प्रधानमन्त्री ओलीद्वारा झापाको वेलडाँगी खानेपानी आयोजनाको उद्घाटन

  वास खबर सम्बाददाता  319 पटक हेरिएको


झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको वेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । आइतबार देखि गृह जिल्ला झापाको भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले ६ हजार ५ सय २१ घरपरिवारका लागि खानेपानी आपूर्ति गर्ने उद्देश्यले निर्माण गरिएको खानेपानी आयोजनाको उदघाटन गर्नुभएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै सम्पूर्ण देशवासीलाई गुणस्तरीय पानीको व्यवस्था गर्न आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधा व्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो।

उहाँले देशव्यापी रूपमा बिजुली, कृषि, सञ्चार, उद्योग, सरसफाइलगायतका अभियान सञ्चालन गरी मुलुक र जनताका पक्षमा सकारात्मक परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ। हामीले बाँदरले जस्तो आफ्नो घर नबनाउने र अरूको घर भत्काउने गरेमा देश बन्दैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हामी विभिन्न पार्टीसँग आबद्ध हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ। यस क्षेत्रका जनताको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु, यसमा ढुक्क भइदिन सबैसँग अनुरोध गर्दछु।’

यो आयोजना नेपाल सरकारको ९० र स्थानीय उपभोक्ता समितिको १० साझेदारीमा करिब ५० करोडको लागतमा सम्पन्न भएको हो। यो खानेपानी आयोजना निर्माणका लागि २०७८ असार १५ मा निर्माण व्यवसायी मृत संजीवनी –भीमेश्वर जे.भी.सूर्य बिनायक भक्तपुर सँग २३ करोड ४८ लाख ८७ हजार ९२४ रुपैयाँमा सम्झौता भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख सुरतलाल चौधरीले बताउनुभयो ।

आयोजना अन्तर्गत निर्माण भएका ५ वटा डिपबोरिङबाट पानी संकलन गरी ४५० घनमिटरका ४ वटा ओभरहेड ट्याङ्क मार्फत उपभोक्ताको धारा धारामा पठाइने उहाँले बताउनुभयो । हालसम्म ८ सय घरधुरीमा निजी धारा जडान भईसकेको उहाँले जानकारी दिनुभयो ।

बेलडाँगी खानेपानी आयोजनाबाट ६ हजार ५२१ घरधुरीमा बसोबास गर्ने २६ हजार ७४३ जनालाई स्वच्छ र सुरक्षित खानेपानी पुर्‍याउने लक्ष्य रहेको छ ।

उदघाटन कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादवले यस आयोजनाले सरकारले लिएको एक घर एक धाराको नीतिलाई साकार बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ‘जलवायु परिवर्तनका कारण मुहानहरु सुक्ने समस्या विकराल रुपमा बढेको छ । बिशेष गरी तराईमा भुमिगत पानीको सतह घट्दै गएकोले निकै समस्या भोग्नु परेको छ । यसको समाधानको लागि ठूला नदीलाई पानी आपूर्तिको स्रोत बनाउँदै थोक वितरण प्रणाली निर्माण गर्ने, जलाशयुक्त बहुउदेश्यीय खानेपानी योजना निर्माण गर्ने, खानेपानीको मुहानको दीर्घकालीन संरक्षण र चुरे क्षेत्रमा पानी रिचार्ज गर्ने योजना तर्जुमा गर्न आवश्यक भएको छ’ उहाँले भन्नुभयो ।

खानेपानी र सरसफाईको कुनै पनि समस्या सामाधानको लागि खानेपानी मन्त्रालयको नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्षम रहेको उहाँले बताउनुभयो । ‘विद्युत महशुल छुटको कार्यविधि तयारी, सहलगानी आयोजनामा जनसहभागिताको अंश घटाउने, स्वच्छ खानेपानीको पहुँच बढाउन हरेक खानेपानी वितरण प्रणालीमा क्लोरिन डोजिन यूनिट जडान गर्ने कार्य मन्त्रालयको प्राथमिकतामा छन’ उहाँले भन्नुभयो ‘सबैमा खानेपानी र सरसफाईको पहुँच पुग्ने गरि कार्य योजना तयार गरिरहेका छौं । बाढी लगायतका प्राकृतिक प्रकोपबाट क्षति भएका योजनाको पुनर्निर्माणको तयारी पनि गरिरहेका छौं ।’

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार