खानेपानीको मुहानमै अटोमेटिक क्लोरिन डोजिङ सिस्टम

  वास खबर सम्बाददाता  204 पटक हेरिएको


नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको मुहानमै अटोमेटिक क्लोरिन डोजिङ सिस्टम जडान गरेको छ । पारिजात सामुदायिक बन भित्रको चिसापानी १ र २ मुहानको पानीलाई २५० घनमिटरको ट्याङ्कीमा जम्मा गरी अटोमेटिक क्लोरिन डोजिङ सिस्टम जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष दिपक लम्सालले जानकारी दिनुभयो ।

अटोमेटिक क्लोरिन डोजिङ सिस्टमबाट स्वचालित रुपमा क्लोरिनेसन हुने भएकाले खानेपानीको मात्राको आधारमा क्लोरिन मात्रा मिलाए पछि नियमित रुपमा क्लोरिनेसन भैरहन्छ । यसले खानेपानीमा क्लोरिनको मात्रा समान रुपमा आपूर्ति भै पानीमा भएको जैविक प्रदुषण हटाउने काम गर्छ ।

उहाँका अनुसार राजमार्गबाट करिब ३ किलोमिटर दुरीमा रहेको परिजात जङ्गलमा रहेको २ वटा मुहानलाई संरक्षण गरी जंगल क्षेत्रमामा १८ वटा विद्युत पोल र तारबाट बिद्युतीकरण गरी मुहानबाटै शुद्धीकरण गर्न थालिएको हो ।

यस अघि दुवै स्रोतको पानीलाई सीधै ४५० घनमिटरको ट्याङ्कीमा मिसावट गरी क्लोरिनेसन गरिन्थ्यो । विद्युतीकरणका लागि पारिजात सामुदायिक बन, बर्दघाट नगरपालिका र नेपाल विद्युत प्राधिकरण बर्दघाट शाखाको सहयोगमा करिब ५ लाख ५० हजार रुपैयाँ लगानी भएको छ । यसबाट १८ वटा बिजुलीका पोल र २ फेज बिद्युत लाईन पुर्‍याएपछि अटोमेटिक क्लोरिन डोजिङ सिस्टम जडान गर्न सम्भव भएको हो ।

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ४ हजार १६० धारामा एउटै सिस्टमबाट ओभरहेड टंकीमा जम्मा गरी सुरक्षित खानेपानी वितरण गरिरहेको उपभोक्ता समितिका अध्यक्ष लम्सालले बताउनुभयो। खानेपानी आयोजनाको मुहान क्षेत्र बर्दघाट खानेपानी उपभोक्ता समितिको कार्यालयबाट करिब ३ किलोमिटर दुरीमा पर्दछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार