काठमाडौ : काठमाडौ उपत्यकामा सेप्टिक ट्याङ्क सफाइ व्यवसायीले घरको सेप्टिक ट्याङ्क खाली गरेपछि बिसर्जन कहाँ गर्ने भन्ने ठूलो समस्या छ । व्यवसायीहरु भन्छन् ‘हामीलाई काम पाउनु भन्दा काम पाएपछि त्यसलाई मिल्काउन समस्या छ।’
काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकाले बेला बखत ट्याङकर नियन्त्रणमा लिएको, भारी जरिवाना तिरेर छुट्नु परेको जस्ता कैयन समस्यासँग जुध्दै आएका व्यवसायी कहिले देखि सहजसँग व्यवसाय गर्न पाइन्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका थिए । CWIS Alliance Nepal, Water Aid Nepal र Intellectuals Center (IC) ले एउटै मञ्चमा राखेर यसबारेमा सेप्टिक ट्याङ्क सरसफाइ व्यवसायी र सरकारी अधिकारी बीच सम्वाद गर्ने मेसो मिलाए पछि व्यवसायीलाई ढुङ्गा खोज्दा देवता मिले जस्तै भयो।
प्यानल छलफलमा हुनुहुन्थ्यो सरकारको तर्फबाट काठमाडौ उपत्यका फोहोरपानी व्यबस्थापन आयोजना, आयोजना प्रबन्धक योगेन्द्र चित्रकार, सेप्टिक ट्याङ्क सफाइ व्यवसायीको तर्फबाट सुनिल खुलाल र हर्क खत्री, काठमाडौ महानगरपालिकाका वातावरण निरिक्षक सृष्टि श्रेष्ठ तथा सरसफाइकर्मी शान्ति तामाङ।
सेप्टिक टयाङ्क सफाइ व्यवसायीले भोग्दै आएको समस्याका सवालमा उहाँहरु आफैले प्रश्न सोध्नै परेन । प्यानल छलफलका सञ्चालक वाटर एड नेपालका वरिष्ठ वास नीति सल्लाहकार गोविन्द श्रेष्ठले नै आयोजना प्रबन्धक योगेन्द्र चित्रकारलाई सोध्नुभयो ‘काठमाडौ उपत्यकामा बन्न लागेको फिकल स्लज ट्रिटमेन्ट प्लान्टहरुको स्थिति के छ ?’
आयोजना प्रबन्धक चित्रकारले काठमाडौ उपत्यका भित्र एसियाली विकास बैंक (एडीबी) को लगानीमा भक्तपुरको सल्लाघारी, धोबीघाट, बालकुमारी, भक्तपुरको हनुमान घाट र गोकर्ण मन्दिर नजिकै गरी पाँच वटा वेस्ट वाटर ट्रिटमेन्ट प्लाण्ट (फोहोरपानी प्रशोधन केन्द्र) हरु बनिरहेको र ढल प्रणालीमा नसमेटिएका घरहरुलाई पनि सरसफाइ सेवा उपलब्ध गराउनका लागि बालकुमारीमा ७५ घनमिटरको मानव मलमूत्र प्रशोधन केन्द्र, धोबीघाटमा ७५ घनमिटरकै मानव मलमूत्र प्रशोधन केन्द्र र गोकर्णमा १० घनमिटरको प्रशोधन केन्द्र बनाईरहेको बताउनुभयो ।
श्रेष्ठको प्रश्न थियो ‘ती प्रशोधन केन्द्रहरु कहिले निर्माण हुन्छ त ?’ यो प्रश्नको जवाफमा आयोजना प्रबन्धक चित्रकारले पहिलो चरणमा काम पूरा नभएपछि ठेक्का तोडेर पुनः केही समय अगाडि मात्र भारतीय कम्पनी भीए टेक वाबागसँग सम्झौता गरिएको बताउनुभयो ।
सन् २०२६ जुनसम्म दोस्रो चरणमा भएको ठेक्काको काम सक्नुपर्ने भएकाले बालकुमारीमा करिब १५/१६ महिना पछि सम्पन्न हुने र धोबीघाटमा निर्माण सम्पन्न हुन दुई बर्ष लाग्न सक्ने बताउनुभयो ।
‘गोकर्णेश्वरको हकमा भन्नु पर्दा १५/१६ महिना भित्र निर्माण सम्पन्न हुन्छ भन्ने अहिले सम्मको कार्ययोजनाले देखाएको छ । उपत्यका भित्र १६० घनमिटर क्षमताको मानव मलमूत्र प्रशोधन केन्द्र बनेपछि अहिलेकै व्यवसायीहरुले दिनको तीन ट्याङ्करले संकलन गरेपनि धान्न सक्ने उहाँले बताउनुभयो । उपत्यकामा हाल ३० भन्दा बढी व्यवसायीहरुले सेप्टिक ट्याङ्क सफाइ तथा ढुवानीको काम गरिरहेका छन् ।
निर्देशिका पनि निर्माण हुँदै
आयोजना प्रबन्धक चित्रकारले मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण भईसके पनि अहिले जस्तै समस्या नहोस् भनेर मानव मलमूत्रको नियमन गर्न निर्देशिका बनाउने कामको सुरुवात भैसकेको बताउनुभयो । ‘कसरी खाली गर्ने ? कस्तो गाडीले खाली गर्ने ? कति पैसा लाग्ने ? दिनको कति लैजाने भन्ने बिषयमा निर्देशिका निर्माणको गृहकार्य हुँदैछ’ उहाँले भन्नुभयो ‘त्यसको लागि ललितपुर महानगरपालिका सँग समन्वय गरिरहेको छ।’
उहाँले प्रशोधन केन्द्र बनिसकेपछि नीतिगत व्यवस्था गर्ने भन्दा पनि प्रशोधन केन्द्र निर्माण हुनु अगावै नियमनका सबै संयन्त्र पूरा गर्ने गरी काम गरिने बताउनुभयो । ‘प्रशोधन केन्द्र निर्माण गर्नु अघि नै नीतिगत रुपमा गर्नुपर्ने काम गरिसक्यौ भने सम्पन्न भएको भोलिपल्ट देखि नै सेवा दिन सकियोस् भन्ने हेतुले गृहकार्य भईरहेको छ’ उहाँले भन्नुभयो।