काठमाडौ : धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङ र खानेपानीमन्त्री बीच धरानको खानेपानी समस्या समाधानका लागि मौखिक सहमति भएको छ।
धरानवासीको खानेपानी समस्या समाधानको माग राख्दै खानेपानी मन्त्रालय पुग्नु भएका मेयर साम्पाङले खानेपानीका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उप–महानगरपालिकाले लिने र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा यस वर्षभित्रै खानेपानी सम्बन्धी टेण्डर आह्वान गर्ने मन्त्री यादवले प्रतिबद्धता व्यक्त गर्नुभयो।
“खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता मैले व्यक्त गरेको छु” खानेपानीमन्त्री यादवले भन्नुभयो।
छलफलमा मेयर साम्पाङ्लाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशी साथ धरान फर्कन मन्त्री यादवले आग्रह गर्नुभयो। “उहाँले सकारात्मक रूपमा ग्रहण गर्दै खुशीका साथ मन्त्रालयबाट फर्किनु भएको छ” मन्त्री यादवले भन्नुभयो।
खानेपानीको माग गर्दै धरान उपमहानगरपालिकाका मेयर सम्पाङ रित्तो गाग्री बोकेर हिजो काठमाडौं आउनु भएको थियो। संघीय सरकारले धरानको खानेपानी समस्या समाधान गर्न चासो नदिएकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौं आउनु भएका साम्पाङ्को गाग्री प्रहरीले खोसे पछि गाग्री बिनै सिंहदरबार छिर्नु भएको थियो।
०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका साम्पाङ खानेपानीकै मुद्दा बोकेका कारण विजयी भएका थिए ।
तर आफ्नो कार्यकालको दुई वर्षमा खानेपानी समस्या समाधान गर्न नसकेपछि उनले खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय लगायत विभिन्न मन्त्रालयमा यही कुच्चिएको गाग्री बोकेर जाने बताएका छन् । साम्पाङ मेयरमा निर्वाचित भएपछि श्रमदानको नाममा खानेपानी समस्या समाधान गर्न अभियान समेत सञ्चालन गरे । धरानमा खानेपानी ल्याउनका लागि श्रमदानसँगै चन्दाको रूपमा सहयोग समेत आएको थियो ।
श्रमदान र चन्दाबाट उनले कोकाह, सर्दु, खर्दु, निशाने र पकुवाबाट पानी ल्याउन खानेपानी ल्याउन पाइप समेत बिच्छयाए । तर डीपीआर र आवश्यक प्राविधिक अध्ययन बिना नै बनाइको आयोजना सफल हुन सकेन ।
उनले सम्पन्न गरेको भनिएका योजनाबाट केहीबाट बाहेक हिँउदमा पानी नआएपछि धरानमा खानेपानीको चरम अभाव हुँदै आएको छ ।