उपभोक्तालाई कम शुल्कमा सुरक्षित खानेपानी उपलब्ध गराइनेछ : मन्त्री थापा

  वास खबर सम्बाददाता  112 पटक हेरिएको

सिद्धार्थनगर : लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले कमभन्दा कम शुल्कमा शुद्ध खानेपानीको ब्यवस्था गर्न आगामी बजेटमा समावेश गर्ने दाबी गर्नुभएको छ। बुटवल उपमहानगरपालिका वडा –१३ मा रहेको वेलवास खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानी ट्याङ्की शिलान्यास कार्यक्रममा उहाँले उपभोक्ताबाट आवश्यक मात्र महसुल उठाएर सहज खानेपानी र न्युन शुल्कमा धारा जडान गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यो आयोजनालाई बजेट अभाव हुन नदिने समेत प्रतिबद्धता जनाउनुभयो । जनतालाई न्युनतम शुल्कमा सेवा, सुविधा दिने हो, धेरै स्थानमा हामीले पनि देखेका छौँकि उपभोक्ता समितिहरु पनि सुविधामुखी हुनुभएन, सरकार साथमा छ । मिलेर राम्रो काम गरौँ’ उहाँले भन्नुभयो ।

बुटवल –१३ का १ हजार ५ सय घरधुरीलाई स्वच्छ खानेपानी आपूर्तिका लागि ४ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण हुनेछ । यस क्षेत्रमा भविश्यमा हुन सक्ने खानेपानी समस्या समाधान गर्न १ करोड ८५ लाख २९ हजारको लागतमा ओम–शुसिम कम्पनिले निर्माण गर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले बताउनुभयो ।

उहाँले यस खानेपानी आयोजनाको कुल लागत १४ करोड ३९ लाख ४२ हजार रहेको र यसमा ६ किलोमिटर पाइप विछाइने बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव वासुदेव पौडेलले खानेपानी योजना सफल बनाउन सिङ्गो समुदाय एकसाथ लाग्नुपर्ने बताउनुभयो ।

खानेपानी संस्थाका अध्यक्ष पुरूषोत्तम बस्यालले आफूहरुले यो योजनाका लागि बषौँदेखि लागेको र अब योजना सम्पन्न गर्न कम्मर कसेर अघि बढेको बताउनुभयो । उहाँले आजभन्दा ३०–४० वर्ष अघिसम्म यस क्षेत्रमा पानीको अभावले धेरै टाढाबाट पानी ओसार्नु पर्ने बाध्यता रहेको स्मरण गर्दै अब पानीको अभाव नहुने दाबी गर्नुभयो ।

सो अवसरमा संस्थाका उपाध्यक्ष जिवलाल पन्थी, सचिव जीवनाथ अर्याल लगायतले बोल्दै अब ट्याङ्की निर्माणपछि कम्तिमा ४० वर्षलाई स्वच्छ खानेपानी उपलब्ध हुने विश्वास गर्नुभयो । यो आयोजना अन्तर्गत ट्याङ्की निर्माणको काम बिस २०८२ पुस १३ गतेसकि सक्नुपर्ने ठेकादारसँगको सम्झौतामा उल्लेख छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार