९८ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा : मन्त्री यादव

  वास खबर सम्बाददाता  169 पटक हेरिएको

काठमाडौ: खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभूत खानेपानी पुर्‍याइसक्ने घोषणा गर्नुभयो । उहाँले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्नुहुँदै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउने गरी काम गरिरहेको बताउनुभयो । उहाँले सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न संवेदनशील रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले खानेपानीको क्षेत्रमा ठुलो चुनौतीको सामना गर्नुपरेको छ । मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्‍याएका छौं । अहिले पनि दुई प्रतिशत जनतामा आधारभुत खानेपानी पुर्‍याउन सकेका छैनौं । त्यसका लागि हामी निरन्तर लागिपरेका छौं ।,’’ मन्त्री यादवले भन्नुभयो, ‘‘मलाई विश्वास छ, एक वर्ष भित्रमा सय प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्‍याउँछौं । यो मेरो प्रतिबद्धता पनि छ । अर्को कुरा हामी २७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानी दिइरहेका छौं । यो पर्याप्त छैन । यसले जनता बिरामी हुने तथा प्रकोपहरु फैलिने खतरा छ । त्यसकारणले गर्दा ५७ प्रतिशत पुर्‍याउनका लागि हामी लागिपरेका छौं । यो अठोट लिएर म अघि बढेको छु ।’’

उहाँले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार