हुम्ला सदरमुकाम सिमकोटमा खानेपानी अभाव

  वास खबर सम्बाददाता  82 पटक हेरिएको

हुम्ला : हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ र ६ मा खानेपानीको समस्या बढ्दै गएको छ । हिउँदमा हिमपात कम हुनु र भएको पानी जाडोले जम्ने गरेका कारण खानेपानीको समस्या बढ्दै गएको हो । सिमकोट तल्लो बजारकी शान्ति लामाले धारामा पानी आउन छोडेपछि छिमेकीको घरमा गएर लाइनमा बस्दै खानेपानीको व्यवस्था गर्नु परिरहेको बताउनुभयो ।

उहाँको धारामा पानी आउनै छोडेको १५ दिन भइसकेको छ । सिमकोट खानेपानी उपभोक्ता समितिलाई खबर गर्दा स्रोत नै कम भएका कारण पानीको समस्या देखिएको र यो समस्या समाधान गर्न कठिन भएको जवाफ आउने गरेको उहाँले बताउनुभयो । आफ्नो टोलमा एउटा मात्र घरको धारामा पानी आउने भएका कारण बिहानैबाट लाइनमा भाँडा राखेर पानीको व्यवस्था गर्नु परिरहेको छ । धारामा पानी आउन उक्त धारामा तातोपानी खन्याएर पानी झार्ने गरिएको छ ।

धारामा बिहान मात्र डेढ घण्टा पानी आउने गर्दछ । बेलुका पानी नआउने भएका कारण बिहान भरेकै पानीले व्यवस्था गर्नुपर्ने बाध्यता छ । यस्तै सञ्जु रोकायाले पनि पानीको समस्या भोग्नु परिरहेको बताउनुभयो । खानेपानीकै व्यवस्था गर्न समस्या भएका कारण नुहाइधुवाइ र कपडा धुने काम त बन्दै गरिएको जानकारी उहाँले दिनुभयो ।

सिमकोट खानेपानी उपभोक्ता समितिका प्राविधिक रूपेन्द्र रोकायाले पानीको स्रोत सुक्नु, हिमपात कम हुनु र भएको पानी चिसोका कारण जम्ने भएका कारण सिमकोट बजारमा खानेपानीको समस्या देखिएको बताउनुभयो ।

सिमकोटमा दैनिक १० लाख लिटर पानीको माग रहेको भए पनि हाल दैनिक पाँच लाख लिटर मात्र आपूर्ति भइरहेको छ । बिहान दुई लाख लिटर र बेलुका तीन लाख लिटर पानी आपूर्ति भइरहेको छ । समितिले ४७५ व्यक्तिगत र १५ वटा सार्वजनिक धाराबाट खानेपानी वितरण गरिरहेको खबर गोरखापत्रले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार