धरान : धरानका मेयर हर्क साम्पाङ आफैले रित्तो गाग्री बोकेर आइतबार भानु चोकमा प्रदर्शन गरे । खानेपानी आपूर्ति गर्नुपर्ने निकायमा बसेका मेयर स्वयंले रित्तो गाग्री बोकेर आन्दोलनको सुरुवात गरेको उद्घोष गर्नुलाई धेरैले आश्चर्य मानेका छन्।
स्मरणीय कुरा के छ भने उनी धरानको खानेपानी समस्या समाधान गर्ने नारा बोकेर स्थानीय तहको निर्वाचनमा होमिएका थिए । हिउँदमा खानेपानीको चरम अभाव झेल्दै आएको धरान उप महानगरको मेयरमा निर्वाचित भएपछि पनि खानेपानीको समस्या समाधान हुन सकेको छैन ।
सरकारले धरानको खानेपानी समस्याका लागि बजेट नदिएको भन्दै रित्तो गाग्री बोकेर प्रदर्शन गर्नु परेको उनले बताए । दुई पटक फाइल बोकेर अर्थ मन्त्रालय र खानेपानी मन्त्रालय पुगि सकेको र अब रित्तो गाग्री बोकेर जाने उनले बताए। आफूलाई सरकारले नपत्याएको भन्दै रित्तो गाग्री बोकेर एक्लै मन्त्रालय जाने उनले बताए।
२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका साम्पाङ खानेपानीकै मुद्दा बोकेका कारण विजयी भएका थिए ।
तर आफ्नो कार्यकालको दुई वर्षमा खानेपानी समस्या समाधान गर्न नसकेपछि उनले खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायत विभिन्न मन्त्रालयमा यही कुच्चिएको गाग्री बोकेर जाने बताएका छन् । साम्पाङ मेयरमा निर्वाचित भएपछि श्रमदानको नाममा खानेपानी समस्या समाधान गर्न अभियान समेत सञ्चालन गरे । धरानमा खानेपानी ल्याउनका लागि श्रमदानसँगै चन्दाको रूपमा सहयोग समेत आएको थियो ।
श्रमदान र चन्दाबाट उनले कोकाह, सर्दु, खर्दु, निशाने र पकुवाबाट पानी ल्याउन खानेपानी ल्याउन पाइप समेत बिच्छयाए । तर डीपीआर र आवश्यक प्राविधिक अध्ययन बिना नै बनाइको आयोजना सफल हुन सकेन ।
उनले सम्पन्न गरेको भनिएका योजनाबाट केहीबाट बाहेक हिँउदमा पानी नआएपछि धरानमा खानेपानीको चरम अभाव हुँदै आएको छ ।