सुर्खेत : सुरक्षित सरसफाइका लागि देशभर २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएका छन् । ती मध्ये मुश्किलले एक चौथाई दिसाजन्य लेदो प्रशोधन केन्द्र मात्र सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । बाँकी प्रशोधन केन्द्रहरु कहीं दिसाजन्य लेदोको अभाव, कतै जथाभावी बिसर्जन गर्ने समस्या त कतै नगरपालिका सँग यस सम्बन्धी कानुनको अभाव र कतै भने बनेका संरचनाले राम्रो सँग काम नगर्दा सञ्चालन हुन सकेका छैनन् ।
दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु सञ्चालन हुन नसक्नुको कारण पत्ता लगाई त्यसको समाधान गर्ने हो र नियमित सञ्चालन गर्ने हो भने दिसाजन्य लेदो प्रशोधन केन्द्र नगरपालिकाहरुका लागि राजश्व संकलनको नयाँ क्षेत्र हुन सक्छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्रले यही कुराको पुष्टि गरेको छ । २०७८ चैत्रमा एस.एन.भी.को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भए यता नगरपालिकालाई वातावरणीय सरसफाइका अलावा राजश्व संकलनमा पनि ठूलो सघाउ पुगिरहेको दिसाजन्य लेदो प्रशोधन केन्द्र सुर्खेतका फोकल पर्सन मायाराम शर्माले बताउनुभयो ।
‘दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन भएमा वातावरणीय स्वच्छता र जनस्वास्थ्यको रक्षा हुने त छँदैछ, नगरपालिकाको लागि राजश्व संकलनको नयाँ क्षेत्र पनि भएको छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार २०७८ चैत्र देखि हालसम्म दुई जना कर्मचारीहरुको तलब व्यहोरेर पनि करिब १६ लाख रुपैयाँ नगरपालिकालाई आम्दानी भएको छ । दिसाजन्य लेदो संकलनको काम निजी क्षेत्रलाई दिईएको छ । प्रशोधन केन्द्रमा तिनै निजी क्षेत्रका ट्याङ्कहरुलाई प्रवेश शुल्क बापत प्रति ट्याङ्कर प्रत्येक पटक ८ सय रुपैयाँ लिने गरेको छ । एक दिनमा सालाखाला तीन ट्याङ्कर दिसाजन्य लेदो आउने र दैनिक २४ सय रुपैयाँ आम्दानी हुने उहाँले बताउनुभयो । ‘दिसाजन्य लेदोलाई मल रुपान्तरण गरी विक्री पनि गर्न सक्यौं भने अझ थप आम्दानी लिन सकिन्छ’ उहाँले भन्नुभयो।
प्रशोधन केन्द्रबाट संकलित राजश्वबाट नगरपालिकाले मर्मत सम्भार गर्ने काम पनि गरिरहेको छ । हालसम्म प्रशोधन केन्द्र मर्मतको काम गर्नु नपरे पनि प्रशोधन केन्द्रमा जाने सडक पक्की बनाउने काम गरिरहेको छ । अघिल्लो बर्ष ८० लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाले सडकको लागि गत बर्ष १ करोड ४० लाख लगानी गरेको थियो । चालु आर्थिक बर्ष पनि ५० लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाले जनाएको छ ।