काठमाडौ : नेपालमा खुला दिसामुक्त अभियानका बेला शौचालयको खुब चर्चा हुन्थ्यो। हिजो आज सेप्टिक ट्याङ्क र त्यसमा पनि स्तरीय सेप्टिक ट्याङ्कको चर्चा धेरै हुन थालेको छ । स्तरीय सेप्टिक ट्याङ्क बिना सुरक्षित सरसफाइको कल्पना समेत गर्न नसकिने भएकाले पनि यो एजेण्डा नीति निर्माता, स्थानीय सरकार, विकास साझेदार, सरसफाइ विज्ञ सबैको साझा भएको हो।
धेरैलाई लाग्न सक्छ । ‘स्तरीय सेप्टिक भनेको के हो त ?’ मानव मलमूत्र सुरक्षित रुपमा भण्डारण हुने जमिनमा नरसाउने वा नचुहिने खालको शोक पिट सहितकोे संरचना नै स्तरीय सेप्टिक ट्याङक हो । यद्यपि सेप्टिक ट्याङ्क यस्तै हुनुपर्छ भनेर संघीय सरकार वा प्रदेश सरकारले अहिले सम्म कुनै मापदण्ड बनाएको भेटिदैन । बरु देशका कतिपय स्थानीय तहरुले परिवार संख्याको आधारमा फरक फरक नापमा आधारित मापदण्ड बनाएको छ ।
२०७४ साल देखि नै सेप्टिक ट्याङ्क निर्माणलाई नक्सा पास गर्दा नै अनिवार्य गरेको ललितपुरको महालक्ष्मी नगरपालिकाले जारी गरेको मानव मलमूत्रीय फोहोर व्यबस्थापन विनियम २०७६ मा स्तरीय सेप्टिक ट्याङ्क हुनाका लागि सेप्टिक ट्याङकी पानी प्रतिरोधी हुनुपर्ने, सेप्टिक ट्याङ्की न्यूनतम २ खण्डे र न्यूनतम १.४ मिटर गहिरो हुनुपर्ने भनेको छ । यस्तै सेप्टिक ट्याङ्कको साथमा सोकपिट हुनुपर्ने र सेप्टिक ट्याङ्कको आकार आवश्यकता अनुरुप डिजाइन गरिएको हुनुपर्ने जनाएको छ ।
सुरक्षित सरसफाइमा सेप्टिक ट्याङ्कको महत्वलाई बुझेर नै यस सम्बन्धी बिनियम जारी गरी कार्यान्वयन गरिरहेको महालक्ष्मी नगरपालिकाको वातावरण तथा सरसफाइ शाखाका प्रमुख ई.रबिन्द्र उप्रेतीले बताउनुभयो ।
‘महालक्ष्मी नगरपालिकाको योजना तथा भवन निर्माण मापदण्डमा सेप्टिक ट्याङ्कको बिषयलाई समेत समावेश गरी नक्सा पास सँग सम्बन्धित संरचनाको रुपमा राखिएको छ भने घर निर्माण सम्पन्नताको प्रमाण पत्र लिन फिल्ड सुपरिवेक्षण गर्दा नक्सामा उल्लेख भए अनुसारकै सेप्टिक ट्याङ्क निर्माण भएको हुनुपर्ने मापदण्ड बनाएको छ’ उहाँले भन्नुभयो ।