बैतडी : पानीका मुहान सुकेर वन सम्पदा सुक्न थालेपछि मेलौली नगरपालिकाले वन जङ्गलमा रिचार्ज पोखरी निर्माण सुरु गरेको छ । पोखरी निर्माण गर्न नगरप्रमुख, वडा अध्यक्ष र समुदायका मानिस वन जङ्गलमै बैठक बसेर काम गर्न थालेका छन् ।
जलवायु परिवर्तनका कारण पानीका मूल सुक्न थालेपछि वनमा सुक्खापन बढ्दै जाँदा डढेलो लाग्न लाग्न थालेपछि भू उपयोग योजना अन्तरगत रिचार्ज पोखरी निर्माण सुरु भएको मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्द (भूकम्प) ले बताउनुभयो । भू उपयोग योजना बनाउन नगरपालिकालाई राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले प्राविधिक सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।
योजना अन्तरगत पहिलो चरणमा बढी सुक्खाग्रस्त क्षेत्र मानिएका मेलौली नगरपालिका–९, बाट कामको थालनी भएको वडा अध्यक्ष लोकराज भट्टले बताउनुभयो । वडाभित्र रहेका सामुदायिक वनमा १५ वटा रिचार्ज पोखरी निर्माणको काम सकिएको उहाँले बताउनुभयो ।
जल सम्पदाको संरक्षण गर्दै जमिनको उपयोग गरेर जीवनस्तरमा सुधार ल्याउन मेलौली नगरपालिका–९,को सबै खेतीयोग्य जमिनमा सामूहिक खेती गर्ने गरी योजना बनाएको राष्ट्रिय भूमिका अधिकार मञ्च नेपालका श्रोत व्यक्ति नरीराम लोहारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पानीका मूल सुक्न थालेपछि परम्परागत कुलो र कुवा सङ्कटमा परेका छन् । गाउँमा सिँचाई नहुँदा जमिन बाँझो रहँदा खाद्य सङ्कटसमेत बढेपछि भू उपयोग योजनाका लागि नगरपालिकालाई प्राविधिक र समुदाय परिचालनमा सहयोग गरिरहेका छौँ ।”
पहाडी क्षेत्रमा खाद्य सङ्कट निम्तिन थालेपछि वडा कार्यालयले पर्यावरणीय सन्तुलन कायम गरी जीविकोपार्जन गर्न सामुदायिक नीति २०८१ जारी गरेर बाँझो जग्गा उपयोग गर्ने कार्यक्रम घोषणा गरेको मेलौली नगरपालिका–९, का वडा अध्यक्ष लोकराज भट्टले बताउनुभयो ।
सामुदायिक नीति घोषणा भएपछि बाँझो जग्गा उपयोग गर्ने, जलवायु अनुकूलन खेती गर्न रैथाने मूल बिउ जोगाउने, खानेपानीको मुहानमा सिमेन्टको प्रयोग नगर्ने, पानीका मुहान जोगाउन रिचार्ज पोखरी निर्माण, पशुपालनका लागि घाँस खेती गर्ने र वातावरण जोगाउन पाँच हजार वृक्षारोपण गर्ने काम अघि बढेको वडा अध्यक्षले बताउनुभयो ।
केही वर्षअघि विशालपुर गाउँका ३५६ परिवार कोदोखेती गर्दै आएकोमा अहिले जम्मा ६० परिवारले मात्रै कोदोखेती गर्दै आएका छन् । गाउँमा सडक पुगेपछि बाहिरबाट खाद्यान्न आउन थालेको छ । घर परिवारका लागि खाद्यान्न किन्न युवाहरु विदेशमा रोजगारी खोज्न हिँडेका छन् । मुहान सुक्न थालेपछि लामो खडेरी पर्दा अधिकांश जग्गा बाँझो रहेको छ ।
गाउँमा खाद्य सङ्कट, खडेरी, बेरोजगारी र बसाइसराइको दर बढ्दा गाउँ रित्तिने अवस्था आएपछि नगरपालिकाका सबै वडामा भू उपयोग योजना बनाई नयाँ कामको थालनी गरिएको नगरप्रमुख चन्दले बताउनुभयो ।
उहाँले, भू उपयोग योजना बनाउन समुदाय स्तरमै बैठक बसेर सम्भावना, समस्या र समाधानको खोजी गर्न भूमि अधिकारको क्षेत्रमा काम गर्दै आई रहेका सामाजिक अगुवा, बुद्धिजीवीसँग वन जङ्गलमै बैठक बस्ने गरेको बताउनुभयो । साभार : गोकर्ण दयाल/गोरखापत्र दैनिक।