जैविक फोहोरको आपूर्ति कम हुँदा बायो ग्यास प्लान्ट संकटमा

  वास खबर सम्बाददाता  222 पटक हेरिएको

दाङ : घोराही उपमहानगरपालिका–१६ करौती डाँडामा फोहोरबाट ग्यास उत्पादन गर्ने भनी उद्घाटन भएको तीन वर्ष हुन थालेको छ । तर नागरिकले ग्यास पाउन सकेका छैनन् । २०७८ चैत १९ गते बायो ग्यास प्लान्टको उद्घाटन गरिएको थियोे । तर उद्घाटन भएको लामो समय बितिसके पनि हालसम्म नागरिकले ग्यास पाउन सकेका छैनन् ।

उद्घाटन भएपछि ग्यास पाइने आशामा रहेका नागरिक अहिले प्लान्ट हेरेर बस्न बाध्य भएका छन् । ‘उद्घाटन भएपछि अब ग्यास पाउने आशा गरेका थियौं तर अहिलेसम्म ग्यास पाइएन,’ एक स्थानीयले भने । यसले नागरिकलाई झुक्याउने काम मात्र भएको उनको भनाइ छ । अहिले ग्यास प्लाण्ट नजिकै रहेका केही घरमा मात्र निस्शुल्क रूपमा ग्यास वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि. र घोराही उपमहानगरपालिका बीच त्रिपक्षीय सहकार्यमा फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते सम्झौता भएको थियो ।

ग्यास प्लान्टलाई दैनिक २५ टन फोहोर आवश्यक पर्ने भए पनि अहिले चारदेखि पाँच सय केजी मात्र फोहोर उपलब्ध छ ।

फोहोरबाट ग्यास उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत बेहोर्ने सहमति भएको नेपाल ऊर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो। यसमा उपमहानगरपालिकाको लगानी शून्य रहेको छ । नगरपालिकाले जग्गा मात्र उपलब्ध गराएको कम्पनीले जनाएको छ । नगरपालिकाले संरचना निर्माणका लागि करिब तीन बिगाहा जग्गा उपलब्ध गराएको छ । ग्यास प्लान्ट दुई हजार घनमिटरको रहेकोे प्लान्ट म्यानेजर श्रेष्ठको भनाइ छ ।

ग्यास प्लान्टबाट अहिले केही मात्रामा ग्यास उत्पादन समेत सुरु भएको छ । तर प्लान्टका लागि आवश्यक पर्ने फोहोर पाउन नसकेपछि पशुपालनको तयारी गरिएको छ । यसका लागि घोराही उपमहानगरपालिकासँग ग्यास प्लान्ट क्षेत्रमा जग्गा माग गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । जग्गा दिनका लागि उपमहानगरपालिकाले बताए पनि हालसम्म पाउन नसकिएको उहाँको भनाइ छ ।

‘आवश्यक मात्रामा फोहोर नपाएपछि पशुपालनको योजना बनाएका हौं,’ प्लान्ट म्यानेजर श्रेष्ठले भन्नुभयो। जग्गा उपलब्ध भए बजारी क्षेत्रमा छाडा रहेका पशु तथा उन्नत जातका भैंसीपालन गर्ने योजना रहेको उहाँको भनाइ छ । ‘यसका लागि जग्गाको पर्खाइमा छौं,’ उहाँले भन्नुभयो । पशुपालन गरेमा गोबर हुने र त्यसबाट ग्यास उत्पादन गर्न सकिने उनको भनाइ छ । फोहोरका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेर कुरा गरे पनि पाउन नसकेको उहाँले बताउनुभयो । ‘स्थानीय पालिकासँग पटक पटक कुरा गर्दा पनि फोहोर पाउन सकिएन,’ प्लान्ट म्यानेजर श्रेष्ठले भन्नुभयो।

अहिले जग्गाको पर्खाइमा रहेको उहाँको भनाइ छ । ग्यास प्लान्टलाई दैनिक २५ टन फोहोर आवश्यक पर्ने भए पनि अहिले चारदेखि पाँच सय केजी मात्र फोहोर उपलब्ध छ । जसले गर्दा पर्याप्त मात्रामा ग्यास उत्पादन हुन नसकेको हो । फोहोर नपाउँदा कम उत्पादन भएपछि अहिले गरुवा गाउँका ३४ घरमा मात्र ग्यास वितरण गरिएको छ । उनीहरूलाई निस्शुल्क ग्यास दिएको उहाँले बताउनुभयो । ग्यास खेर फाल्नु भन्दा स्थानीयलाई प्रयोग गर्न दिएको उहाँले बताउनुभयो । अहिले दैनिक करिब ६० देखि ६५ घन मिटरसम्म ग्यास उत्पादन हुने गरेको उहाँको भनाइ छ । फोहोर धेरै भएमा उत्पादन वृद्धि हुने श्रेष्ठको अपेक्षा छ ।

सुरुका दिनमा जिल्लाका विभिन्न स्थानमा पुगेर कुखुरा, गाई भैंसीको मल ल्याएर राखेकाले केही ग्यास उत्पादन भएको थियो । अहिले फोहोरको मात्र कम भएकाले ग्यास कम उत्पादन भएको उहाँले बताउनुभयो । फोहोर पर्याप्त मात्रामा उपलब्ध भएमा ७५० घरमा ग्यास पुग्ने उहाँको भनाइ छ । ग्यास उत्पादनका लागि पहिले करिब २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइप मार्फत् घरघरमा ग्यास पुर्‍याउनु पर्ने भएपछि करिब २२ करोड बढी खर्च हुने बताइएको छ । अहिले सबै स्थानमा पाइप विस्तार भइसकेको छैन । उत्पादन भएको ग्यास पाइप मार्फत् घरघरमा पुर्‍याउने योजना छ । पहिलो चरणमा ७५० घरधुरीमा पुर्‍याउने भनेर सर्भे गरिएको छ । थप पछि विस्तार गरिने योजना छ । फोहोरबाट ग्याससँगै कम्पोस्ट मलसमेत उत्पादन गरिने उहाँले बताउनुभयो ।

कम्पनी र नगरपालिका बीच २० वर्षको सम्झौता गरिएको छ । २० वर्षका लागि कम्पनीले नगरपालिकालाई नाफाको पाँच प्रतिशत रकम दिने सहमति भएको थियो । यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकेमा नगरपालिकाको आम्दानीको स्रोत हुनेछ । ग्याससँगै कम्पोस्ट मल समेत उत्पादन गरिने भएपछि फोहोर व्यवस्थापनमा सहजता हुने उपमहानगरपालिकाले अपेक्षा गरेको छ ।

जिल्लामा नै फोहोरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कमी हुने नागरिकले अपेक्षा लिएका छन् । यसरी फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो कार्य हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाबाट आउने गरेको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ। फोहोरबाट ग्यास तथा कम्पोस्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहोर व्यवस्थापनमा सहज हुने नगरपालिकाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार