जाइका तर्फको काम सके पनि संस्थान तर्फको काम अधुरै, अधुरो योजना खानेपानीमन्त्रीद्वारा उदघाटन हुँदै

पोखरा : पोखराको खानेपानी सुधार आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आफ्ना तर्फको काम पूरा गरे पनि खानेपानी संस्थानका तर्फबाट गर्नुपर्ने काम अधुरै राखेर उद्घाटनको तयारी गरिएको छ । खानेपानी सुधार आयोजनाको आज खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गर्ने कार्यक्रम छ ।

पोखराबासीको धारामा शुद्ध पिउने पानीको सुविधा पुर्‍याउने उद्देश्यले जाइकाको ४ अर्ब ८१ करोड रुपैयाँको अनुदानमा ०७६ देखि यो आयोजना निर्माणको काम सुरु भएको थियो । त्यसमध्ये खानेपानी संस्थानका तर्फबाट बनाउनुपर्ने संरचना समयमै नबनाउँदा पोखराबासीले २४ घण्टा शुद्ध खानेपानीको सुविधा पाउन अझै ३ वर्ष कुर्नुपर्ने भएको हो ।

२०७३ फागुन ४ मा जाइका र नेपाल सरकारबीच आयोजनाका लागि अनुदान सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम सरकारले खानेपानी संस्थानलाई आयोजना कार्यान्वयनको जिम्मा दियो । जापानको हाज्मा एन्ड कर्पोरेसनले आयोजना निर्माणको जिम्मा लिएर २०७६ देखि काम सुरु गर्‍यो । २०८० पुस १५ मा आयोजनाको म्याद सकिए पनि २०८१ भदौ १५ सम्मका लागि म्याद थप गरियो । उक्त अवधिमा ठेकेदार कम्पनीले पाइप बिछ्याउन बाटो खनेको केही स्थानमा कालोपत्र गर्नेबाहेक आफ्ना तर्फबाट गर्नुपर्ने काम सम्पन्न गरिसकेको छ ।

खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्कीका अनुसार हाल पोखराका सहरी भेगका १९ वडामा पानीको माग दैनिक ८ करोड ७० लाख लिटर छ । उत्पादन भने ६ करोड ७७ लाख लिटर रहेको छ । त्यसमध्ये माछापुच्छ्रे गाउँपालिकाको मर्दीबाट संकलित ४ करोड ६० लाख लिटर पानी सिधैं विन्ध्यवासिनीमा रहेको ४० लाख लिटर क्षमताको ट्यांकीबाट वितरण हुन्छ ।

पोखरा–१६ अर्मलातिरको भोटिखोलाबाट बर्खामा ३५ लाख र सुख्खा याममा १० लाख लिटर, कालिमुडा–माझकुना–घट्टेकुना मुहानबाट बर्खामा ३५ लाख र सुख्खामा १५ लाख लिटर पानी दैनिक उत्पादन भएर अमलाबिसौनी ट्यांकीमार्फत वितरण हुन्छ । राणाकालीन समयमै बनेको बालधारामार्फत १० लाख लिटर पानी वितरण हुन्छ । त्यसबाहेक विभिन्न स्थानमा रहेका १८ वटा बोरिङबाट १ करोड ५० लाख लिटर पानी उत्पादन हुन्छ।

उत्पादिन पानीमध्ये ३५ प्रतिशत पानी चुहावट हुने इन्जिनियर कार्कीले बताए । हाल दैनिक ४ करोड ४० लाख लिटर पानी मात्रै पोखरामा वितरण भइरहेको छ । पोखरामा मागको झण्डै आधा मात्रै पानी खानेपानी संस्थानबाट वितरण हुँदै आएको छ । वितरण हुने पानीसमेत बर्खामा हिलो र लेदो मिश्रित हुन्छ भने हिउँदमा पनि पिउन योग्य हुँदैन । यसअघि शुद्धीकरणको नाममा ब्लिचिङ पाउडरको प्रयोग मात्रै गरिएको छ । मुहानको पानी सिधैं धारामा आउँदा उपभोक्ताको स्वास्थ्यमा समेत असर गर्ने र नदीजन्य वस्तु पाइपमा भरिँदा सडक खन्ने र खानेपानी संस्थानको गाडीमार्फत पाइप सफा गर्ने झन्झट पनि हुने भएकाले त्यसबाट मुक्ति पाउन आयोजना सञ्चालन गरिएको हो।

हाल जाइकाको अनुदानबाट मर्दीको मुहान नजिकै ४ करोड २० लाख लिटर क्षमताका ४ वाटा बालुवा हटाउने ट्यांकी (ग्रिट च्याम्बर) र ४ वटा पानी थिग्र्याउने ट्यांकी (सेडिमेन्टेसन ट्यांक) निर्माण गरिएको छ । पोखरा–१९ पुरुन्चौरमा दैनिक ४ करोड १० लाख लिटर क्षमताका ६ वटा पानी छान्ने फिल्टर (स्लो स्यान्ड फिल्टर) र ९ सय ३० घन मिटरका २ वटा सफा पानी संकलन ट्यांकी निर्माण गरिएको छ । क्लोरिनेसन प्लान्ट पनि उक्त स्थानमा रहेको छ ।

मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधैं पिउन सकिने पानी पुर्‍याउने आयोजनाको लक्ष्य हो । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ग्रिट च्याम्बर हुँदै ल्याइएको पानी पुरुन्चौरमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा शुद्धीकरण गरिन्छ । उक्त ट्रिटमेन्ट प्लान्टबाट प्रशोधित पानी २० इन्चको पाइपबाट पोखरा–२ विन्ध्यवासिनी र १६ इन्चको पाइपबाट पोखरा–१६ लामाचौरको अमलाविसौनीमा रहेको संस्थानको पुरानै ट्यांकीमा पठाइन्छ । ती ट्यांकीबाट पोखराको १ देखि १९ नम्बर वडासम्म खानेपानी वितरण हुन्छ ।

जाइकाले नै पोखराको पर्स्याङ, फूलबारी र कोलपाटनमा २०–२० लाख क्षमताका ओभरहेड पानी ट्यांकी निर्माण गरेको छ । पोखरा–१५ कोलपाटनमा रहेको कोलपाटनको ट्यांकी भने अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरणमा असर पर्ने भन्दै सञ्चालनमा आएको छैन । जाइकाले ९.९ किलोमिटर ट्रान्समिसन पाइप लाइन, ३६.२ किलोमिटर मुख्य वितरण र ५१.२६ किलोमिटर सहायक वितरण पाइप लाइन बिछ्याएको छ । संस्थानले थप १२.२ किलोमिटर मुख्य वितरण पाइप लाइन बिछ्याएको छ ।

मिनी एक्स्काभेटर लगायत प्रयोगशालाका विभिन्न उपकरण जाइकाले उपलब्ध गराएको छ । पानी मिटर ९ हजार थान र धाराका पाइप ७ हजार ३ सय सेट खानेपानी संस्थानबाट जडान गर्ने बताइएको छ ।

परियोजनाअन्तर्गत मर्दीको पानी शुद्धीकरणका लागि मात्रै जाइकाले अनुदान दिएको छ । खानेपानी सुधार आयोजना सञ्चालनमा आएपछि पोखराको ८० प्रतिशत उपभोक्ताका घरमा मर्दीको पानी वितरण हुन्छ । बाँकी मुहानको पानी शुद्धीकरण गर्ने जिम्मा खानेपानी संस्थानको हो । तर जाइकाको आयोजना सञ्चालनको चरणमा आइसक्दा संस्थानको ढिलासुस्तीले पोखराबासीले छिट्टै शुद्ध पानीको उपभोग गर्न नपाउने भएका हुन् । भोटिखोलामा ट्रिटमेन्ट प्लान्टको ८० प्रतिशत काम सकिएको छ । कालिमुडा–माझकुना–घट्टेकुना मुहानको पानी शुद्धीकरण प्लान्ट बनाउन संस्थानले जग्गा नै नपाएको संस्थानका पोखरा शाखा प्रमुख कार्कीले बताए ।

जाइकाको आयोजनामा मर्दी मुहानबाट दैनिक ५० लाख लिटर पानी कम उत्पादन हुने भएकाले खानेपानीको थप अभाव पोखराबासीले झेल्नुपर्ने भएको छ । दैनिक ५० लाख लिटर कम उत्पादन हुँदा ५ हजार घरधुरी प्रभावित हुन्छन् । मर्दीकै हालको मुहानभन्दा तलबाट पानी संकलन गरी पुरुन्चौरको ट्रिटमेन्ट प्लान्टमा लैजान बल्ल टेन्डर आह्वान भएको छ । उक्त ५ सय मिलिमिटरको पाइपबाट दैनिक ५० देखि ६० लाख लिटर पानी उत्पादन हुने संस्थानको अनुमान छ ।

त्यसबाहेक माछापुच्छ्रे गाउँपालिकाकै सार्दीखोलाबाट दैनिक एक करोड लिटर पानी पुरुन्चौरको प्लान्टमा झार्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने तयारी संस्थानले गरेको छ । निर्माणाधीन तीनवटा बोरिङमध्ये औद्योगिक क्षेत्रस्थित नहरचोक सञ्चालनको चरणमा छ भने विरौटा र बगरमा निर्माण भइरहेका छन् । यी बोरिङबाट १०–१० लाख लिटर पानी उत्पादन हुनेछ ।

संस्थानले जाइकासँग मिलेर सन् २००४ मा आयोजनाको डिजाइन बनाउँदा सन् २०१४ को घरधुरी र जनसंख्यालाई अनुमान गरेर तयार गरिएको र अहिले सन् २०२४ मा कार्यान्वयनमा आउँदा उत्पादन हुने पानी कम हुने इन्जिनियर कार्कीले बताए । सन् २०१५ मा सर्वेक्षण गर्दा लाभान्वित जनसंख्या ३ लाख ४ हजार ८ सय ६९ अनुमान गरिएको थियो भने सन् २०१५ मा पुग्दा उक्त संख्या ४ लाख ५ हजार ८ सय ८१ पुग्ने प्रक्षेपण गरिएको छ । ‘अहिले वार्षिक २ हजार धारा वृद्धि हुँदा पानीको माग दैनिक २० लाख लिटरले बढ्छ,’ उनले भने, ‘सार्दीखोला पनि बन्ने र बोरिङबाट पनि थपिँदा २४ घण्टा पानी पुर्‍याउन सकिन्छ ।’ आयोजना सञ्चालनमा आउँदा पानीको चुहावट पनि कम हुने उनको विश्वास छ । संस्थानकै हेम्जा शाखाले पोखराको २५ नम्बर वडामा २४ घण्टा पानी पुर्‍याइरहेको छ । लेखनाथ क्षेत्रमा भने लेखनाथ साना सहरी खानेपानी योजनाले पानी वितरण गर्छ । महानगरको ग्रामीण वडामा स्थानीय खानेपानी आयोजना छन् ।

पोखरामा पाइप बिछ्याइए पनि संस्थानको तर्फबाट गर्नुपर्ने ‘इन्टरकनेक्सन’ अझै बाँकी छ । झण्डै २ सय स्थानमा ‘इन्टरकनेक्सन’ गर्न बाँकी छ । ७ हजार ३ सयमध्ये झण्डै एक हजार धाराको पाइप जडान गर्न बाँकी छ । अमलाबिसौनीमा पानी शुद्धीकरण प्लान्ट बनाउने, मर्दीमा अर्को पानी संकलन स्थल बनाउने, ‘इन्टरकनेक्सन’, पानी मोटर र धारा जोड्ने काम सक्न संस्थानलाई अझै ३ वर्ष लाग्ने संस्थानका महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले बताए ।

‘अहिले जाइकाले बनाएको संरचना मात्रै हस्तान्तरण हो, जुन उसले बनाइसकेको छ,’ उनले भने, ‘सम्झौता अनुसार निर्धारित समयमा काम सकेपछि बुझाउनुपर्ने अवस्था आएकाले उद्घाटन गर्न लागेका हौं ।’ उनले कर्मचारी अभावका कारण संस्थानले गर्नुपर्ने काम समयमै गर्न नसकेको स्वीकारे । ‘कर्मचारीसम्बन्धी विनियमावली कानुन मन्त्रालयमा ५ वर्षदेखि अड्किँदा कर्मचारी भर्ना गर्न पाएका छैनौं,’ उनले भने, ‘कर्मचारीको व्यवस्था भएपछि आयोजना सञ्चालन हुन्छ ।’

खानेपानी संस्थानकै एक कर्मचारीले भने मन्त्री यादवको शिलालेखमा नाम लेखाउने व्यक्तिगत इच्छाका कारण काम नसकिँदै उद्घाटन गर्न लागिएको बताए । मन्त्री यादवले आफ्नो कार्यकालमा उद्घाटन भएको देखाउने लालसा बोक्दा पोखराबासीलाई धोका हुने ती कर्मचारीको भनाइ छ । ‘यसै पनि यो आयोजनाबाट कम पानी उत्पादन हुने देखिन्छ । त्यसैमाथि कसैलाई शुद्ध, कसैलाई अशुद्ध पानी वितरण गर्ने कुरा पनि भएन,’ उनले भने, ‘संस्थानले आफ्नो जिम्माको सबै काम नसक्दासम्म आयोजना नै सञ्चालनमा नआउने खतरा छ ।’ उद्घाटन गरेपछि संस्थानले आफूले गर्ने काममा थप ढिलासुस्ती गर्ने ती कर्मचारीको दाबी रहेको खबर कान्तिपुर दैनिकले छापेको छ। भन्छन्, ‘अर्बौं रुपैयाँ खर्चिएर आयोजना सम्पन्न भए पनि शुद्ध पानी पाएनन् भने पोखराबासीका लागि धोका हुनेछ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार