बुटवल : खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई खानेपानी आयोजनामा नतिजा देखिने गरी तोकिएको समयमा काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ। बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको निरीक्षण एवं अनुगमन गर्दै मन्त्री यादवले मानिसलाई बाँच्नका लागि आवश्यक पर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामहरूको नतिजा देखिने गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिनु भएको हो।
‘मानिसलाई बाँच्नका लागि आवश्यक पर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो। नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाहरूको नतिजा देखिने गरी काम गरौं’ उहाँले भन्नुभयो। मन्त्री यादवले सञ्चालनमा रहेका खानेपानी आयोजनाहरूमा कुनै पनि समस्या आइपरे वा बाधा अवरोध सिर्जना भए तत्काल आफूलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो।
‘खानेपानी जस्तो अत्यावश्यक चिजमा बाधा अवरोध हुनु हुँदैन। कहीं कतै कुनै समस्या आइपरे त्यसको जानकारी मलाई सहित मन्त्रालयमा गराउनुहोला। समस्याको समाधान हामीले निकाल्नेछौं’ उहाँले भन्नुभयो।