पोहोरको हिउँदमा भन्दा यसपाली खोलामा तेब्बर पानी : अध्ययन प्रतिवेदन

  वास खबर सम्बाददाता  285 पटक हेरिएको


काठमाडौ : पोहोर सालको हिउँदको समयमा भन्दा यसबर्ष खोलामा झण्डै तेब्बर पानी बगिरहेको एक अध्ययनले देखाएको छ । मकवानपुर जिल्लाको रक्सिराङ र कैलास गाउँपालिकामा गरिएको एक अध्ययनले गत बर्षको तुलनामा यस बर्ष पानीको प्रवाह झण्डै तेब्बरले बृद्धि भएको पाईएको हो।

Welthungerhilfe (WHH) को सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) द्वारा सञ्चालित “खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सबलीकरण तथा व्यवहार परिवर्तन” परियोजना अन्तर्गत रक्सिराङको ३० वटा र कैलास गाउँपालिकाको ३० वटा गरी ६० वटा पानीको स्रोतको मापन गरिएको थियो।

अध्ययनको मध्यकालीन निष्कर्ष सार्वजनिक गर्दै Nepal Development Initiative (NDI) Consulting Pvt. Ltd का शोधकर्ता डा.नवराज खतिवडाले गत बर्षको कार्तिकमा कैलास गाउँपालिकामा सबैभन्दा बढी १६ लिटर प्रति सेकेण्ड पानी बग्ने खोलामा हालको कार्तिक महिनामा ४५ लिटर प्रति सेकेण्ड पानी मापन गरिएको बताउनुभयो।


यस्तै रक्सिराङ गाउँपालिकामा गत सालको कार्तिक महिनामा प्रति सेकेण्ड ५ हजार लिटर पानी डिस्चार्ज हुने खोलामा हालको कार्तिक महिनामा १० हजार लिटर मापन गरिएको जानकारी गराउनुभयो ।

कम्पनीले एक बर्षमा एउटै स्रोतको पानी तीन पटक मापन गरिएको र सबैभन्दा कम पानी मनसुन पूर्वको समय अर्थात बैशाख महिनामा भेटिएको शोधकर्ता डा. खतिवडाले बताउनुभयो । प्रतिवेदन अनुसार कैलास गाउँपालिकामा २०८० कार्तिक महिनामा प्रति सेकेण्ड १६ लिटर मापन गरिएको पानी दोस्रो पटक अर्थात सोही बर्षको पुस महिनामा मापन गर्दा घटेर प्रति सेकेण्ड १४ लिटरमा झरेको थियो। झनै यो अनुपात घटेर २०८१ वैशाखमा मापन गर्दा १.२५ लिटर प्रति सेकेण्डमा झरेको थियो।

रक्सिराङमा पनि सोही अवस्था पाईएको उहाँले बताउनुभयो । उहाँका अनुसार कात्तिकमा ५ हजार लिटर प्रति सेकेण्ड मापन गरिएको खोलामा पुसमा ४ हजार प्रति लिटर मात्र भेटिएको थियो भने सुख्खा याम अर्थात वैशाखको समयमा २४ सय लिटर प्रति सेकेण्ड पानी मात्र भेटिएको थियो।

अध्ययनका लागि खानेपानीको स्रोत छनौट गर्दा रक्सिराङ गाउँपालिकाको ९ वटै वडा र कैलास गाउँपालिकाको १० वटै वडाको प्रतिनिधित्व हुने गरी नमुना लिईएको डा. खतिवडाले बताउनुभयो। त्यसमा पनि गाउँपालिकामा रणनीतिक महत्वका स्थानहरु, हाटबजार लाग्ने स्थान, विद्यालय तथा स्वास्थ्य चौकीले प्रयोग गर्ने पानी भए सोको मुहान र व्यवसायिक हिसाबले प्रयोगमा ल्याएको भए उक्त पानीको मुहान र सबैभन्दा ठूलो खोला र सबैभन्दा सानो खोला लगायत मिलाएर छनौट गरिएको बताउनुभयो।


छनौट गरिएको पानीमा भएका भौतिक, रासायनिक एवं जैविक प्रदुषणको स्थितिका बिषयमा समेत अध्ययन गरिएको र सबै पानीमा नाईट्रेट र आइरनको मात्रा शून्य भेटिएको उहाँले बताउनुभयो।

पानीको स्रोत जोखिममा, व्यवस्थित इन्टेकको अभाव

अध्ययनले पानीको स्रोतहरु जोखिममा रहेको र पिउने प्रयोजनले पाइप मार्फत लगिएको पानीको मुहानमा समेत व्यवस्थित इन्टेकको अभाव रहेको औल्याएको छ ।

अनुसन्धाता खतिवडाले पिउने प्रयोजनको लागि ल्याएको पानी माथितिरको बस्तीका मानिसले सिँचाईमा प्रयोग गरिदिँदा तलतिरको बस्तीका मानिसले पानी पिउन समेत नपाईने स्थिति सिर्जना भएको बताउनुभयो।


आफूखुसी पाइप प्रयोग गरी मुहानबाटै पानी ल्याउने तर पाइपलाई जमिनमुनि नगाड्दा पानी र पानीको स्रोत दुवै जोखिममा परेको उहाँले बताउनुभयो। ‘कतिपय खानेपानी आयोजना सञ्चालन भएकै ठाउँमा पनि मुहान अव्यवस्थित भएको पाईयो, जसले गर्दा खानेपानीको मुहान प्रदुषित हुने सम्भावना देखियो’ उहाँले भन्नुभयो।

अध्ययनको अवधि अझै बाँकी रहेको र बाँकी अवधिमा जिआईएस म्यापिङ गर्ने, थप खानेपानीका स्रोतहरुको नक्साङ्कन गरिने शोधकर्ता खतिवडाले बताउनुभयो।

Welthungerhilfe (WHH) का खानेपानी तथा सरसफाइ विज्ञ बिजु डङ्गोलले अध्ययनको निष्कर्ष पछि भविश्यमा खानेपानी योजनाहरु निर्माण गर्न सघाउ पुग्ने बताउनुभयो ।

अध्ययनले कुन खानेपानीको स्रोतमा कुन समयमा कति पानीको बहाव हुन्छ ? कुन स्रोतमा के कस्ता रासायनिक, भौतिक तथा जैविक प्रदुषण छ भन्ने कुराको एकीन हुने भएकाले भावी दिनमा पानी सँग सम्बन्धित योजनाहरु निर्माण गर्ने जो कसैलाई अध्ययनबट सघाउ पुग्ने बताउनुभयो।

उहाँले विज्ञहरुको सुझावलाई समेत समेटेर अध्ययनलाई थप परिस्कृत बनाउने, प्रमाणमा आधारित गुणस्तरीय अध्ययन प्रतिवेदन तयार पार्ने र सहकार्यमा जोड दिईने समेत बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार