आधा दशकदेखि खानेपानी समस्या भोग्दै

  वास खबर सम्बाददाता  118 पटक हेरिएको

घोराही : राजपुर गाउँपालिका–६, खङ्ग्रा नाका भारतसँग सीमा जोडिएको गाउँ हो । २०२८ सालतिर खङ्ग्रा नाकामा बस्ती बसेको थियो । सीमा क्षेत्रमा बसोबास बढेसँगै विकासका पूर्वाधार निर्माण हुँदै गए पनि खानेपानी समस्याले भने स्थानीयलाई सधैँ सताउने गरेको छ ।

खङ्ग्रा नाकामा ७० घरपरिवारको बसोबास छ । खानेपानीको व्यवस्थित योजना नहुँदा एउटा कुवाको भरमा पूरै गाउँ रहेको र कुवा सुकेपछि खोलामा जरुवा खनेर पानी खानुपर्ने बाध्यता रहेको स्थानीय शेरबहादुर पुन बताउनुहुन्छ । दैनिक जीवनमा अत्यावश्यक पानीको राम्रो व्यवस्था नहुँदा समस्या भोग्नु परेको उहाँले बताउनुभयो ।

गाउँमा एउटा मात्र कुवा भएको र त्यो पनि हिउँदमा सुक्ने भएकाले खोलाको जरुवाबाट पानी ल्याउनुपर्ने बाध्यता भएको उहाँ बताउनुहुन्छ । पुनले भन्नुभयो, “अचेल जसोतसो पूरै गाउँ एउटा कुवाको भरमा रहेको छ तर गर्मीमा कुवा सुक्दा खोलाको पानी खानुपर्ने बाध्यता छ ।’

स्थानीय मङ्गलादेवी खत्रीका अनुसार फागुनसम्म कुवाले धान्ने गरे पनि त्योभन्दा पछाडिको समयमा पानीको ठुलो समस्या हुने गरेको छ । गर्मीमा एक गाग्री पानीका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता भएको उहाँ बताउनुहुन्छ । बर्सेनि स्थानीयले भोग्दै आएको खानेपानी समस्या समाधानका लागि कुरा उठाउँदै आए पनि सरोकारवाला निकायले चासो नदिएको उहाँले बताउनुभयो ।

पानी नहुँदा साँझबिहान घरधन्दा चलाउनदेखि गाईवस्तुलाई खुवाउन समेत समस्या पर्ने गरेको छ । राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले नाकावासीलाई प्राथमिकतामा राखेर विकासनिर्माणका काम अघि बढाए पनि भौगोलिक विकटता र छरिएर रहेका बस्तीका कारण काम गर्न समस्या भएको खबर गोरखापत्र दैनिकले प्रकाशन गरेको छ।

नाका क्षेत्रमा खानेपानीसँगै जनताका लागि अत्यावश्यक सडक, स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै अध्यक्ष बुढाथोकीले भन्नुभयो, “यहाँका नागरिकलाई खानेपानी, सडक, शिक्षा, स्वास्थ्यलगायतका सेवा पुर्‍याउन प्रत्येक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएका छौँ तर ससानो रकमले गर्दा काम गर्न समस्या भइरहेको छ ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार