लिफ्टिङ खानेपानी सम्पन्न गर्ने छैन चालचुल, कोटवस्ती सधै काकाकुल

  वास खबर सम्बाददाता  53 पटक हेरिएको

गुल्मी : कालीगण्डकी गाउँपालिका – १ र २ को कोटवस्तीका स्थानीयहरूले वषौँदेखी खानेपानीको समस्या झेल्दै आएका छन् । उनीहरूले हिउँदको समयमा गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर एकको देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरूलाई यो समस्या अहिलेको भने होइन, उनीहरूले यो समस्या वर्षौँदेखि झेल्दै आएका छन् ।

मुहान भन्दा बस्ती माथि भएका करण त्यस क्षेत्रमा लिफ्टिङ गरेर मात्रै खानेपानी आपूर्ति गर्ने भन्दा अरु उपाय नभए पनि लिफ्टिङको कार्य पाँच वर्ष भन्दा बढी हुँदा समेत पूरा हुन सकेको छैन । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय तम्घास मार्फत हुने कार्यले गति लिन नसक्दा पनि त्यस क्षेत्रका नागरिकले समस्या झेल्दै आएका हुन् ।

एक वर्षमा कहिले एउटा ट्याङ्की बनाउने ,कहिले मोटर खरिद गर्ने जस्ता कार्यले गर्दा आफूहरूलाई देखाउने दाँत जस्तो बनाएको स्थानीय तिलक रानाले दुखेसो पोख्नुभयो । थोरै थोरै काम गरेजस्तो गर्ने र कार्य पूरा कहिल्यै नहुने हुँदा गाडीमा ढुवानी गरेको पानी तेल जस्तै हुने गरेकाले आफूहरूले गाडीबाट कहिलेसम्म पानी ढुवानी गरेर खाने भन्दै सरोकारवालाहरूलाई प्रश्न गर्नुभयो ।

नेताहरूले पनि चुनावी नारा बनाउने र चुनाव जितेर गएपछि समस्या बिर्सने गरेको त्यस क्षेत्रका स्थानीयहरूको गुनासो छ । चुनावमा मात्रै आफूहरू भोट बैङ्कको रूपमा प्रयोग मात्रै हुने गरेको उनीहरूले बताउँदै आएका छन् ।

वर्षा यामको समयमा चिदियारको मूलबाट पानी पिउने गरेका उनीहरूले हिउँद लागेपछि मुहान सुक्ने भएपछि उक्त समस्या झेल्नुपरेको स्थानीय तुलसी पाण्डेले दुखेसो गर्नुभयो । हिउँद लागेपछि राती सुत्ने बेलामा पनि खानेपानीको समस्याले सताउने गरेको उहाँले बताउनुभयो । गाडीमा पानी ढुवानी गरेर ल्याउँदा एक पटकको एक हजार पाँच रुपियाँ तिर्न आफूहरू बाध्य भएको उहाँको भनाइ छ ।

यस्तै सिरकोटकी मनकुमारी रानाले पनि पिउने पानीको समस्याले गर्दा स्थानीयहरू बसाइँसराइ गर्न बाध्य हुने गरेको गुनासो गर्नुभयो । खानेपानीकै समस्याले गर्दा एक दर्जनभन्दा बढी व्यक्तिहरू बसाइसराइ गरेर गएको भन्दै यस्तै समस्या कायमै रहे अरू पनि बाध्य हुने उहाँको भनाइ छ । यस्तै कोटका लक्ष्मीपति न्यौपानेले खानेपानी गाडीमा ढुवानी गरेर ल्याउनुपर्दा खर्चिलो हुने र सबैलाई गाडीको पहुँच पनि नहुने बताउनुभयो ।

बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफ्टिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ ।

ठोटनेरी खोलाबाट लिफ्टिङ गरेर पानी खुवाउनका लागि अघिल्लो वर्षको बजेटबाट ट्याङ्की निर्माण र खानेपानीको पाइप लाइन खन्ने काम भएको कार्यालयका प्रमुख सरोज न्यौपानेले बताउनु भएको खबर आजको गोरखापत्र दैनिकले प्रकाशन गरेको छ। अहिले विद्युतीकरण गर्नका लागि टेन्डरबाट काम भइरहेको र यस वर्ष पानी खुवाउने गरी काम भइरहेको उहाँको भनाइ छ । बजेट अभावका कारण त्यस क्षेत्रको समस्याबारे जानकार भए पनि काम पूरा गर्न नसकिएको न्यौपानेले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार