खानेपानी विभागमा अनुसन्धान र विकासको अलग्गै इकाई बनाउनुपर्छ : सचिव बज्राचार्य

  पी.टी.लोप्चन  140 पटक हेरिएको


काठमाडौ : खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले खानेपानी तथा सरसफाइ सम्बन्धी अध्ययन अनुसन्धानका लागि अलग्गै इकाई स्थापना गर्नुपर्ने बताउनु भएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसमा सचिव बज्राचार्यले रिसर्च एण्ड डेभेलप्मेन्ट युनिट (RND) स्थापना हुनुपर्ने बताउनुभयो।

‘नयाँ संगठन संरचनामा विभाग अन्तर्गत वा मन्त्रालय अन्तर्गत जसरी राखे पनि हुन्छ, तर रिसर्च एण्ड डेभेलप्मेन्ट युनिटको आवश्यकता खड्किएको छ’ सचिव बज्राचार्यले भन्नुभयो।

उहाँले खानेपानी मन्त्रालय र मातहतका निकायहरुको संगठन तथा व्यवस्थापन सर्वेक्षण भैरहेकाले यसको सम्बोधन गर्ने उचित समय रहेको समेत बताउनुभयो। जलवायु परिवर्तन र विपदका कुराहरु भैरहेको र खानेपानी तथा सरसफाइ क्षेत्रमा जलवायु परिवर्तन तथा विपदका कारण धेरै असर परिरहेकाले यसको अध्ययनका लागि पनि रिसर्च एण्ड डेभेलप्मेन्ट युनिट आवश्यक रहेको बताउनुभयो।

‘कतिपय खानेपानी आयोजना मनसुनमा बाढीका कारणले क्षति विक्षत हुने, आयोजनाको पाइप लाइनहरु बगाउने जस्ता समस्याहरु भोगिरहेका छौं । क्लाईमेट चेन्जका कारणले गर्दा हिमाल पहाड तराई तीनै वटा क्षेत्र प्रभावित छ’ उहाँले भन्नुभयो ‘हिमालको हिउँ पग्लिने दर बढिरहेको छ, पहाडमा पानीका मुहानहरु सुकिरहेको अवस्था छ । सुकेका मुहानहरुलाई व्युँताउनुपर्ने अवस्था छ, यस कारण पनि गहिरो रिसर्चका लागि यो युनिट अति आवश्यक छ’ उहाँले अझ जोड दिँदै भन्नुभयो।

त्यस्तै तराईमा भूमिगत पानीका स्रोतहरु सुक्दा खानेपानी सुविधाबाट बन्चित हुनुपर्ने अवस्था आईसकेको र के कति कारणले पानीको सतह घटिरहेको छ भन्ने अध्ययनको बिषय भएको उहाँले बताउनुभयो।


स्यालो एक्वफेयरको पानी सुक्दा डिपबोरिङमा जानुपर्ने र डिपबोरिङको पानीमा आर्सेनिक, अमोनिया जस्ता रासायनिक प्रदुषणहरु भएकाले त्यसलाई प्रशोधन गर्न पनि धेरै रासायनिक पदार्थहरु प्रयोग गर्नुपर्ने र खर्चिलो समेत हुने भएकाले भविश्यमा थप कसरी व्यबस्थापन गर्दै जाने भन्नेमा अध्ययन हुनुपर्ने उहाँको भनाइ थियो।

सचिव बज्राचार्यले खानेपानी विभागमा जनशक्तिको अभाव देखिएको र एउटा आयोजना कार्यालयमा एक जना मात्र इन्जिनियर भएकाले सोचे अनुरुप कार्यसम्पादन हुन नसकेको बताउनुभयो । आयोजनाहरुबाट इन्जिनियर पठाईदिनुहोस् भन्दै मन्त्रालयमा फोन आउने गरेको उल्लेख गर्दै जनशक्तिको अभाव अब हुने संगठन तथा व्यवस्थापन सर्वेक्षणले परिपूर्ति गर्ने उहाँले आश्वासन दिनुभयो ।

‘यस कार्यमा विभागका साथीहरु र मन्त्रालयका प्रतिनिधी समेत बसेर काम गरिरहनु भएको छ, मलाई लाग्छ चाँडै प्रतिवेदन आउनेछ’ उहाँले भन्नुभयो।

उहाँले खानेपानी तथा सरसफाइ सम्बन्धी निर्देशिका, मापदण्ड र कार्यविधिहरु यथावत रहँदा कार्य गर्न असहज परिस्थिति सिर्जना भएको भन्दै समय सापेक्ष परिमार्जन हुनुपर्ने बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार