पोखरा : ‘पोखरा बाट काठमाडौ जाँदाको कुरा हो, एक ठाउँमा महिला पुरुषको लाइन थियो । म महिलाको लाइनमा बसें । मेरो अगाडि दुई तीन जना महिलाहरु हुनुहन्थ्यो, मेरो पछाडि पनि महिलाहरु हुनुहुन्थ्यो । ठ्याक्कै मेरो पछाडि भएका एक जना महिलाले तपाई त यहाँ होइन नि, तपाई त उता हो भन्नुभयो । त्यत्तिबेला यो त मेरै हो भन्न पनि सकेन, म उता जान पनि सकेन’ सार्वजनिक शौचालयमा लैङ्गिक अल्पसंख्यक समुदायका रजनी थकालीको भोगाई हो, यो ।
सार्वजनिक शौचालयमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुले खेप्नु परेको समस्या बुझ्न उहाँको भोगाई नै काफी छ । यो समुदायका व्यक्तिहरुले यस्ता समस्या पाइला पाइलामा सामना गरेका हुन्छन् ।
सार्वजनिक शौचालयमा, विशेष गरी भीडभाड भएको ठाउँमा, जहाँ १०/१२ जना पुरुषहरु वा १०/१२ जना महिलाहरु जाने शौचालयमा धेरै गाह्रो हुने उहाँले बताउनुभयो। पुरुषकोमा जाऊ भने महिलाको पहिरनमा हुने र महिलाको शौचालयमा जाऊ भने शारीरिक बनोट नै नमिल्ने भएकाले पुरुष पनि कहाँ यता तिर आएको भनेर झन् अर्को विभेद खेप्नु पर्ने उहाँले बताउनुभयो। ‘यत्तिसम्म कि कति साथीहरुले त पिटाई पनि खानु भएको अवस्थाहरु छ । हामी जस्ता व्यक्तिहरु चाहिं शौच गर्न कहाँ जाने त ?’ उहाँले भन्नुभयो।
शौचालयको पैरवी गरेको १०/१२ बर्ष नै भईसकेको र यसप्रति कसैको ध्यान नगएको उहाँले बताउनुभयो । ‘यो राष्ट्रिय लेबलमा गरेका छौं । हरेक राजनीतिक पार्टीसँग हामीले कुरा गरेका छौं । लोकल लेभल देखि प्रदेश लेभलसम्मका मन्त्रीहरुलाई मन्त्रालयमै गएर कुरा राखेका छौं’ उहाँले भन्नुभयो ‘हाम्रो लागि पहल चाहिं हामीबाट मात्र भयो, तर सरकारले हाम्रो लागि पहल गरिदिनुभएन ।’
‘बरु हामी भोक कटाउन सक्छौं । आफ्नो दुखाई, घाउको पीडा, सहन सक्छौं’ उखान सुनाउँदै रजनी भन्नुहुन्छ ‘राजाको हुकुम भन्दा सौचको हुकुम ठूलो हुन्छ भन्ने उखान छ नि, राजाको हुकुम बरु नमान्दा पनि हुन्छ, शौचको हुकुम त कहाँ मान्दिन भन्दा पायौं ? गर्नैपर्यो ।’
तर शौचको हुकुम मान्नका लागि धेरै चुनौती छन् । जबसम्म आफूहरु माग पूरा हुँदैन, तबसम्म यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले शौचमै विभेद सहनुपर्ने उहाँको भनाइ छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :