सुरक्षित सरसफाइका लागि देशभर २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएका छन् । ती मध्ये मुश्किलले एक चौथाई दिसाजन्य लेदो प्रशोधन केन्द्र मात्र सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । बाँकी प्रशोधन केन्द्रहरु कहीं दिसाजन्य लेदोको अभाव, कतै जथाभावी बिसर्जन गर्ने समस्या त कतै नगरपालिका सँग यस सम्बन्धी कानुनको अभाव र कतै भने बनेका संरचनाले राम्रो सँग काम नगर्दा सञ्चालन हुन सकेका छैनन् ।
विभिन्न कारणले बन्द भएका दिसाजन्य लेदो प्रशोधन केन्द्रहरुलाई कसरी सुचारु गराउने भन्ने बारे नियमित रुपमा सञ्चालन भईरहेका दिसाजन्य लेदो प्रशोधन केन्द्रहरुले अपनाउँदै आएका तरिकाबारे बुझ्न आवश्यक छ । उस्तै प्रकृतिको दिसाजन्य लेदो प्रशोधन केन्द्रले समान समस्यासँग सामना गरिरहेका अर्को प्रशोधन केन्द्रबाट निराकरणको उपाय अबलम्बन गर्न सक्छन् भने कतै आईडिया अभावले सञ्चालन हुन नसकेका प्रशोधन केन्द्रका लागि सहयोगी बन्न सक्छ ।
नियमित रुपमा सञ्चालन हुँदै आएको दिसाजन्य लेदो प्रशोधन केन्द्र मध्येको एक हो सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गर्दै आएको ‘प्रशोधन केन्द्र’। २०७८ चैत्रदेखि सञ्चालनमा रहेको यो प्रशोधन केन्द्र अहिलेसम्म एक पटक पनि बन्द भएको छैन । यो प्रशोधन केन्द्र नियमित रुपमा सञ्चालन हुनुका पछाडि धेरै पक्षहरु जिम्मेवार छन् । कर्मचारीको निर्दिष्ट कार्यविभाजन, तहगत रिपोर्टिङ सिस्टम, कडा कानुन तथा यसको कार्यान्वयन र सुरक्षित सरसफाइ प्रति प्रतिबद्ध जनप्रतिनिधी र कर्मचारीका कारण यो सम्भव भएको हो ।
दिसाजन्य लेदो प्रशोधन केन्द्र सुर्खेतका फोकल पर्सन हुनुहुन्छ, मायाराम शर्मा । उहाँसँग हामीले एउटा दिसाजन्य लेदो प्रशोधन केन्द्र राम्रो सँग सञ्चालन हुनाका लागि के कस्ता आधारस्तम्भ हुनुपर्दोरहेछ भनेर सोधेका छौं । उहाँका अनुसार निम्न आधारस्तम्भ भयो भने जुनसुकै दिसाजन्य लेदो प्रशोधन केन्द्र पनि नियमित सञ्चालनमा आउन सक्छ ।
१. नीति नियम निर्माण
दिसाजन्य लेदोको व्यवस्थापन सम्बन्धी सबैभन्दा पहिले नगरपालिकाले नीति नियम वा कानुन जारी गर्नुपर्छ । नगरपालिकाले बनाउने यस्तो विनियम वा कानुनमा शौचालय तथा सेप्टिक ट्याङ्क निर्माणको मापदण्ड, सेप्टिक ट्याङ्क खाली गर्ने, ढुवानी गर्ने, प्रशोधन गर्ने, यसको पुनः प्रयोग गर्ने र प्रशोधन भएपछिको फोहोरपानीको नियमित परिक्षण गर्ने सम्मको बिषयहरु समेटिएको हुनुपर्छ । यदि सेप्टिक ट्याङ्कबाट निकालेको दिसाजन्य लेदो प्रशोधन स्थलसम्म नपु¥याई जंगल, झाडी, खोलानाला वा खेतमा विसर्जन गरेमा कस्तो सजाय हुने समेतको व्यवस्था पनि नीति नियममै किटान गरिएको हुनुपर्छ । बीरेन्दनगर नगरपालिकाको हकमा दिसाजन्य लेदो व्यबस्थापन सम्बन्धी छुट्टै विनियम छ । विनियम अनुसार नै बीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ देखि १२ नम्बर सम्मका घरधुरीहरुको दिसाजन्य लेदो पदार्थ संकलन गरी प्रशोधन गरिरहेको छ ।
२.सचेतनामूलक कार्यक्रम
दिसाजन्य लेदोलाई व्यवस्थापन गर्नका लागि सचेतनामूलक कार्यक्रम गर्न एकदम जरुरी छ । दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनका बिषयमा जत्ति धेरै सचेतना फैलाउन सकियो, त्यत्ति धेरै यसको व्यवस्थापन गर्न सजिलो हुन्छ । दिसाजन्य लेदो पदार्थ जथाभावी बिसर्जन गर्नुहुँदैन, यो जनस्वास्थ्यका लागि घातक छ भन्ने कुरा जनस्तरमै बुझाउन सक्यो भने दिसाजन्य लेदो प्रशोधन केन्द्रमै लैजानुपर्छ भनेर सचेत हुन्छन् । बीरेन्द्रनगरको सवालमा कहीं कतै सेप्टिक ट्याङ्क भरिएको, बाहिर बगिरहेको वा कसैले खेत वा जंगलमा विसर्जन गरिहेको देख्यो भने हामीलाई तुरुन्त फोन गर्नुहुन्छ ।
३. कार्यविभाजन
दिसाजन्य लेदो प्रशोधन केन्द्र बनाउँदैमा सञ्चालनमा आउने कुरा होइन । यसका लागि स्पष्ट कार्यविभाजन चाहिन्छ । बीरेन्द्रनगर नगरपालिकाले दिसाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालनका लागि मात्र दुई जना कर्मचारी राखेको छ । ती कर्मचारीले प्रशोधन केन्द्रमा आउने ट्याङ्करको रेकर्ड राख्नुहुन्छ । प्रशोधन केन्द्रको चारैतिर सन्तुलित तरिकाले दिसाजन्य लेदो खसाल्नका लागि विभिन्न गेट भल्भहरु खोल्ने, कुन गेट भल्भ कुन साईटमा छोड्ने ? सोही अनुसार मिलाउनुहुन्छ । त्यहाँ रोपिएको बेसारे फूललाई काँटछाँट गर्ने, विरुवा मरेको ठाउँमा अन्य विरुवाहरु सार्ने, त्यहाँका सबै संरचनाले काम गरिरहेको छ कि छैन ? भनेर लेखाजोखा राख्ने काम गर्नुहुन्छ ।
४. निजी क्षेत्र परिचालन
बीरेन्द्रनगर नगरपालिकामा दिसाजन्य लेदो संकलनको काम निजी क्षेत्रले मात्र गर्दै आएको छ । नगरपालिकाले यस सम्बन्धी काम गर्न इच्छुक निजी क्षेत्रलाई सूचीकरणका लागि पत्रिकामा सूचना जारी गरेको थियो । सोही मूताबिक तीन वटा निजी कम्पनीहरुले नगरपालिकामा सूचीकृत भएर नगरपालिकाको नियमको परिधिभित्र रहेर दिसाजन्य लेदो संकलनको काम गर्दै आएका छन् ।
५. नियमित रिपोर्टिङ गर्ने संयन्त्र
प्रशोधन केन्द्रका विभिन्न संरचनाहरु कहिलेकाहीं बिग्रिन सक्छ वा नियमित काम नगर्न सक्छ । यस्तो अवस्थामा प्रशोधन केन्द्रमा दैनिक कार्यरत दुई जना कर्मचारीहरुले तत्काल फोकल पर्सनलाई जानकारी गराउनुहुन्छ । त्यसपछि भएको के हो ? स्थलगत अध्ययनका लागि फोकल पर्सन प्रशोधन केन्द्रमा खटिनुहुन्छ । फोकल पर्सनको तहबाटै समस्या हल हुनसक्ने छ भने तत्काल मर्मत गरिन्छ । त्यस भन्दा माथिल्लो तहको सहयोग आवश्यक पर्ने भएमा माथिल्लो तहमा रिपोर्टिङ गरी तत्काल समाधानको उपाय निकालिन्छ ।
६. नियमित मर्मत सम्भार
दिसाजन्य लेदो प्रशोधन केन्द्र र त्यहाँ सम्म पुग्ने पहुँच मार्गको समय समयमा मर्मत सम्भार गरिरहनु पर्छ । कतै प्राविधिक समस्या आएको रहेछ भने पनि मर्मत सम्भार वा पुनःनिर्माण नै गर्नुपर्छ । प्रशोधन केन्द्रको पाइपहरु, फिल्ट्रेसन युनिट आदि संरचनाले काम नगरेको हुनसक्छ त्यस्तो अवस्थामा नियमित मर्मत सम्भारले प्रशोधन केन्द्रको कार्यक्षमत बढाउँछ । बीरेन्द्रनगर नगरपालिकाले प्रशोधन केन्द्रका साथै पहुँच मार्गको स्तरोन्नतिको काम बर्षेनी गर्दै आएको छ ।
नगरपालिकाले प्रत्येक आर्थिक बर्षमा बजेट छुट्याएर सडक पक्की बनाउने काम गरिरहेको छ । अघिल्लो बर्ष पनि ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । यस्तै गत बर्ष १ करोड ४० लाख लगानी गरेको थियो भने यो बर्ष ५० लाख विनियोजन गरेको छ । यसरी सडक र प्रशोधन केन्द्रको नियमित स्तरोन्नति वा मर्मत सम्भार गरिरहनु पर्छ ।
७. नगरपालिकाको मातहतमा
दिसाजन्य लेदो प्रशोधन केन्द्र नगरपालिकाको मातहतमा हुनुपर्छ । हाम्रोमा नगरपालिकाको वास युनिटले प्रशोधन केन्द्रको रेखदेख र सञ्चालन गर्दै आएको छ । नगरपालिकाको मातहतमा हुँदा प्रशोधन केन्द्रमा कार्यरत जनशक्तिलाई प्रशोधन केन्द्रकै आम्दानीबाट तलब दिन सकेन वा तत्काल केही मर्मत सम्भार गर्नुपर्यो भने पनि नगरपालिकाले आर्थिक लगानी गर्न सक्छ । नगरपालिकाको नियम विपरित कहीँ खोलानाला, बनजंगलमा दिसाजन्य लेदो बिसर्जन गरेको भेटिए तत्काल कार्वाही गर्न पनि सकिन्छ । तर अरु निकायले प्रशोधन केन्द्र सञ्चालन गर्दा त्यत्ति सजिलो नहुन सक्छ ।
८. नीति नियमको कार्यान्वयन
नीति नियम बनाएर मात्र हुँदैन । यसको कडाईका साथ कार्यान्वयन गर्नुपर्छ । नीति नियम बनाउने तर थन्क्याएर राख्ने परिपाटीले दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु सञ्चालन हुन नसकेका कैयौं उदाहरणहरु छन् । यसका लागि खोलानाला, वनजगल र खेतमा विसर्जन गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । जसले गर्दा प्रशोधन केन्द्रमा दिसाजन्य लेदोको नियमित आपूर्ति हुन्छ । एकपटक हामी कहाँ पनि बाहिर खेतमा फालिरहेको भेट्टायौं ।
हामीलाई स्थानीय समुदायले खबर ग¥यो । त्यसपछि हाम्रो टोलीले त्यो ट्याङ्कर धनी पत्ता लगाएर पहिलो पटक १० हजार रुपैयाँ जरिवाना गर्ने नगरपालिकाको विनियम अनुसार जरिवाना तिरायौं । त्यसपछि आउँदा दिनमा बाहिर नफाल्ने प्रतिबद्धता जाहेर गर्न लगायौं । त्यसपछिका दिनमा बाहिर फाल्यो भन्ने सूचना कहिल्यै आएन । यदि त्यो दिन छुट दिएका थियौं भने मानिसहरुले बाहिरै फ्याँकिरहेका हुन्थे । प्रशोधन केन्द्र आंशिक रुपमा मात्र सञ्चालन हुने अवस्था आउन सक्थ्यो ।
९. सुरक्षित सरसफाइ प्रति कटिबद्ध जनप्रतिधि र कर्मचारी
दिसाजन्य लेदोको समुचित व्यवस्थापन गर्ने काम नगरपालिकाको प्राथमिकता पर्नुपर्छ । कर्मचारी र जनप्रतिनिधी पनि नगर क्षेत्रभित्रको सरसफाइलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न कटिबद्ध भयो भने दिसाजन्य लेदो प्रशोधन केन्द्र बनेर पनि बन्द भएर बस्नुपर्दैन । मर्मत सम्भार गर्नुपर्ने भएमा तत्काल बजेट विनियोजन गर्ने, प्रशोधन केन्द्रको बारेमा अद्यावधिक राख्ने, थप नियम कानुन बनाउनुछ भने बनाउँने र त्यसको कडाइका साथ कार्यान्वयन गर्ने खालको हुनुपर्छ । नगर कार्यपालिका भनेको जननिर्वाचित अधिकार सम्पन्न निकाय भएकाले सबैभन्दा बलियो नगर कार्यपालिका नै हुनुपर्छ ।
१०. रोजगारमूलक क्षेत्र
नगरपालिकाले नियम पूर्वक सञ्चालन गर्दा यो रोजगारमूलक क्षेत्र हो । एउटा दिसाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालन गर्दा दशौं जना रोजगार बन्न सक्छन् । सेप्टिक ट्याङ्कीलाई स्तरीय तरिकाले निर्माण गर्ने, दिसाजन्य लेदो संकलन गर्ने ट्याङ्कर सञ्चालक, सफाइकर्मी, प्रशोधन केन्द्रका कर्मचारी र प्रशोधन पश्चात उत्पादन हुने मलको बजारीकरण लगायत काममा धेरै मानिसलाई रोजगार दिन सकिन्छ । यो कुरा हरेक नगरपालिकाले बुझ्न जरुरी छ ।
११. राजश्व संकलनको नयाँ क्षेत्र
दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन भएमा वातावरणीय स्वच्छता र जनस्वास्थ्यको रक्षा हुने त छँदैछ, यो नगरपालिकाको लागि राजश्व संकलनको नयाँ क्षेत्र पनि बन्न सक्छ । हामीले २०७८ चैत्र देखि सञ्चालन गर्दा हालसम्म दुई जना कर्मचारीहरुको तलब व्यहोरेर पनि करिब १६ लाख रुपैयाँ आम्दानी भएको छ । यहाँ प्रवेश शुल्क बापत प्रति ट्याङ्कर प्रत्येक पटक ८ सय रुपैयाँ तिर्नुपर्छ । एक दिनमा सालाखाला तीन ट्याङ्कर दिसाजन्य लेदो आउँछ । यसलाई प्रशोधन गरी मल उत्पादन गरेर विक्री गर्न सक्यौं भने अझ थप आम्दानी लिन सकिन्छ ।
१२. दण्ड र पुरस्कार
सरसफाइ क्षेत्रको काम जोखिमपूर्ण छ । यस क्षेत्रलाई सामाजिक हेयको दृष्टिले पनि हेरिन्छ । यसको बाबजुद सफाइ कर्मचारीहरु दिनरात नभनी खटिएका छन् । सफाइकर्मीकै कारण शहरको सौन्दर्य कायम रहेको छ । त्यसकारण दिसाजन्य लेदो प्रशोधन केन्द्रमा कार्यरत कर्मचारी वा निजी क्षेत्रका सरसफाइकर्मी जो भए पनि दण्ड मात्र होँइन पुरस्कारको व्यवस्था पनि गर्नुपर्छ । जसले गर्दा उहाँहरु आफ्नो सेवा थप स्तरीय तरिकाले सम्पन्न गर्न प्रोत्साहित होस् ।
दिसाजन्य लेदो प्रशोधन केन्द्रका फोकल पर्सन मायाराम शर्माको यो अनुभवले प्रशोधन केन्द्र सञ्चालनका क्रममा समस्याहरु आउन सक्छन् । समस्या भित्रै समाधान खोज्ने हो भने दिसाजन्य लेदो प्रशोधन केन्द्र जसरी पनि सञ्चालन गर्न सकिन्छ ।
सबैभन्दा गाह्रो काम दिसाजन्य लेदो प्रशोधन केन्द्र नै निर्माण गर्न सफल भए पछि सञ्चालन गर्न नसक्ने भन्ने प्रश्नै आउदैन । यसका लागि जनप्रतिनिधिमा इच्छाशक्ति हुनुपर्छ । इच्छा शक्ति भएको खण्डमा सञ्चालनको काम सामान्य हो ।