जुम्लाका ९ हजार ८ सय ८६ घरमा ‘एक घर एक धारा’

  वास खबर सम्बाददाता  87 पटक हेरिएको

जुम्ला : जिल्लाका आठ वटै स्थानीय तहका ६० वडाका करिब नौ हजार भन्दा बढी परिवारमा खानेपानीको पहुँच विस्तार भएको छ । जिल्लामा रहेका २४ हजार चार सय २२ परिवार मध्ये नौ हजार आठ सय ८६ मा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत खानेपानीको पहुँच विस्तार भएको हो ।

जिल्लास्थित खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले बाँकी परिवारले सार्वजनिक धारा, कुवा, मूलको र नदीको पानी खाइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयको तथ्याङ्कअनुसार १० हजार तीन सय २९ परिवारले सार्वजनिक धाराको पानी खाँदै आएका छन् । कुवाको पानी खाने ५९ परिवार छन् ।”

मूलधाराको पानी खाने तीन हजार आठ सय ७४, नदी–खोलाको पानी खाने दुई सय १४ र अन्यले पानीका अन्य स्रोतको प्रयोग गर्दै आएका कार्यालय प्रमुख महतले जानकारी दिनुभयो । अहिलेसम्म ४० दशमलव ४७ प्रतिशत परिवारमा ‘एक घर एक धारा’ पुगेको उहाँले बताउनुभयो ।

हरेक घरमा खानेपानीका धारा पुर्‍याउने सरकारी लक्ष्य भए पनि पुग्न नसकेको छैन भन्दै कार्यालय प्रमुख महतले जुम्लामा बृहत् खानेपानीका आयोजना निर्माण हुन थालेका उल्लेख गर्नुभयो । आगामी दिनमा सबै परिवारमा खानेपानीका धारा पुग्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा ९६ प्रतिशत नागरिकले दूषित पानी पिउँदै आएका छन् । पर्याप्त खानेपानीको स्रोत भए पनि प्रशोधन अभाव र आवश्यकताअनुसार लगानी नहुँदा कर्णालीका ९६ प्रतिशत नागरिक खोलाको दूषित पानी पिउने गरेका कार्यालय प्रमुख महतले बताउनुभयो ।

“प्रदेशका ८४ प्रतिशत परिवारमा खानेपानी सुविधा पुगेको तथ्याङ्क छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या करिब १७ लाख छ । जसमध्ये ८४ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा छन्”, उहाँले भन्नुभयो ।

खानेपानी पहुँच नपुगेका परिवारमध्ये ९६ प्रतिशत नागरिक प्रदूषित पानी पिउन बाध्य रहेका सरकारी तथ्याङ्कले देखाएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार