित्र एक शौचालयको व्यवस्था गर्न सिफारिस गर्दछ । यो अनुसार हाम्रोमा चर्पीको संख्या धेरै कम देखिन्छ ।

सरकारलाई मात्र मुख ताक्नुभन्दा पनि सरकारको नेतृत्वमा गैह्र सरकारी संस्था, निजी, आम जनताको सहभागितामा चर्पी निर्माणको अभियानलाई अगाडि वढाउनुपर्ने देखिन्छ । चर्पी निर्माण गर्दा सवैको लागि प्रयोग मैत्री, समावेशी, पहुँच योग्य, आर्थिक रुपमा सुलभ, यात्राको क्रममा पनि ठाउ ठाउ शौचालय ताकि अपाङता भएका, महिला, वालवालिका, सवै प्रकारका क्षमता भएका मानिसहरुलाई चर्पी प्रयोग गर्न पाउने की नपाउने भन्ने मानसिक तनावको अनुभूति नहुने गरेर चर्पी निर्माण गर्नुपर्ने देखिन्छ ।

अर्को पक्ष भनेको चर्पी निर्माणको वहुआयामिक फाईदा जस्तो मानवीय स्वास्थ, वातावरणीय स्वास्थ्य, चर्पीको व्यवस्था सगै यसले आर्कषित गर्ने पर्यटन, यसले पार्ने पारिस्थितिक पद्धतिमा सकारात्मक असर, दिशाजन्य लेदो उचीत व्यवस्थापनबाट उत्पादन गर्न सकिने मल, यसको प्रयोगबाट निकाल्न सकिने ग्यास जसको कारणले गर्दा जलवायुको असर न्युनिकणरणमा सहयोग, र समग्र समाजको सभ्यातालाई सुधारलागि चर्पीको सहयोगको वहस, चर्चा र त्यो अनुसारको आर्थिक लगानि गर्दा मात्र चर्पी दिवस मनाउनुको सार्थक हुनेछ ।

आनन्द गौतम
(FacebookAnand Gautam | LinkedIn)

लेखक विगत दुई दशकदेखि खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघसंस्थामा क्रियाशील हुनुहुन्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार