आँगनमै धारा बनेपछि पुराना पुस्ता भन्छन् ‘दुखारी हामी रहेछौ सुखारी हाम्रो छोरी बुहारी’

  जीवन सेजुवाल  239 पटक हेरिएको

जाजरकोट :  ‘हाम्रो पालामा दुई घण्टा धारामा लाइन बसेर घर फर्कदा सासु ससुराको गाली नखाएको दिनै हुदैनथ्यो। कहिले त रित्तो गाग्री फर्काएर ल्याउनु पर्थ्यो, त्यत्ति बेला सासु ससुराले सातो खानु हुन्थ्यो’ जाजरकोटको जुनीचाँदे गाउँपालिका—३ डाँडाकोटकी गोरी टमटाले विगतमा खानेपानीको लागि गरेको दुःखको कहानी सुनाउनुभयो। उहिलेका आफना दुःख सम्झिदै उहाँ भन्नुहुन्छ ‘दुखारी हामी रहेछौ सुखारी हाम्रो छोरी बुहारी रहेछन् । अहिले घर घरमा धारा छन् । हाम्रो पालामा धारामा पानी सुकेर रित्तो गाग्री फर्काएर घर ल्याउनु पर्थ्यो ।


जुनीचाँदे गाउँपालिका-३ डाँडाकोटकी तुलशी यस्तो पात्र हुनुहुन्छ जहाँ सोतीखोलाको एउटा मात्र धारामा पानी थाप्न गाउँभरका महिला लाईन लागेर पालो कुर्नु पर्थ्यो । पालो नपाएर रित्तो गाग्री फर्काएर घर फर्किदा सासु ससुराको गाली खानु पर्थ्यो । अहिले गाउँको प्रत्येक घरमा खानेपानीको धारा निर्माण भएपछि तुलसीले गरेको दुःख इतिहास भएको छ । तुलशी भन्नुहुन्छ ‘सुखी त अहिलेका छोरी बुहारी रहिछन ।’

जुनीचाँदे गाउँपालिका-३ मा १ सय २ घरधुरी छन । यो गाउँमा पहिला १२ वटा सार्वजनिक धारा पनि भूकम्प अघि ३ वटा धारा मात्र सञ्चालनमा थिए । अघिल्लो बर्ष कार्तिक १७ गतेको भुकम्पका कारण उक्त धाराको मुहान हराएपछि डाँडाकोटका बासिन्दा आधा घण्टा टाढाको तुसार खोलाको पानी खान बाध्य थिए ।

तर अहिले भने युनिसेफको र छाँ-या नेपालको आर्थिक सहयोगमा संचालित एकिकृत पुनर्लाभ कार्ययोजना अन्तर्गत खानेपानी सरसफाइ तथा स्वच्छता योजना लागु भएपछि एक घर एक धारा निर्माण भएको छ । डाँडाकोटका १ सय २ घरधुरीमै धारा निर्माण भएपछि सुरक्षित खानेपानी उपभोग गर्न पाएको तुसार खोली खानेपानी उपभोक्ता समितिका सचिव रेशम बहादुर खड्काले बताउनुभयो।


केही बर्ष अगाडि नेवा नामक संस्थाले १२ वटा सार्वजनिक धारा निर्माण गरे पनि घर घरमै धारा बनेको थिएन । पानीको श्रोत सानो भएकाले १२ मध्ये तीन वटा धारा मात्र नियमित सञ्चालनमा थिए । अघिल्लो बर्ष आएको भुकम्पले पानीको मूल नै हराएकाले हाहाकार भएको थियो । घरमा चाहिने खानेपानी ल्याउन आउँदा जाँदा आधा घण्टा टाढा पुग्नु पर्थ्यो भान्सा देखि पशुचौपायालाई पानी जम्मा गर्न सबै भन्दा बढी महिलाले हैरानी खेप्नु पर्थ्यो अहिले घर आँगनमै धारा बनेपछि सबै भन्दा बढी महिलालाई राहत भएको कमला टमट्टाले बताउनु भयो ।

‘गाउँमा पानीका अरु श्रोत छैनन । गाउँमा ल्याएको सोती खोलाको मूलबाट खसेको पानी थाप्न गाउँबाट आधा घण्टा हिडेर घण्टौ सम्म पालो कुर्नु पर्थ्यो । आफनो ब्यक्तिगत र बालबालिकाहरुको सरसफाइ गर्न आउँदा जाँदा एक घण्टा लगाएर दोवान खोला पुग्नु पर्ने बाध्यता थियो । बिद्यालयमा समेत पानीको अभाव हुँदा पढाई छोडी बालबालिका पानी खान घरमा दौडेर आउँथे । अहिले घर घरमा धारा भएपछि केहीको चिन्ता छैन’ डाँडकोटकी काली रावतले भन्नु भयो ।

युनिसेफ र छाँ-या नेपालको २९ लाख ९७ हजार ९ सय २९ रुपैयाँ जुनीचाँदे गाउँपालिकाबाट ४ लाख ११ हजार ६ सय ८२ र उपभोक्ता जनश्रमदान ७ लाख ९० हजार १ सय २६ रुपैया गरी कुल ४१ लाख ९९ हजार ७ सय ३९ रुपैयाँमा खानेपानी योजना निर्माण गरिएको हो ।


आयोजना अन्तर्गत १ सय २ निजी धारा, ३ संस्थागत धारा निर्माण गरिएको छ । यस्तै १२ र ८ घन मिटरका दुईवटा रिजर्भ्वायर ट्याङ्की निर्माण गरिएको छाँ-या नेपालका परियोजना प्रबन्धक सुरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समुदाय तथा संस्थागत रुपमा सुरक्षित रुपमा व्यवस्थित खानेपानी र आधारभुत सरसफाइ सुबिधाको पहुँच पुर्‍याउन युनिसेफ नेपालको आर्थिक सहयोगमा एकिकृत पुनर्लाभ कार्ययोजना अन्तरगत यो कार्यक्रम सञ्चालन गरिएको हो । साथै जाजरकोट भुकम्प पश्चात जाजरकोट र पश्चिम रुकुमका स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्व्चछता लगायत शिक्षा, स्वास्थ्य तथा सुरक्षित व्यवस्थित आवास निर्माण प्राविधिक सहयोगका कार्यक्रमलाई समेत प्राथमिकतामा राखी कार्यक्रम अगाडि बढाईएको छाँ-या नेपाल कर्णाली प्रदेशका टिम लिडर मिन बहादुर रावलले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार