बृहत बिजुवार खानेपानीका लागि २३ करोड बजेट सुनिश्चित

  वास खबर सम्बाददाता  137 पटक हेरिएको

प्युठान : प्युठानको बृहत् बिजुवार खानेपानी आयोजना सञ्चालन गर्न अर्थ मन्त्रालयले २३ करोड बजेट सुनिश्चित गरेको छ । बृहत् बिजुवार खानेपानी आयोजनाका लागि नेपाल सरकारले व्यहोर्नुपर्ने २५ करोड ३४ लाख ५१ हजार रुपैयाँ बजेट सुनिश्चित गर्न यही पुस १४ गते खानेपानी मन्त्रालयले अर्थमन्त्रालयलाई पत्राचार गरेको थियो।

प्युठान नगरपालिकाका १० मध्ये क्वाडी-दाखाक्वाडी-विजयनगर-बिजुवार-पुण्यखोला-टिकुरी-बाग्दुला-गेजबाङ र दम्ती गरी ६ वटा वडाहरूको खानेपानी समस्या समाधान गर्न मन्त्रालयले सो बजेट सुनिश्चित गरेको हो ।

सङ्घीय खानेपानी मन्त्रालयबाट बहुवर्षीय ठेक्का अन्तर्गत स्रोत सहमतिका लागि माग भए अनुसार अर्थ मन्त्रालयले २३ करोड बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य सूर्य थापाले जानकारी दिनुभयो ।

नौबहिनी गाउँपालिका ५ डामृस्थित गाबै-बल्ले खोला मुलबाट प्युठान नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ति हुने गरी आयोजना अघि बढाउन बजेट सुनिश्चित भएको प्रतिनिधि सभा सदस्य थापाले बताउनुभयो ।

विगत एक वर्षदेखिको पहलका कारण बृहत् बिजुवार खानेपानी आयोजनाका लागि बजेटको सुनिश्चित गर्न सकिएको प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताउनुभयो । थापाले आफू प्युठान आएका बखत उपभोक्ता समितिका पदाधिकारीहरूकै उपस्थितिमा फोन गरेर खानेपानी मन्त्रीको ध्यानाकर्षण गराएको र खानेपानी मन्त्रालयको पहलकदमीमा अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरेको जानकारी गराउनुभयो।

यो योजना सम्पन्न भए तीन हजार बढी घरधुरीले सहज तरिकाले खानेपानी उपभोग गर्न पाउने छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार