४ अर्ब ८१ करोड लगानीमा पोखरा खानेपानी सुधार आयोजना निर्माण

खानेपानीमन्त्री यादवद्वारा उदघाटन

  वास खबर सम्बाददाता  207 पटक हेरिएको

पोखरा : पोखरा खानेपानी सुधार आयोजना निर्माण सम्पन्न गरी शुक्रबार हस्तान्तरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले शुक्रबार आयोजनाको उद्घाटन गर्नुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ४ अर्ब ८१ करोड रुपैयाँ अनुदानमा २०७६ बाट सुरु भएको आयोजना हालै सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।

खानेपानीमन्त्री यादवले हालको पानीले मात्र पोखराको बढ्दो जनसंख्याको मागलाई धान्न नसक्ने भएकाले समस्या समाधान गर्ने गरी काम अघि बढ्ने बताउनुभयो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पहिलो पटक शुद्ध र सुरक्षित खानेपानी ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरी पोखरामा वितरण भएकोमा खुशी व्यक्त गर्नुभयो। पानीको अभाव समाधान गर्ने गरी नयाँ योजना पनि अघि बढाउन उहाँले अनुरोध गर्नुभयो। यसका लागि महानगरले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो ।

जापानको हाज्मा एन्ड कपंरिसनले आयोजना निर्माणको जिम्मा पाएको थियो । कोभिडका कारण काम रोकिएपछि २०८० पुस १५ मा आयोजनाको म्याद सकिएपछि २०८१ भदौ १५ सम्मका लागि म्याद थप भएको थियो । आयोजना सम्पन्न भएसंगै माछापुच्छ्रे गाउँपालिकाको मर्दी खोलाबाट ५ सय र ४ सय एमएमको पाइपबाट संकलित ४ करोड १० लाख लिटर पानी शुद्ध र सुरक्षित ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरी पोखरामा वितरण गरिएको छ ।

यसअघि यही खोलाबाट दैनिक ४ करोड ६० लाख लिटर पानी प्रशोधन नगरी वितरण हुँदै आएकोमा ५० लाख लिटर कम पानी ट्रिटमेन्ट प्लान्टले प्रशोधन भएको हो । यसमा पहिलेको डिजाइन नै कम भएकोले त्यसै अनुसार काम भएको आयोजनाले जनाएको छ ।

प्रशोधित र सुरक्षित खानेपानी पोखरामा वितरण गरिए पनि पोखरामा पानीको अभाव भने रहनेछ । खानेपानी संस्थानले ५२ हजार घरधुरीलाई पानी वितरण गरेको छ । बोरिङ समेत गरी ६ करोड २० लाख लिटर उत्पादन हुने गरेको खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशीष कार्कीले बताउनुभयो।

बढ्दो जनसंख्यालाई पनि ख्याल गर्दै आवश्यक ८ करोड ७० लाख लिटर दैनिक खानेपानी पोखराका १९ वटा वडालाई आवश्यक रहेको खोनपानी संस्थान पोखराले जनाएको छ । आयोजना निर्माण हुँदा बढ्दो जनसंख्यालाई समेत ख्याल गरी नबनाउँदा पानीको अभाव भने कायमै रहेको हो ।

पोखरामा खानेपानीको आपूर्ति मर्दीखोलाको साथै पोखरा १६ अर्मलास्थि भोटिखोलाबाट बर्खामा ३५ लाख र सुख्खा याममा १० लाख लिटर, कालिमुडा, माझकुन मुहानबाट बर्खामा ३५ लाख र सुख्खामा १५ लाख लिटर पानी दैनिक उत्पादन भएर अमलाबिसौनी ट्याँकीमार्फत वितरण हुँदै आएको छ । बालधारामार्फत १० लाख लिटर पानी वितरण हुन्छ । त्यसबाहेक विभिन्न स्थानमा रहेका २१ वटा बोरिङबाट पनि खानेपानी निकालेर पोखरामा वितरण हुँदै आएको छ। सबैखोला र बोरिङ समेत गरेर कुल दैनिक ६ करोड २० लाख पानी संकलन गरी वितरण हुँदै आएको खानेपानी संस्थानले जनाएको छ ।

पोखरामा पानीको अभाव कम गर्न खानेपानी संस्थानको लगानीमा मर्दी खोलाबाट थप ५ सय एमएमको पाइपबाट पानी ल्याएर प्रशोधन गर्ने काम ठेक्का प्रक्रियामा गएको खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशीष कार्कीले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार