√ झापाको मेचीनगर नगरपालिका १४ का गोपाल बहादुर सुवेदीले सेप्टिक ट्याङ्क सफाइको क्षेत्रमा काम गर्न थाल्नु भएको ५ बर्ष भयो । यो अवधिमा उहाँले धेरै अप्रिय घटनाहरुको सामना गर्नु भएको छ । सुवेदी भन्नुहुन्छ ‘दिसाजन्य लेदो तान्दा तान्दै कहिलेकाहीं जाम हुन्छ । त्यत्तिबेला प्रेसरले गर्दा दुईटा पाइप गाँसेको ठाउँबाट पाइप खुस्किएर जीउभरि दिसैदिसा हुन्छ ।’
√ सर्लाही लालबन्दीका प्रमोद माझी पनि विगत ५ बर्षदेखि सेप्टिक ट्याङक सरसफाइको काममा खटिईरहनु भएको छ । सेप्टिक ट्याङ्कर देखि सेप्टिक ट्याङ्कसम्म पाइप फिजाउने, सेप्टिक ट्याङ््कीको ढक्कन खोलेर दिसाजन्य लेदो तान्ने, खाली भैसकेपछि ढक्कन लगाउने र पाइप उठाएर पुरानै अवस्थामा राख्ने उहाँको जिम्मेवारी हो । तर उहाँले कुनै सुरक्षात्मक उपाय बिनै यो जिम्मेवारी पूरा गर्नुहुन्छ ।
सेप्टिक ट्याङ्कीमा बर्षौसम्म जम्मा भएर बसेको दिसाजन्य लेदो खाली गर्ने काम एकदम जोखिमपूर्ण भए पनि अधिकांश सरसफाइकर्मी कुनै भरपर्दो सुरक्षात्मक सामग्री बिनै काम गर्छन् । अनौपचारिक क्षेत्रमा काम गर्ने सरसफाइकर्मीसँग व्यक्तिगत सुरक्षा साधनकै अभाव छ भने औपचारिक क्षेत्रका सफाइकर्मीले समेत नियमित प्रयोग गर्दैनन् ।
चारआली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अन्तर्गत सञ्चालित मानव मलमूत्र व्यबस्थापन केन्द्रमा कार्यरत गोपाल बहादुर सुबेदी संस्थाले व्यक्तिगत सुरक्षा सामग्री दिएको भए पनि प्रयोग गर्नै असजिलो हुने भएकाले प्रयोग नगरेको बताउनुहुन्छ । ‘संस्थाले गम्बुट दिएको छ, ठूलो यत्ति लामो छ, लगाएर काम गर्न असजिलो हुन्छ । तर हिलो ठाउँ छ भने गम्बुट पनि लगाउँछौं नत्र चप्पलले नै काम चलाउँछौं ।’ उहाँले भन्नुभयो ।
सेप्टिक ट्याङ्क खाली गरिरहेको बेला भेटिएका सुवेदीले हातमा पञ्जा बाहेक अन्य कुनै पनि सुरक्षा सामग्री लगाउनु भएको थिएन । खुट्टामा सामान्य चप्पल, टिसर्ट, पाइन्ट र क्याप लगाउनु भएका सुवेदीको नाकमा मास्क पनि थिएन ।
‘यो काम गर्दा के कस्ता समस्याहरु सँग सामना गर्नु भएको छ ?’ सुबेदीलाई सोध्यौं । ‘कतिपय घरको सेप्टिक ट्याङ्क अफ्ठ्यारो ठाउँमा हुन्छ, बाटो हुँदैन । तीन वटासम्म पाइप गाँस्नुपर्ने हुन्छ । ढक्कन पनि ढलाई गरिदिएको हुन्छ । झ्याम्पलले हानेर ढक्कन उठाउँदा हात च्याप्ने हुन्छ, ठूला ढक्कन उठाउन दुई जनालाई पनि धौ धौ हुन्छ । कहिले दिसाका छिटाहरु अनुहारमा पनि आउँछ’ उहाँले एकै सासमा भन्नुभयो ।
उहाँले अर्को घटना पनि सुनाउनु भयो । ‘यो मेसिनले एक किलोसम्मको ढुङ्गा पनि तान्छ । अनि पाइप गाँसेको ठाउँमा आएर अड्किन्छ । त्यसपछि पाइप जोइन गरेको ठाउँ खुस्किँदा एक दुई पटक दिसाले नुहाएको पनि छ ।’
सेप्टिक ट्याङ्क सरसफाइको क्षेत्रमा काम गर्ने सफाइकर्मीले कल्पनै गर्न नसकिने घटनासँग सामना गर्नुपर्ने सरसफाइकर्मीहरु बताउँछन् । सर्लाही लालबन्दीका प्रमोद माझी भन्नुहुन्छ ‘जत्ति सावधानी अपनाए पनि कहिलेकाही नसोचिएको घटना हुन्छ । अनुहारमा दिसाको छिटा पर्नु त सामान्य हो । सेप्टिक ट्याङ्कको ढक्कनले हात च्यापिने, कतै सेप्टिक ट्याङ्की भित्र पस्नुपर्यो भने निस्सासिने सम्भावना हुन्छ।’
सरसफाइकर्मीहरुको पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी वकालत गर्दै आउनु भएका राम डंगोल सेप्टिक ट्याङक सरसफाइमा काम गर्ने सरसफाइकर्मीमा जैविक जोखिम, रसायनिक जोखिम, भौतिक जोखिम र मानसिक जोखिम रहने बताउनुहुन्छ । ‘जैविक जोखिम अन्तर्गत स्वास्थ्यमा नकारात्मक असर गर्ने भाइरस, ब्याक्टेरिया, हेल्मिन्थ, प्रोटोजोवा, किटपतंग, जनावर र कूहिने ठोस पदार्थले गर्दा छाला चिलाउने, श्वासप्रश्वास प्रणाली, छाला र आँखामा संक्रमण फैलिने सम्मको असर हुन सक्छ’ डंगोल भन्नुहुन्छ ‘सेप्टिक ट्यांकी विषाक्त ग्याँसले भरिएको हुनसक्छ र यस्तो ठाउँमा अक्सिजनको अभाव हुन्छ । यस्तो ठाउँमा काम गर्दा टाउको दुख्ने, ज्वरो आउने दम, रिंगटा लाग्ने हुनसक्छ ।’
यस्तै भ¥याङ चढ्दा÷झर्दा, सेप्टिक ट्याङ्कको ढक्कन खोल्दा बन्द गर्दा, चिप्लो सतहले गर्दा पटक पटक दुर्घटनाहरु हुन सक्ने उहाँले बताउनुभयो । ‘चिप्लो ठाउँ, साँघुरो प्रवेशद्धारले गर्दा उपकरणको ओसारपसारमा अवरोध हुने लड्ने, हात खुट्टा भाँचिने समस्या आउन सक्छ’ उहाँले भन्नुभयो ।
सेप्टिक ट्याङ्क ससरसफाइकर्मीले मानसिक जोखिमको पनि सामना गर्नुपर्ने हुन्छ । डंगोल भन्नुहुन्छ ‘सरसफाइ कार्यमा संलग्न कामदारलाई सामाजिक दृष्टिकोण र दुव्र्यवहारले आत्मसम्मानमा चोट पुग्न सक्छ, जसले गर्दा तनाव, लाज, हिनताबोध हुन सक्छ ।’
सरसफाइकर्मीको स्वास्थ्य सुरक्षा के हो ?
सरसफाइको काम गर्ने अवधिमा कुनै सरसफाइकर्मीको शारीरिक स्वास्थ्य, मुड र व्यवहारमा देखिने कामको असर (प्रभाव) लाई पेशागत स्वास्थ्य भनिन्छ । पेशागत स्वास्थ्यले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई समेट्ने डंगोलको भनाइ छ । ‘पेशागत स्वास्थ्य र सुरक्षाको कुरा गर्दा रोजगारको सुनिश्चितता, कार्यस्थलमा सुरक्षित वातावरण, काम गर्दा सुरक्षा कवजको उपलब्धता, उपचार खर्च, आकस्मिक खर्च, भत्ता, बीमा, पेश्की जस्ता सुविधाहरु र मर्यादित व्यवहार जोडिन्छन्’ उहाँले भन्नुभयो।
कार्यस्थलमा आफू सुरक्षित हुनाका लागि सरसफाइकर्मीले व्यक्तिगत सुरक्षा सामाग्रीहरु प्रयोग गर्नुपर्छ भने प्रयोग भैसकेपछि साबुन पानीले सफा आफ्ना उपकरणहरु र आफूले लगाएका पोशाकहरु सफा गर्नुपर्छ । ‘सेप्टिक ट्याङ्क सफा गर्ने बेला छुट्टै पोशाक लगाउनुपर्छ । यदि छुट्टै पोशाक छैन भने काम बाट फर्केपछि लुगा फेर्नुपर्छ’ डंगोल भन्नुहुन्छ ‘नियमित नुहाउने, लुगा र जुत्ता धुने, काममा प्रयोग भएका उपकरण र औजार धुने, व्यक्तिगत सुरक्षा सामाग्रीको सफाइ र निर्मलीकरण गर्ने काम गर्नुपर्छ ।’
सेप्टिक ट्याङ्क सफाइकर्मीले प्रयोग गर्नुपर्ने सुरक्षा सामग्री
शहरलाई सफा राख्न एकै प्रकृतिको काम गर्ने सरसफाइकर्मी मात्र कार्यरत छैनन् । कोही सडकमा झाडु लगाएर फोहोर जम्मा पार्छन् । कोही फोहोर संकलन गर्छन्, कोही बर्गीकरण गर्छन्, कसैले ढुवानी गरेर ल्याण्डफिल साईटमा पु¥याउँछन्, कोही सार्वजनिक शौचालय सफाइको काम गर्छन् त कोही सेप्टिक ट्याङ्क सफाइ गर्छन् ।
सरसफाइकर्मीको कामको विशेषता अनुसार कार्यस्थलमा लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामग्री पनि फरक फरक हुने डंगोलले बताउनुभयो । उहाँका अनुसार सेप्टिक ट्याङ्क सफाइ गर्ने सरसफाइकर्मीले मास्क, एप्रोन, पन्जा, गम्बुट, चश्मा, हेलमेट र रिफ्लेक्टिव ज्याकेट लगाउनुपर्छ । सरसफाइकर्मीले उल्लेखित सुरक्षा सामग्री उपयुक्त तरिकाले लगाएको खण्डमा कार्यस्थलमा हुन सक्ने विभिन्न दुर्घटना र भविश्यमा लाग्न सक्ने दिर्घ रोगबाट पनि बच्ने सक्ने उहाँको भनाइ छ ।
सरसफाइकर्मीहरु भने आफूहरुको ३/४ महिनाको फरकमा स्वास्थ्य परिक्षण भैरहनु पर्ने, स्वास्थ्य बीमा र दुर्घटना बीमाको व्यबस्था हुनुपर्ने बताउँछन् । ‘सरसफाइ क्षेत्रमा काम गर्ने भएपछि रोग लाग्ने सम्भावना पनि धेरै हुन्छ । रोग लागिहालेमा तत्काल उपचार गर्ने पैसा पनि हुँदैन । त्यस्तो आपतकालीन अवस्थामा उपचार गर्न स्वास्थ्य बीमा भरपर्दो हुने रहेछ’ पोखरामा विगत १५ बर्षदेखि सेप्टिक ट्याङ्की सफाइमा कार्यरत चितवनका दिनेश मगर भन्नुहुन्छ ‘यो क्षेत्रमा काम गर्दा धेरै पटक मृत्युको मुखबाट फर्केको अनुभव छ, दुर्घटना भैहाल्यो भने औषधी उपचार गर्न दुर्घटना बीमा पनि हुनुपर्ने रहेछ ।’
अबको बाटो
सरसफाइकर्मीहरु बिना शहरी सौन्दर्यको परिकल्पना गर्न पनि सकिदैन । शहरी सरसफाइमा क्रियाशील सरसफाइकर्मीहरु सुरक्षित भयो भने मात्र सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइले पूर्णता पाउँछ । त्यसैले सरसफाइ सेवा श्रृंखलाको हरेक चरणमा सरसफाइकर्मी सुरक्षित हुन आवश्यक छ ।
देशका विभिन्न स्थानमा कार्यरत औपचारिक र अनौपचारिक दुवै खालका सरसफाइकर्मीहरु सँग अन्तरक्रिया गर्दा सरसफाइ पेशाको माध्यमबाट लाग्न सक्ने रोग र जोखिम प्रति बुझाईको कमी रहेको पाईयो । अनौपचारिक तरिकाले कार्यरत सरसफाइकर्मीलाई सामान्य सुरक्षा सामग्री (पञ्जा, मास्क, गम्बुट) समेत उपलब्ध नगराएको भेटियो भने औपचारिक तरिकाले काम गर्ने सरसफाइकर्मीले समेत उपलब्ध सुरक्षा सामग्री पनि सदुपयोग नगरेको पाईयो ।
यसो हुनुमा आफ्नो पेशा कति जोखिमपूर्ण छ र यसका लागि अपनाउनुपर्ने सचेतता बारे अज्ञानता प्रमुख कारण हो । आफ्नो स्वास्थ्यको सुरक्षा भन्दा पनि तत्कालका सजिलोको लागि जोखिम मोलेरै काम गरिरहेका सरसफाइकर्मीहरुम पेशागत स्वास्थ्य र सुरक्षा बारे तालिमको पनि अभाव देखियो ।
अतः यस क्षेत्रमा कार्यरत संघसंस्था र सरकारी निकायले सरसफाइकर्मीहरुलाई पेशागत स्वास्थ्य र सुरक्षाबारे ब्यापक तालिम दिन आवश्यक छ । कार्यस्थलमा सरसफाइकर्मीले अनिवार्य व्यक्तिगत सुरक्षा सामग्री लगाउनुपर्ने र रोजगारदाताले त्यस्तो सामग्री उपलब्धी गराउने बिषयमा नीति नियम बनाएर अनिवार्य लागु गर्नुपर्ने देखिन्छ ।
सरसफाइ क्षेत्रमा क्रियाशील सरसफाइकर्मीहरु जब सम्म सुरक्षित हुँदैनन् तब सम्म शहरका अन्य मानिसहरु सुरक्षित भए पनि सुरक्षित सरसफाइ सेवा पुगेको मान्न सकिदैन । त्यसैले सबैभन्दा पहिले सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामा ध्यान जानु जरुरी छ ।