भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. २ मा रहेको डुडोल ढुङ्गेधाराको जीर्णोद्धार गरी उद्घाटन गरिएको छ । Bremen Overseas Research and Development Association (BORDA) SOUTH ASIA को आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिकामा सञ्चालित “नगरपालिकाको आम चासोमा केन्द्रित शहरी क्षेत्रमा एकिकृत पानी व्यवस्थापन” परियोजना अन्तर्गत ढुङ्गेधाराको जीर्णोद्वार गरी उद्घाटन गरिएको हो ।
चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले पुनः निर्माण सम्पन्न भएको डुडोल ढुङ्गे धाराको एक उद्घाटन गर्नुभयो । डुडोल ढुङ्गेधाराको बिगतको अवस्था र निर्माण पश्चातको अवस्थाको बारेमा वडा नं. २ का अध्यक्ष सोम प्रसाद प्रधानले जानकारी गराउनुभयो ।
उदघाटन कार्यक्रममा मेयर खत्रीले यस परियोजनाबाट नगर क्षेत्रभित्र रहेको खानेपानीको संरचनाहरु परम्परागत ढुङ्गेधारा, ईनार, कुवा, खानेपानीको स्रोतहरुले पुनर्जीवन प्राप्त गर्ने धारणा व्यक्त गर्नुभयो । ‘हामीले हाम्रो सम्पदाहरुलाई जीवन्त राखी नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो’ उहाँले भन्नुभयो ।
परियोजना कार्यान्वयनका लागि नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता (ध्ब्क्ज्) शाखाले आवश्यक समन्वय र सहजीकरणको लागि काम गरिरहेको नगरपालिकाका वास संयोजक सुरेन्द्र लामिछानेले बताउनुभयो ।
सन् २०२६ सम्म सञ्चालन हुने परियोजनाले नगरपालिका क्षेत्र भित्र रहेको परम्परागत ढुङ्गेधारा, ईनार, कुवा, खानेपानीका स्रोतहरु, सार्वजनिक शौचालयहरु लगायत संरचनाहरुको संरक्षण गर्न र पुनःनिर्माण गर्न डिपिआर, योजना, डिजाइन तथा परामर्श सेवा प्रदान गरी प्राविधिक सहयोग प्रदान गर्नेछ ।
अन्य पालिकाहरुमा परिक्षण सफल भएको योजना र नयाँ प्रबिधिलाई चाँगुनारायण नगरपालिकामा पनि अनुशरण गरिने परियोजनाको लक्ष्य छ । खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण, जलवायु र लैङ्गिक स्मार्ट शहर बनाउन मूल्याङ्कन ढाँचा विकास गरी लागु गर्ने, नगरपालिका क्षेत्र भित्र हासिल गरेका अनुभव र उपलब्धीमूलक दस्तावेजहरुलाई अन्य पालिका तथा शहरहरुको लागि सामग्रीको रुपमा सहयोग गर्ने लगायतको कार्यहरु परियोजना अन्तर्गत गरिनेछ ।
दिगो बिकास लक्ष्य ६ अन्र्तगत “सुरक्षित खानेपानी र दिगो सरसफाइ” ले लिईएको लक्ष्य र उदेश्य हासिल गर्नको लागि परियोजनाले महत्वपूर्ण सहयोग प्रदान गर्नेछ । यस नगरपालिकामा सुरक्षित पानी र उत्थानशील नगरपालिका (Building a Water Safe Resilient Municipality) बनाउने कार्यमा समेत यस परियोजनाले सहयोगी भूमिका खेल्नेछ ।